Sunday, September 29, 2024

‘सोल्टी’ र ‘मितिनी’ गैंडालार्इ साउन ३१ मा चीन पठाउने तयारी

चितवन–चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको जानकारी दिए। चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ।

यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो। दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम ‘सोल्टी’ र डेढदेखि दुई वर्षको पोथीको नाम ‘मितिनी’ राखिएको छ। बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ। पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो।

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ। निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन्।

यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ। पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन्। सहयोगी अझै फर्किएका छैनन्।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएका थिए। सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो। चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार