Sunday, September 29, 2024

अझै सकिएन धान रोपाइँ, उत्पादनमा के फरक पर्छ ?

काठमाडौं–धान रोपाइँका लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्मलाई मानिन्छ। तर, साउन १५ लाग्दासम्म तराईका कतिपय जिल्लामा सन्तोषजनक धान रोपाइँ हुन सकेको छैन।

कृषि मन्त्रालयका अनुसार धानको बढी उत्पादन हुने तराईका २२ जिल्लामध्ये कतिपय क्षेत्रमा सन्तोषजनक रोपाइँ हुन सकेको छैन। मन्त्रालयका अनुसार देशभर ८६ प्रतिशत धान रोपाइँ सकिदा तराईका २२ जिल्लामा ६० प्रतिशत मात्र रोपाइँ सकिएको छ।

मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालका अनुसार गत वर्षको तुलनामा यो वर्षको रोपाइँ सन्तोषजनक मान्न सकिन्छ। तर,तराईका जिल्लाको हकमा भने त्यो लागु हुँदैन। समयमै पानी नपर्नु र न्यून मात्रामा पानी पर्दा कतिपय किसानले धान रोपाइँ हुने खेतमा समेत अन्य बाली लगाइसकेका छन्। ‘सिँचाई सुविधा नभएको ठाउँमा धान रोपाइँ हुन सकेको छैन,’ उनले भने।

अर्यालका अनुसार खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतमा मात्र सिँचाइको सुविधा छ। रोपाइँ ढिला भएमा धान उत्पादन र गहुँ बालीमा समेत असर गर्ने धानविज्ञ भोलमानसिहं बस्नेत बताउँछन्।

धान खाद्यन्नको प्रमुख बाली मानिन्छ। तराईका जिल्लामा ७० प्रतिशत धान उत्पादन हुने गरेको मन्त्रालयको तथ्यांक छ। बस्नेत भन्छन्, ‘रोपाइँ ढिला भएमा धानको बालामा दान नलाग्ने र गहुँ बालीमा समेत असर गर्छ।’

मसिंरको पहिलो हप्ता गहुँ छरिसक्नुपर्ने हुन्छ तर, रोपाइँ ढिला भएमा गहुँ उत्पादन घट्न सक्ने सम्भाना रहने उनी बताउँछन्। ‘मंसिरको पहिलो हप्ता गहुँ छरिसक्नु पर्ने हुन्छ। ढिलो भएमा ४० देखि ५० किलोग्राम प्रतिहेक्टर प्रतिदिन गहुँ उत्पादन घट्दै जान्छ,’ उनले भने।

सरकारले असार १५ गते ‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’ नारासहित देशभर १५ औं राष्ट्रिय धान दिवस मनाएको थियो। नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती हुँदै आएका बेला रोपाइँ प्रभावित भएपछि उत्पादन घट्ने चिन्ता बढेको छ।

नेपाललाई आगामी २ वर्षभित्र धानमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ। जसअनुसार सरकारले यो वर्ष ५५ देखि ५६ लाख र अर्को वर्ष ५८ लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार