Sunday, September 29, 2024

वन मन्त्रालयका सहसचिवहरूको व्यापक सरुवा, को कहाँ पुगे?

काठमाडौं– वन तथा वातावरण मन्त्रालयका सहसचिवहरूकाे  व्यापक सरुवा भएकाे छ।

मन्त्रालयका विभिन्न महाशाखा, विभागमा कार्यरत सहसचिवसँगै जिल्ला वन अधिकृतहरूकाे सरुवा भएकाे हाे। सरुवा भएकामध्ये कतिपय सहसचिवहरूले आइतबार नै पत्र बझिसकेका छन्।

मन्त्रालयका प्रवक्ता एवं वैदेशिक समन्वय महाशाखा प्रमुख धनन्जय पौडेलको प्रदेश ५ को उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा भएको छ।

अबको एक महिनामा सेवा निवृत्त हुन लागेका सूर्यकान्त सिग्देल प्रदेश ५ बाट मन्त्रालयमा तानिएका छन्। बद्रीराज ढुंगानाले प्रदेश १ को उद्योग, वन, वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन्।

योजना महाशाखाका प्रमुख पेम कँडेलको राष्ट्रपति चुरे तराई मधेस विकास समितिको सदस्य सचिवमा सरुवा भएको छ। चुरेमा रहेका हेमलाल अर्याल वन मन्त्रालयमा तानिएका छन्। अर्याल अागामी एक महिनामा सेवा निवृत्त हुँदैछन्।

जलवायु परिवर्तन महाशाखाका प्रमुख डा.रामप्रसाद लम्साललाई वन विभागका महानिर्देशकको जिम्मेवारी दिइएको छ, भने त्यहाँका महानिर्देशक कृष्णप्रसाद आचार्यलाई वन तथा जलाधार व्यवस्थापन महाशाखामा पठाइएको छ।

यसैगरी, जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालको जलवायु परिवर्तन महाशाखामा सरुवा भएको छ, भने जैविकमा सहसचिव यज्ञ दाहाल आएका छन्। उनी यसअघि वन अनुसन्धान तथा सर्वेक्षण विभागको उपमहानिर्देशकमा थिए।

रेड कार्यान्वयन केन्द्रका प्रमुख डा .सिन्धु ढुंगानाको वन तथा वातावरण मन्त्रालयको योजना तथा अनुगमन महाशाखामा सरुवा भएको छ, भने रेडमा राधा वाग्ले पुगेकी छिन्। उनी यसअघि तालिम केन्द्र प्रमुख थिइन्।

यसैगरी, वन उद्यम तथा व्यवस्थापन महाशाखाका प्रमुख चन्द्रमान डंगोलको सहभागीतामूलक वन व्यवस्थापन महाशाखामा सरुवा भएको छ।

सहसचिव अखिलेश कर्ण वन तथा वातावरण मन्त्रालयमा पुगेका छन्। उनी पनि अबको एक महिनामा सेवा निवृत्त हुँदैछन्।
यसैगरी, कैलाली, दाङ र उदयपुरका जिल्ला वन अधिकृतको पनि सरुवा भएको छ।

कैलालीका डिएफओ नवराज काफ्ले, दाङका डिएफओ जगदीशप्रसाद गुप्ता र उदयपुरका डिएफओ विष्णु भण्डारीको क्रमशः प्रदेश ७, प्रदेश ५ र प्रदेश ३ वन निर्देशनालयमा सरुवा भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार