बनियानी – झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ।
गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए। गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताए।
“स्थानीयवासी स्वयंको सक्रियतामा बाँध निर्माण भएको छ,” अध्यक्ष अधिकारीले भने, “सरकारीस्तरबाट प्रभावकारी सहयोग भएको छैन। बाँध निर्माण भएसँगै २०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने करीब ५०० बिगाहा जमिनमा कटानको जोखिम कम भएको छ। ”
बाँध निर्माणका लागि ‘जनताको तटबन्धन कार्यक्रम’अन्तर्गत गत वर्ष ३० हजार र यस वर्ष १० हजार थान खाली बोरा उपलब्ध गराइएको थियोे भने छ मिटर पक्की बाँध निर्माण भएको थियोे । गत वर्ष बाँध निर्माणका लागि गौरादह नगरपालिकासमेत रू दुई लाख बजेट उपलब्ध गराएको नगरसदस्य गोमा चेम्जोङले जानकारी दिए।
त्यस्तै गौरादह–६ मा पनि रतुवा खोलाका कारण बाढी कटानको उच्च जोखिममा रहेको छ । बाढीका कारण बर्सेनि सयौँ परिवार घरवारविहीन हुनाका साथै कैयौँ बिघा जमिन कटान हुँदै आएको वडाध्यक्ष खड्ग पराजुलीले बताए। रासस