यसरी मनाइँदैछ सामुदायिक वन राष्ट्रिय दिवस

काठमाडाैं–‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ भन्ने नाराका साथ सामुदायिक वन राष्ट्रिय दिवस शुक्रबार मनाइँदै छ।  दिवसकाे  पूर्वसन्ध्यामा  बिहीबार वन तथा भू–संरक्षण विभागले वन प्राविधिक संघ, फरेष्ट एक्सन, कफ्सन, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका सरोकारवालाको सहकार्यमा अन्तक्र्रिया कार्यक्रम गरेको छ।

वन विभागले बिहीबार पत्रकारसँग अन्तर्क्रिया गरेर३ दिनसम्म दिवस मनाइने जनाएको छ। विभागका महानिर्देशक डा रामप्रसाद लम्सालका अनुसार  दिवसको अवसरमा शुक्रबार गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार, कवुलियती वन राष्ट्रिय पुरस्कार,निजी वन राष्ट्रिय पुरस्कार, साझेदारी वन सामुदायिक वन राष्ट्रिय पुरस्कार र सामुदायिक वन पत्रकारिता पुरस्कार प्रदान गरिँदैछ।

उनका अनुसार शनिबार चन्द्रागिरीमा रहेको लगलगे पाखा सामुदायिक वनको भ्रमण र विभिन्न निकायको सहभागितामा गैरीगाउँ बागमती किनारामा वृक्षरोपण गर्ने कार्यक्रम छ।

विभागका महानिर्देशक लम्सालले सामुदायिक वनलाई अब नयाँ ढंगबाट हेर्नुपर्नेमा जोड दिए। ‘४ दशक भैसक्यो सामुदायिक वनको सुरुवात भएको हामीकहाँ। हामीभन्दा पछि सुरु गरेका भियतनाम, लाओस्,चीन लगायतका देशको सामुदायिक वन अवस्था कहाँ छ,’ उनले भने, ‘हामी कहाँ छौँ ? वातावरणीय र सामाजिक योगदानका कुरा मात्र गर्ने होर खै त आर्थिक योगदानको चर्चा ?’ उनका अनुसार वार्षिक १० अर्ब रुपैयाँ सामुदायिक वनबाट आम्दानी भएपनि चुनौती धेरै छन् ।

विभागका उपमहानिर्देशक अनुजराज शर्माले सामाजिक पक्ष हामीले धेरै केलाएका छौँ , आर्थिक पक्षमा हामी भर्खरै सिक्दै रहेको बताए । अर्का उपमहानिर्देशक राजेन्द्र केसीले अर्को वर्षदेखि सामुदायिक वनको योगदानलाई आर्थिक रुपमा पनि गणना गरेर निकालिने बताए।

नेपालमा २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा २२ हजार २ सय ६६ सामुदायिक वन छन्। सामुदायिक वनबाट २९ लाख ७ हजार ८ सय ७१ मानिसहरू लाभान्वित भएको तथ्यांक विभागल जनाएको छ।

नेपालमा सामुदयिक वन सिन्धुपाल्चोक जिल्लाको तत्कालीन ठोकर्पा पञ्चायत (हाल सुनकोशी गाउँपालिका १, २ र ३) मा वन संरक्षण, सम्वद्र्धन र विकाससहित व्यवस्थापनका लागि २०३० मा स्थानीय पञ्चायतलाई २ वर्ष परीक्षणको रूपमा र त्यहीँबाट स्थानीय समुदायको सहभागितामा वन संरक्षण तथा व्यवस्थापन सुरु भएको इतिहास छ।

विस २०३३ मा राष्ट्रिय वन योजना लागू भएपछि २०३५ मा वन ऐन २०१८ मा संशोधन भई समुदायमा आधारित वन व्यवस्थापन नीतिगत तथा कानुनी रूपमा सुरु भएको र सामुदायिक वन स्थानीयको संरक्षणमा रहँदै आएको उल्लेख छ।
सन् २०४६ मा वन विकास गुरुयोजना , २०४९ मा वन ऐन र २०५१ के नियमावलीले सामुदायिक वनको अवधारणालाई कानुनी रुपमै स्थापीत गरी सामुदायिक वन उपभोक्ता समुहलाई अधिकार सम्पन्न गरेको थियो।

यस वर्षको गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट तानसेन नगरपालिका –९ पाल्पाको अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत हुने छ । सो समूहले प्रथम पुरस्कारसहित १ लाख नगद प्राप्त गर्नेछ।

कबुलियती वन राष्ट्रिय पुरस्कार पाँचथर को मिल्काजुङ गाउँपालिका १ को ठाडोनागी कबुलियती वन समूहले पाउँदैछ। ५६ वटा वनको समूह ठाडानागीले पनि १ लाख नै पाउने विभागका उपसचिव प्रकाश लम्सालले जानकारी दिए।

यी हुन् पुरस्कारहरू
निजी वन राष्ट्रिय पुरस्कारबाट गौरादह नगरपालिका ४ झापाका दुर्गाप्रसाद प्रसाईले तथा साझेदारी वन राष्ट्रिय पुरस्कारबाट कपिलबस्तु तिरौलाकोटको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले पुरस्कार पाउनेछन्।

दुवैै पुरस्कारको राशी ७५–७५ हजार छ। यसैगरी सामुदायिक वन पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका अब्दुल्लाह मियाँ र गोरखापत्र दैनिक धनकुटाकी कोकिला भण्डारीले प्राप्त गर्नेछन् । दुबैले २५–२५ हजार नगद पाउनेछन्। सबै पुरस्कारको वितरण शुक्रबार जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार