Sunday, September 29, 2024

पर्यटन प्रवर्द्धनका लागि ‘राइड काष्ठमण्डप टू खोकना’ साइकल यात्रा

काठमाडौं– प्राचीन सम्पदाको पर्यटन प्रवर्द्धनका लागि राधजानीमा ‘राइड काष्ठमण्डप टू खोकना’ साइकल यात्रा आयोजना गरिएको छ।

‘राइड काष्ठमण्डप टु खोकना’ साइकल यात्राका सहभागीहरू। तस्वीर : साैरभ ढकालकाे ट्वीटरबाट

१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप, बुङमती र खोकनाको पुननिर्माण र ती क्षेत्रलाई साइक्लिङ पर्यटन गन्तव्यका रुपमा चिनाउन पर्यटनकर्मी युवाको संस्था ‘कन्सेप्ट नेपाल’ र खोकना पुनर्निर्माण तथा पुनस्र्थापना समितिले साइकल यात्राको आयोजना गरेको हो।

काष्ठमण्डपबाट शुरु भएको साइकल यात्रा कालीमाटी, बल्खु, चोभार, चाल्नाखेल, फर्पिङ पावर हाउस, फर्सिडोल, बुङ्मती हुँदै खोकनासम्मको २० किलोमिटर दूरीमा पुगेर समापन भएको थियो।

साइकल यात्राको शुभारम्भ नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल अपरेटर (नाटो) का महासचिव अमरबहादुर शाहीले गरेका थिए। ०७२ को गाइजात्रादेखि बर्सेनी साइक्लिङ गर्न थालिएको शनिबारको चौंथो संस्करण भएको थियो।

शनिबार दुई सय जना साइकले सहभागी भएका थिए। समितिका अध्यक्ष श्याम महर्जन साइक्लिङ अभियानले खोकना साइक्लिङ गन्तव्यका रुपमा परिचित भएको बताउँछन्।

सो अवसरमा साइक्लिङमार्फत नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएबापत सोनाम गुरुङ र विश्व साइकल यात्रा एवं सगरमाथा आरोहण गरेर नेपाली युवालाई साइक्लिङ पर्यटनमा प्रेरणादायक भूमिका निर्वाह गरेबापत पुष्कर शाहलाई सम्मान गरिएको थियो। उनीहरुलाई जनही ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र दिइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार