Sunday, September 29, 2024

सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

रत्ननगर– चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिए। चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा गरिएको अध्ययनमा सालकको उपस्थिति राम्रो पाइएको हो ।

हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा ती सामुदायिक वनमा गएको फागुन ९ देखि वैशाख २० गतेसम्म अध्ययन गरिएको थियो । अहिलेसम्म सालकको अध्ययन न्यून भइरहेकाले अवस्था के छ भनेर पत्ता लगाउन यसरी अध्ययन गरिएको भट्टराईले बताए ।

नेपालमा पाइने तामे र कालो सालकमध्ये क्यामेरामा भने कालो सालकमात्रै फेला परेको उनले बताए । पूर्वी नेपालमा कालो र पश्चिम नेपालमा तामे सालक पाइन्छ । चितवन मकवानपुर र गोरखा आसपासमा दुवै थरीका सालक पाइने भए पनि यसपटकको सर्वेक्षणमा कालो मात्रै फेला परेको जनाइएको छ ।

क्यामेरा ट्रयापिङ विधिअन्तर्गत गरिएको अध्ययनमा ६ सामुदायिक वनका सालक क्म्यामेरामा कैद भएको छ । अन्य क्षेत्रमा सालकको गतिविधि प्रशस्त पाइएको छ । कतिपय स्थानमा तस्करले सालक बस्ने दुलो खनेर निकाल्ने गरेको पाइएकाले संरक्षणमा चुनौती रहेको बताइएको छ । यसका लागि जनचेतना फैलाउनु जरुरी रहेको अध्ययनको निष्कर्ष छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल सालक बढी तस्करी हुने प्रजाति भएकाले संरक्षण, अध्ययन र सचेतनामूलक कार्यक्रम सँगसँगै अगाडि बढाउनुपर्ने बताए ।

कतिपय स्थानमा स्याल र वन बिरालोले समेत आक्रमण गर्ने गर्छ । कुनै बेला एउटै दुलोमा दुम्सी र कुनै बेला सालकसमेत बस्ने गरेको अध्ययनमा पाइएको छ ।

“हामीले मुख्यगरी संख्या कति छन्, भन्दा पनि अवस्था अध्ययन गर्न खोजेका हौँ, अब नियमित अध्ययन गर्ने र सचेतना फैलाउने काममा लाग्छौँ,” भट्टराईले भने,”संरक्षण अधिकृत भट्टराईले थपे ।

लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ र एसियामा चार प्रजातिका सालक पाइन्छ ।

एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न भूमिका खेल्छ । सालकको बासस्थान (दुलो) खनेरै तस्करी हुने गरेको पाइएपछि संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । मुख्यगरी सालकको खबटा गरगहना तथा सजावटका लागि तस्कर हुने गर्छ ।

केही समयअघि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले पाल्पाका प्रेमबहादुर थापा र गोरखा आरुघाटका टेकबहादुर गुरुङलाई जिउँसो सालकसहित पक्राउ गरेकाले पनि तस्करी पुष्टि भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकाल बताए ।रासस

ताजा समाचार

सम्बन्धित समाचार