काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाइएको छ ।
कान्तिपुर
– आजको कान्तिपुरमा सिद्धबाबामा सधैं त्रास शिर्षकमा माधव अर्यालको समाचार छापिएको छ । तानसेन–बुटवल सडकअन्तर्गत सिद्धबाबा खण्ड जम्माजम्मी चार किलोमिटर हो । यही छोटो दूरीमा दुर्घटनाको शृंखला भने निकै लामो छ । ११ वर्षमा ५१ दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये पनि बढी दुर्घटना दुई किमि क्षेत्रमा भएका छन् । पहाडबाट खस्ने ढुंगा, माटो र पहिरोले कतिखेर सवारीसाधन पुर्ने हो, पत्तो हुँदैन ।
‘घर जाँदा–आउँदा सिद्धबाबा पार नगर्दासम्म भगवान् पुकार्नुपर्छ,’ गुल्मीका विमल घिमिरेले भने, ‘वर्षा होस् कि हिउँद, सधैं त्रासमै हिँड्नुपर्छ ।’ यो सडकमा सवारी गुडेको ४७ वर्ष नाघिसकेको छ । तिनाउ ३ गड्डाका जंगबहादुर सुनारको अनुभवमा सिद्धबाबा क्षेत्रमा सुरुदेखि नै यस्तै जोखिम छ । ‘डरलाग्दो भीरमा बम हानेर खोलिएको सडक हो,’ उनले सम्झिए, ‘गाडी गुड्न थालेदेखि नै ढुंगा खस्ने र पहिरो जाने समस्या छ ।’ २०२२ सालमा निर्माण थालिएको सिद्धार्थ राजमार्ग २०३५ सालमा सरकारलाई बुझाइएको हो । ‘५१ वर्षदेखि यही सडक हेर्दै जीवन बित्यो,’ सुनारले भने, ‘सिद्धबाबा सडक सुधार्न कुनै सरकारले पहल गरेन ।’
यो सडकबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायत १२ जिल्लाका सवारीसाधन गुड्छन् । सिद्धबाबा क्षेत्रमा माथि पहाड छ । तल तिनाउ बग्छ । ‘डुम्रेबाट बुटवलसम्म निकै डर लाग्छ,’ बसचालक चन्द्रबहादुर थापाले भने, ‘दोभानबजार कटेपछि रामराम भन्दै चिडियाखोला पुगिन्छ ।’ बर्सेनि दुर्घटना हुँदा पनि सरकारले यात्रा सुरक्षित बनाउन नसकेको उनको गुनासो छ । कहिले रकनेट, रकसेडको चर्चा चल्छ । सुरुङमार्ग, मिनी टनेल निर्माण र पूरै पहाड काट्नेसम्मका विषयमा छलफल हुन्छ । तर कुनै काम अघि बढेका छैनन् । ‘दैनिक बुटवल आउने जाने गर्नुपर्छ, सधैं त्रासको यात्रा हुन्छ,’ तिनाउ ३ का विष्णु पाण्डेयले भने, ‘सबैभन्दा बढी डर लाग्ने चार किमि हो ।’ सिद्धबाबा मन्दिर आउने श्रद्धालुसमेत पहिरोमा परेका छन् । ढुंगाले लागेर ज्यान गुमाएका छन् ।
सडक डिभिजन कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यका अनुसार यस क्षेत्रमा जति राम्रो काम गर्दा पनि सडक टिकाउन सकिँदैन । ‘भौगोलिक संरचनाले नै समस्या ल्याएको छ,’ उनले भने, ‘माथिबाट ढुंगा खसेर सडक भत्केको हो ।’ सडक सुरक्षित बनाउन बुटवलदेखि दोभान, झुम्सासम्म सुरुङमार्ग, हाफ टनेल, बेन्चकट, रकनेटलगायत प्रविधि अपनाउन सकिने बहस चलेको छ । सडक डिभिजनले पनि वैकल्पिक योजना बनाएको छ तर कुनै पनि निष्कर्षमा नपुगेका समाचारमा उल्लेख छ।
नागरिक
–आजको नागरिकमा निर्माण सकिनेबित्तिकै पहिरोको जोखिममा शिर्षकमा मञ्जु उप्रेतीको समाचार छापिएको छ । लिखु तामाकोसी गाउँपालिका ६ खिम्तीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवन प्रयोगमा नआउँदै पहिरोको जोखिममा परेको छ। केही दिनदेखिको वर्षाका कारण आँगन पहिरोले भत्काएपछि भवन नै जोखिममा परेको हो। भवनआसपासको जमिन चर्किएको र वर्षाका कारण पहिरो बढ्दै गएका कारण भवन जोखिममा परेको प्रहरी चौकी खिम्तीले जानकारी दिएको छ। निर्माणको जिम्मा पाएको कम्पनीले सो भवनको निर्माण कार्य गत असारमा मात्र सम्पन्न गरेको थियो। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रामेछापमार्फत निर्माण भएको सो भवन जिल्लाकै सबैभन्दा ठूला भवन रहेको कार्यालयले जनाएको छ। भवन ३ करोड २९ लाख रुपैयाँ लागतमा बनेको हो।
भवन जोखिममा परेपछि थप क्षति नहोस् भनी माथिल्लो निकायमा विज्ञ माग गरी पत्र पठाइएको सहरी विकास तथा भवन निर्माण विभाग रामेछापले जनाएको छ। सो भवन बनाइएको ठाउँ र आसपासमा जमिन कमजोर छ। वर्षाको समयमा पानी रसाउँछ। स्थानीयले उक्त भवनमात्रै नभई आसपासको बस्ती नै जोखिममा रहेको बताएका छन्।
जिल्लाकै मुख्य केन्द्रको रुपमा रहेको खिम्तीमा स्वास्थ्य केन्द्रको उचित भवन नहुँदा स्वास्थ्य उपचारमा समस्या भएपछि सहरी विकास तथा भवन डिभिजन विभागले भवन बनाउन थालेको थियो।
खिम्ती स्वास्थ्य केन्द्रको दुईकोठे भवन भूकम्पले भत्काएपछि केन्द्रले अस्थायी संरचना बनाएर स्वास्थ्यसेवा प्रवाह गर्दै आएको थियो। नयाँ भवन बनेपछि स्वास्थ्य उपचार सेवा सहज होला भनी ठानेकोमा अहिले भवन नै जोखिममा परेपछि स्थानीय निराश भएको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशीखा दाहालले बताइन्। केन्द्रले यही महिनाबाट नयाँ भवनबाट सेवा दिने योजना बनाएको थियो। तर पहिरोेले जोखिम बढाएपछि अब के गर्ने भन्ने अन्योल भएको समाचारमा उल्लेख छ।
नयाँ पत्रिका
आजको नयाँ पत्रिकामा पाँच महिना नपुग्दै भत्कियो कालोपत्रे सडक शिर्षकमा दीपक भट्टको समाचार छापिएको छ ।
सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार जोड्ने १४ किलोमिटर सडक कालोपत्रे गरेको पाँच महिना नपुग्दै भत्किएको छ । सडक ठाउँ–ठाउँमा भत्किएको छ । कतिपय ठाउँमा सडक भासिएर ठूला–ठूला खाडल र चिरा परेका छ । सडक भासिँदा ठूला मालवाहक यातायात सञ्चालनमा समस्या भएको छ ।
एसियाली विकास बैंकको १४ करोड ६५ लाख रुपैयाँ आर्थिक सहयोगमा पाँच महिनाअघि मात्र सो सडकको निर्माण सकिएको थियो । सडकको कालोपत्रे बज्रगुरु कन्स्ट्रक्सन प्रालिले गरेको हो । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सडक गुणस्तरहीन भएको स्थानीयले बताएका छन् । सडक फुटेर चिराचिरा भएपछि ठूला मालवाहक गाडी सञ्चालनमा समस्या भएको छ । अहिले यो सडकमा साना सवारीसाधन मात्र सञ्चालन हुन थालेका समाचारमा उल्लेख छ ।
त्यस्तै ५ वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाइ शिर्षकमा जीवन बस्नेतको समाचार छापिएको छ । सरकारले ५ वर्षभित्र देशभरका सबै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७५/७६ देखि कार्यान्वयन हुने योजनाअनुसार आर्थिक वर्ष ०७९/८० सम्म सबै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त अवधिमा निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र नयाँ आयोजनाहरू सुरु गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
१५ जेठमा सार्वजनिक चालू आवको बजेटमा ५ वर्षभित्र सबै सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उल्लेख छ । यसलाई मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनाले पनि निरन्तरता दिएको छ । यसअघि मन्त्रालयले २५ वैशाखमा सार्वजनिक गरेको स्वेतपत्रमा भने यो विषय परेको थिएन । बरु, सिँचाइ क्षेत्रको विकास गरिने र कृषिका लागि सिञ्चित क्षेत्र विस्तार गरी वर्षैभरि भरपर्दो सिँचाइ सुविधा पुर्याउने उल्लेख छ ।
देशको कुल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टर जमिनमध्ये कृषियोग्य क्षेत्रफल २६ लाख ४१ हजार हेक्टर छ । त्यसमा कुल सिँचाइयोग्य जमिन करिब १७ लाख ६६ हजार हेक्टर मात्र छ । हालसम्म कुल १४ लाख ३३ हजार २८७ हेक्टर जमिनमा सिँचाइ संरचनाहरू निर्माण भई सिँचाइ सुविधा पुगेको छ । यसअनुसार सरकारले लक्ष्य पूरा गर्न ५ वर्षभित्र ३ लाख ३२ हजार ७१३ हेक्टर जमिन सिँचाइ सुविधा पुर्याउनुपर्नेछ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा बाघ संरक्षणमा समुदाय शिर्षकमा अनिल ढकालको समाचार छापिएको छ । केही वर्ष अघिसम्म मानव वन्यजन्तुको द्वन्द्व बढेपनि पछिल्लो समय बाघ संरक्षणमा समुदायको अग्रसरता बढेको छ। बाघ संरक्षणका लागि समुदाय स्तरबाटै जागरुक भएका छन्। दुर्लभ पाटेबाघको संरक्षणमा विश्वको चासो बढेको बेला समुदायमा संरक्षणका लागि अभियान नै सञ्चालन हुँदै आएका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रमा संरक्षणको गतिविधि हुँदै आएको छ।
मानिस र वन्यजन्तुको द्वन्द्व घटाउँदै समुदायलाई संरक्षणमा अग्रसर गराउन सचेतनाको कार्यक्रम सञ्चालन गरिँदै आएको छ। नेचर गाईड, मध्यवर्ती क्षेत्रका उपभोक्ता, पर्यटन ब्यवसायी आफैं अग्रसर भएका छन्। समुदायस्तरमा सडक नाटक, सचेतना र्यालीलगायतका कार्यक्रम गरिँदै आएको छ। सौराहामा बाघ संरक्षण उपसमिति नै गठन गरेर अभियान गरिँदै आएको छ। ‘बाघ र बन्यजन्तुबीचको द्वन्द्व घटाएर संरक्षणमा हाम्रो पहल हो’ बाघ संरक्षण उपसमितिका अध्यक्ष जितु तामाङले भने, ‘हामीले विद्यालय, समुदायबाटै जागरण ल्याएर बाघ जोगाउन हातेमालो बढाउन लागेका हौं।’
विश्व बाघ दिवसको अवसर पारेर आइतबार रत्ननगरको टिकौलीमा सचेतना कार्यक्रम गरियो। चितवन राष्ट्रिय निकुञ्जको वरण्डाभार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा चलेका सवारी चालकलाई सचेत गरिएको थियो। कार्यक्रममा सवारी साधन चलाउँदा बन्यजन्तुको ख्याल गर्न आग्रह गरिएको थियो। जैविक मार्गमा चल्ने सवारीका चालकलाई वन्यजन्तु जोगाउने गरी सवारी हाँक्न आग्रह गरिएको समाचारमा उल्लेख छ।





