Monday, September 30, 2024

माछा संरक्षणका लागि राकममा सामुहिक प्रतिवद्धता

दैलेख (राकम)– दैलेखको राकम क्षेत्रका नदी तथा तालतलैयामा माछा संरक्षणका लागि सामुहिक प्रतिवद्धता जनाइएको छ।

दैलेखकाे राकममा भएकाे पानी छलफल।

माछामै निर्भर रहने राकम कर्णालीका माझी र वादी समुदायलाई जीविकोपार्जनमा समस्या भएपछि नेपाल वातावरण पत्रकार समूहले शनिबार दैलेखको आठविस नगरपालिका वडा नम्बर ४ राकममा गरेको पानी छलफलमा सहभागी स्थानीय र जनप्रतिनिधिले संरक्षणका लागि ६ बुँदे प्रतिवद्धता जनाएका हुन्।

प्रतिवद्धतामा माछा संरक्षणका लागि समुदायमै समूह गठन गरेर माछा तथा जलचर संरक्षण गर्ने, भुरा माछा बचाउन सानो प्वाल भएको जालको प्रयोग नगर्ने, माछा मार्न प्रयोग हुने करेन्ट र विषादीको प्रयोगलाई नियन्त्रण गर्ने, प्रजनन् अवधिमा माछा नमार्ने लगायतका विषय उल्लेख छन्।

कार्यक्रममा आठविस नगरपालिका ४ राकमकी अनि विकले भनिन्, ‘आज भन्दा ७–८ वर्ष अगाडी हामीले नै ७३ किलोको एउटै माछा मारेर बेचेका थियौं, अहिले माछा पाउन छाडे। गिट्टी कुटेर छाक टार्छौ ।’

माछा मारेरै जीविकोपार्जन गर्ने माझी समुदायको पीडा पनि अनिको जस्तै छ। राकमका हस्तबहादुर माझी पछिल्लो समय नदीमा माछा पाउनै छाडेको बताउँछन्। माछा पाइन छाडेपछि पेशा नै संकटमा परेको उनको गुनासो छ। मध्य कर्णालीको छेउ दैलेखको रामाघाटमा वादी समुदायका झण्डै १० परिवार छन्।

रामाघाटका धीरेन वादी भन्छन्, ‘नदीमा विष हाल्ने, करेन्ट लगाउने, पेट्रोलियम पर्दाथ पानीमा बगाउने, नदीमै गाडी धुने, करेन्टजाल हाल्नाले माछा घट्दै गएका छन्।’ पानी छलफलमा सहभागी अछाम पञ्चदेवल नगरपालिका– ९ कालेगाउँकी विष्णकला जैसीले माछा पाइन छाडेपछि मजदुरीका लागि भारत जाने क्रम बढेको बताउँछिन्।

आठविस नगरपालिकका प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले कालीकोट, अछाम र दैलेख जलचर संरक्षण सम्बन्धी ऐन पारित गरिसकेको र अब त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

आठविस नगरपालिकाका निमित्त प्रमुख प्रयाग शाहीले छलफल उठेका सवाललाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘यस्ता छलफलले स्थानीयलाई जागरुक र सरोकारवालालाई दबाब दिन्छ। बनेका नीतिको कार्यान्वयन गर्न सहज हुन्छ,’ उनले भने।

पानी छलफलमा दैलेखको आठविस नगरपालिका विभिन्न वडाका वडाध्यक्ष, युएसएआइडी पानी परियोजनाकी मध्यकर्णाली जलाधार क्षेत्र विशेषज्ञ रिऋा प्रधान, अछाम र दैलेखमा स्थानीय समुदाय, पत्रकार लगायत ४४ जनाको सहभागिता रहेको थियो।

पानी छलफलका प्रतिवद्धता यस्ता छन्।
१–माछा तथा जलचर संरक्षणका लागि समुदाय स्तरमै समूह गठन गर्ने।

२–माछा मार्नका लागि माछामैत्री जालहरु प्रयोग गर्ने, जस्तै : भुरा माछा बचाउनका लागि ठूलो प्वाल भएका जाल प्रयोग गर्ने ।

३–माछा मार्नका लागि करेन्ट, विषादी प्रयोग जस्ता कार्यहरुलाई नियन्त्रण गर्ने।

४–जलचर संरक्षणका लागि नगरपालिका तथा वडास्तरबाटै नीति तथा कार्यक्रमहरु बनाउने

५–माछा प्रजनन् समयावधी चैत्र देखि जेठ सम्म माछा मार्न रोक लगाउने,त्यसका लागि नगरपालिकाले जलचर संरक्षण नियम बनाउने ।

६– माछामै आश्रित समुदायका लागि वैकल्पिक पेशाको व्यवस्था गर्ने ।

ताजा समाचार

सम्बन्धित समाचार