Monday, September 30, 2024

दलहन बालीको उत्पादन : कागजमा बढ्दो, खेतमा घट्दो

बाजुरा–बाजुराको दक्षिणी क्षेत्रमा पछिल्लो समय दलहन बालीको उत्पादनमा ह्रास आएको छ। यता जिल्ला कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखाहरूको कागजी तथ्यांकमा हरेक वर्ष उत्पादन बढिरहेको देखाइरहेको छ।

बुढीगंगा नगरपालिका–३ को देउवाबाडामा दलहन बाली भित्र्याने तयारीमा स्थानीय। तस्बिर : निमेन्द्र शाही

गहतको उत्पादन मात्र होइन, बीऊ नै हराउला कि भन्ने अवस्था आइलागेको छ। तर, जिल्ला कृषि विकास कार्यालयको चार वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष खेती बढ्नुको साथै उत्पादनमा दोब्बरले वृद्धि भइरहेको देखिन्छ।

तथ्यांक अनुसार आर्थिक वर्ष ०७०-०७१ मा ७७ दशमलव ५ हेक्टर जमिनमा गहत खेती भएको थियो। तीन वर्षसम्म सोही अनुपातमा गहतको खेती भएकोमा आर्थिक वर्ष ०७४-०७५ मोर १ सय ७७ हेक्टरमा खेती भएको उल्लेख छ। ०७०-०७१ मा ४२ दशमलव ६२५ मेट्रिकटन उत्पादन भएकोमा २०७४ बढेर ९७ दशमलव ३५ मेट्रिकटन उत्पादन भएको कृषिको तथ्यांक छ।

यसैगरी, अर्काे दलहन बाली भटमासको उत्पादन पनि वृद्धि भइरहेको कृषिको तथ्यांक छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-०७४ मा २ सय १९ हेक्टरमा खेती गरिएकोमा एक सय ५१ दशमलव ११ मेट्रिकटन उत्पादन भएको छ। त्यसको चार वर्षपछि २०७३-०७४ मा खेती विस्तार भइ ३ सय १० हेक्टरमा पुगेको र उत्पादन दुई सय ४८ मेट्रिकटन भएको कृषिको तथ्यांक छ। तर, यर्थाथमा भने त्यसो देखिदैन।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिक सहायक प्रेमबहादुर महत भन्छन्, ‘कृषकले लगाएको बालीको अध्ययन हुँदैन। बरू कृषि शाखाले वितरण गरेको बीऊको परीमाणका आधारमा खेतीको क्षेत्र विस्तार भएको देखाइन्छ । होइन भने यथास्थितिको तथ्यांक राख्ने गरिएको हो।’

वास्तविकता फरक
डिलभिटा तिनताउन हँुदोबीच धानबाली, म सम्झिदा फल्न्याँदाल अहिले भयो खाली।’ तोलीको पुर्वुता गाउँकी ७५ वर्षीया राजकला शाहीले देउडा गीतमार्फत् आफ्नो जवानी हुँदा खेतका आलीमा दलहन बाली भटमास, गहत र मास फल्ने गरेका थिए अहिले त्यो फल्न छोडेका कारण दाल देख्न समेत नपाइएको बताएकी छन्।

बाजुराको दक्षिणी बुढीगंगा र त्रिवेणी नगरपालिकामा दलहन बालीको उत्पादनमा ह्रास मात्र होइन खेती गर्ने क्रममा नै कमी आएको छ। साविकका ब्रह्मतोला, तोली, कुल्देवमाडौं, कैलाशमाडौं, बुढिगंगामा तीन वर्षदेखि दलहन बालीको उत्पादनमा कमी आउँदा आयातित दालमा परनिर्भरता बढेको छ।

खेतका आलिभरी भटमास, सिमी, मास, गहत फलाएको सम्झना बुढीगंगा नगरपालिका–३ की ५६ वर्षीया कलु देउवालाई अझै छ। ‘आलीमा दलहन बाली हुन्थ्यो, खेतमा धान फल्थ्यो,’ उनले भनिन्, ‘तर अहिले भटमास, गहत, फल्न छाड्े।’ दलहन बाली फल्न छाडेपछि विपन्न वर्गका परिवार पिठोको दालसँग भात खाने गरेको बताउँदै उनी भन्छिन्, ‘पैसा हुनेले बजारबाट चाउचाउ, स्वयबिन र देशीदाल किनेर खान्छन।’ उनका अनुसार रैथाने दलहन बाली फल्न छाडेपछि अहिले यहाँका बासिन्दा तराई क्षेत्रमा फल्ने विभिन्न प्रकारका दलहन बालीको बीऊ छर्ने गरेका छन्।

त्रिवेणी नगरपालिका–५ कैलाशमाडांैका दीपक पाध्याय पानीका मुहान सक्न थालेपछि दलहन बाली नै हुन छाडेको बताउँछन्। ‘पहिलो पानी पाउने ठाउँमा अचेल सुख्खा छ,’ उनले भने।

बडिमालिका नगरपालिका मेयर पदम बडुवाल दलहन बालीका जात नै हराउन थालेको बताउँछन्। ‘अचेल यहाँको तापक्रम पनि बढेको अनुभव हुन थालेको छ। यहाँ फल्ने भटमास पाइनै छाड्यो, तराईमा हुने दलन बाली पाइन थाले।’

स्वामीकार्तिक खापर गाउँपालिकाका–३ जुकोटका पदमबहादुर शाह भन्छन्, ‘पहिले स्याउ फल्ने ठाउँमा अहिले फल्न छाडे। अझ लेखतिर राम्रो हुन थालेको छ।’

रैथाने दलहन बाली गहत, मास र भटमास फल्न छोडेपछि बुढिगंगा नगरपालिकामा विकल्पको रुपमा लगाइएको आयातित रहर बोट।
तस्बिर : निमेन्द्र शाही।

किन घट्यो उत्पादन ?
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बाजुरामा रहेका जसिराम सहनी पनि पछिल्लो समय रैथाने दलहन बाली हराउन थालेको बताउँछन्। ‘बाजुरामा गहत नै लोपहुने क्रममा छ। हिमाली भागमा फल्ने अन्न पाइन छाडेको छ,’ उनले भने, ‘ यो सबै जलवायु परिवर्तनको असर हो ।’

बडिमालिका नगरपालिकाको कृषि विकास शाखाका प्रमुख मनबहादर रावल दलहनसँगै नगदेबालीको उत्पादनमा गिरावट आएको बताउँछन्। ‘पहिले बेसीतिर फल्ने बालीहरु अहिले लेखाली भेगमा फल्न थालेका छन्। खासमा गहत मास र भटमासमा यो समस्स्या देखिएको छ,’ उनले भने।

दलहन बालीको उत्पादनबारे कृषिको तथ्यांक र वास्तविक उत्पादनमा किन फरक भन्ने प्रश्नमा उनले भने, ‘कार्यक्रबाट बीऊ बाँडेको समयमा क्षेत्र विस्तार गरेको देखाउँछौ। कार्यक्रम नभएको वर्ष त्यो क्षेत्र ज्यूँकोत्यूँ रहन्छ।’ दक्षिणी क्षेत्रका किसानले रसायनिक मलको प्रयोग गर्न थालेपछि दलहन बालीको उत्पादन घटेको उनी बताउँछन्।

नार्कका तत्कालीन वरिष्ठ वैज्ञानिक डा. टंकप्रसाद वराकोटीले एक वर्ष अघि संवाददातासँग भनेका थिए ‘जमिनमा चिस्यान नरहनु, वनजंगल विनास र सिंचाइको कमीले उत्पादनमा ह्रास आउनुका साथै बालीको उब्जनी नै नहुने समस्या देखा पर्न थालेको हो।

ताजा समाचार

सम्बन्धित समाचार