किन लगातार पानी परिरहेको छ माथिल्लो मुस्ताङमा ?

काठमाडौँ– प्राय: हिमपात मात्र हुने माथिल्लो मुस्ताङमा तीन दिन यता वर्षा भइरहेको छ। वर्षाका कारण मुस्ताङको जनजीवन प्रभावित बनेको छ।

वर्षाले स्याउ बारीमा बढी क्षति पुर्याएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामसुन्दर शर्माले हाकाहाकीलाई जानकारी दिए। ‘तीन–चार दिनदेखि पानी परिरहेको छ । दिउँसो खासै पानी पर्दैन, रातिराति परिरहेको छ,’ उनले भने।

उनका अनुसार ढुम्मास्थित एक स्थानीयको घरमा पानी पसेको छ। उपल्लो भूभागमा बढी वर्षा भएकोले कालीगण्डकीको बहाव पनि बढेको उनले बताए। उनका अनुसार कालीगण्डकीमो बहाव बढेसँगै विपद् व्यवस्थापन समितिले पनि सतर्कता अपनाएको छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार माथिल्लो मुस्ताङमा खासै वर्षा हुँदैन, भएमा पनि सामान्य हुनुपर्ने हो। तर, वायुमण्डलको माथिल्लो भूभागमा पश्चिमी वायुको प्रभाव बढी रहेकाले लगातार वर्षा भइरहेको उनी बताउँछन् ।

‘साथै वायुमण्डलमा न्यूनचापीय क्षेत्र वायुमण्डलको माथिल्लो भूभागमा पुगेको छ,’ उनले भने, ‘यसले गर्दा पनि उक्त स्थानमा वर्षा भइरहेको छ । स–सानान्यूनचापीय क्षेत्रले गर्दा खण्डखण्ड गरेर पानी परिरहेको हो ।’

मुस्ताङमा अझै केही दिन पानी पर्ने उनको भनाइ छ। ‘मंगलबारसम्म अझै पनि वर्षा हुने सम्भावना छ । त्यसपछि पानी पर्न कम हुन्छ,’ उनले भने, ‘उक्त स्थानमा पश्चिमी वायुको निकै नै प्रभाव रहेको छ । त्यसले गर्दा माथिल्लो भेगमा वर्षा भइरहेको हो अबको केही दिनमा कम हुँदै जान्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार