Monday, September 30, 2024

हरित शहरका लागि रैथाने प्रजातिका रुखविरुवा संरक्षण गर्नुपर्ने

काठमाडौं–वनस्पतिविज्ञहरूले रैथाने र स्थानीय जातका रुखविरुवा प्राथमिकतामा राखेर संरक्षण गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्।

वनस्पतिविज्ञहरुको टोली काठमाडौं महानगरका मेयर र उपमेयरसँगको छलफलमा। तस्बिर सौजन्य : चन्द्रमणि भट्टराई।

वनस्पतिविज्ञहरू डा. निर्मला जोशी, सहप्राध्यापक प्रकाश खड्गी र सहप्राध्यापक डा. शितल वैद्य संलग्न टोलीले शहरी हरियाली बचाउन रैथाने र स्थानीय जातका रुखविरुवालाई संरक्षण गर्न महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई सुझाव दिएको हो ।

उनीहरूका अनुसार, काठमाडौ.उपत्यकामा मात्रै करीब १ सय ५८ स्थानीय प्रजातीका रुख र ७५ प्रजातिका बुट्यान पाइन्छन । त्यस्तै नेपालमा ३ सय १३ प्रजातीका रैथाने (इन्डेमिक) वनस्पतिहरु छन्, जुन विश्वका अन्त कतै पाइदैनन्।

वनस्पतिविज्ञ डा. जोशीले रैथाने वनस्पति रोपेर शहर हरित, स्वच्छ र सुन्दर पार्नुको साथै जैविक विविधता पनि जोगाउन सकिने बताइन्।

डा. जोशीका अनुसार बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँजस्ता वनस्पति स्थानीय हावापानीमा सजिलै हुर्कने गर्छन । ती बोटविरुवा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक विविधताको संरक्षणमा सघाउ हुन पुग्ने उनको भनाइ छ ।

‘फूल फुल्ने, बास्ना आउने, फल फल्ने, चराचुरुङ्गी तथा अन्य जीवन जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएको स्थानीय जातिका बोट विरुवा रोपेर महानगरले नयाँ कामको थालनी गर्नुपर्छ, वातावरणीय सन्तुलनका लागि यो उत्तम उपाय हो,’ पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक खड्गीले भने।

सहप्राध्यापक डा. बैद्यले महानगरले कामको थालनी गरेर अन्य स्थानीय तहलाई पनि स्थानीय स्रोत साधनको जगेर्ना गर्न सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे। खाद्य सुरक्षा, शहरी हरियाली र महानगरीय बन जोगाएर सहरबासीलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सकिने उनीहरुको भनाइ छ ।

महानगरका मेयर शाक्यले स्थानीय जातका विरुवा चिन्न, चिनिएका बिरुवा हुर्काउन लाग्ने समय र यसका लागि आवश्यक वातावरण सृजना गर्न महानगरलाई बनस्पतिविज्ञबाट प्राविधिक सहयोगको अपेक्षा रहेको बताए । ‘हामी चाहन्छौं, तर प्राविधिक कारणले सोचेको काम गर्न सकिएको छैन । तपाईँहरु प्राविधिक सहयोग गर्नोस्, काम गर्ने वातावरण हामी तयार पाछौं,’ मेयर शाक्यले भने।

उपमेयर खड्गीलेस्थानीय जातका विरुवाबाट काठमाडौंको छुट्टै पहिचान कायम गर्न सकिने बताइन्। ‘कतिपय विरुवाहरु स्थानीयको संस्कार र आस्थासँग जोडिएका छन् । यस्ता विरुवा बचाउन महानगरले नेतृत्व गर्नेछ,’ उनले भनिन्।

ताजा समाचार

सम्बन्धित समाचार