Monday, September 30, 2024

निजगढ विमानस्थलको मोडालिटी दुई हप्ताभित्र तयार : मन्त्री अधिकारी

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बारास्थित प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी (ढाँचा) दुई हप्ताभित्र तयार हुने बताएका छन्।

प्रतिनिधिसभाको आइबारको बैठकमा मन्त्री अधिकारीले निर्माणको मोडालिटी तयार पारेर चाँडै नै विमानस्थल निर्माणको प्रक्रिया थालनी गरिने बताएका हुन्।

मन्त्री अधिकारीले मुआब्जा लगायत पूर्व तयारीका काम एक महिनाभित्र सुरू हुने जानकारी दिए। त्यसका लागि स्थानीय टागिया बस्तीका एक हजार ४ सय घर तथा टहरा हटाउनुपर्नेछ। कुल १ सय १० बिघा जग्गामध्ये ५० बिघाको मुआब्जा वितरण बाँकी छ।

विमानस्थल निर्माणका लागि वातावरण प्रभाव मूल्यांकन (ईआईए) गत जेठमा स्वीकृत भएपछि विमानस्थलको प्रारम्भिक निर्माणको काम अघि बढ्ने बाटो खुला भएपनि निर्माण मोडालिटीको टुंगो लागेको छैन।

सरकारले निजगढ विमानस्थल सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरीद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) मध्ये एउटा मोडालिटीमा निर्माण गर्ने लक्ष्य राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ती दुबै प्रस्तावलाई अर्थ मन्त्रालयबाट राय प्राप्त भइसकेको छ। पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले अहिले सरोकारवाला मन्त्रालयसँग राय लिने काम भइरहेको र चाँडै टुंगिने हाकाहाकीलार्इ बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ भदौमा विमानस्थल निर्माणका निम्ति रुख कटान गर्ने तथा विमानस्थल निर्माण क्षेत्रमा चक्रपथ निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिइसकेको छ।

कोल्हवी नगरपालिका र जीतपुर उपहानगरपालिकामा पर्ने उक्त क्षेत्रमा रहेका ५ लाख ८५ हजार ४ सय ९९ रुख र १८ लाख ६४ हजार ८ सय २० रुखका पोल (खम्बा आकारका रुख) गरी २४ लाख ५० हजार ८ सय २१ रुख कटान गर्नुपर्ने ईआईए रिपोर्टमा उल्लेख छ।

पहिलो चरणमा साढे एक लाख ९५ हजार ठूला रुख र ५ लाख ७५ हजार पोल आकारका रुख कटान गर्नुपर्ने भएपनि कटानका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिन बाँकी छ। पर्यटन मन्त्रालयले रुख कटानको कार्ययोजना तयार गरेर वन तथा वातावरण मन्त्रालयसँग राय मागेको सहसचिव लामिछानेले बताए।

मन्त्री अधिकारीले भने, ‘वातावरणीय प्रभावलाई पनि ध्यान दिनुपर्ने छ, विमानस्थल पनि बनाउनुपर्ने छ। २५ लाख सबै रुख कटान गर्नु पर्दैन। पहिलो चरणमा पाँच लाख कटान हुनेछ।’

सो आयोजनाको कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइड (एलएमडब्लु) ले सन् २०११ मा विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो । कोरियन कम्पनीले विमानस्थल निर्माणका लागि पाँच खर्ब लाग्ने अनुमान गरेको थियो।

विमानस्थलको क्षेत्र ८ हजार ४५ दशमलव ७९ हेक्टर भएपनि १ हजार ९ सय हेक्टरमा विमानस्थलको संरचना निर्माण हुनेछ। विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान गरिएको इआइए प्रतिवेदनमा उल्लेख छ।

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलका रुपमा लिइएको विमानस्थल लम्बाई पूर्वपश्चिम राजमार्गतर्फ १० किलो मिटर र चौडाई ८ किलो मिटर गरी ८० स्क्वायर किलोमिटरमा बन्न लागेको हो। ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ।

उक्त धावनमार्गमा हाल विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाज उडान र अवतरण गर्न सक्छन। निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहने बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार