Saturday, September 28, 2024

एक बिरामीबाट तीन केजी फोहाेर, वातावरणमा दुष्प्रभाव

काठमाडौं–अस्पताल र स्वास्थ्य संस्था सञ्चालन गर्दा औषधिजन्य फोहाेर व्यवस्थापनका लागि विसर्जन केन्द्र बनाउनुपर्ने कानूनी प्रावधान रहेको भएपनि त्यसलाई कडाइका साथ अपनाएको पाइँदैन।

काठमाडौँ उपत्यकाका अधिकांश स्वास्थ्य क्लिनिकले त्यस्ता फोहाेरलाई सामान्य फोहर सरह मिल्काउने गर्दा वातावरणीय प्रदूषण भयावह बनेको मात्रै हैन विभिन्न रोगको संक्रमण फैलने जोखिम पनि बढाएको छ।

यस्ता संस्थाबाट निस्कने फोहाेरमध्ये काँच, धारिला पदार्थ र सुईजन्य फोहाेरबाट गम्भीर चोटपटक लाग्ने खतरा रहन्छ। रगतजन्य फोहाेरको सफाइमा संलग्न कर्मचारीले पर्याप्त सुरक्षा उपाय अपनाएनन् भने उनीहरू एचआइभी, हेपाटाइटिस बी र सी तथा अन्य सरुवा रोगका कीटाणुको शिकार बन्नसक्ने स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

डा मरासिनी भन्छन्, ‘दुव्र्यसनीमा लागेका व्यक्तिले पैसा नभएर जथाभावी फालिएका सुईको पुनः प्रयोग गर्दा एचआइभी, हेपाटाइटिस बी र सी सर्ने प्रबल सम्भावना रहन्छ। त्यस्ता रगतजन्य फोहाेर सुकेपछि धुलो बनेर वातावरणमा मिसिन्छ र त्यसले मानिसको श्वासप्रश्वासमा समस्या निम्याउँछ।’

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले अस्पतालजन्य फोहाेर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार त्यस्ता फोहर व्यवस्थापनको निमयन र अनुगमन गर्दै आएको छ। उपत्यकाका ठूला र चलनचल्तीका अस्पतालले छुट्टै स्थानमा आवश्यक उपकरणमार्फत फोहाेर छुट्याएर विसर्जन गर्न शुरु गरेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सृजना श्रेष्ठ बताउँछन्।

साना लगानीका निजी अस्पताल, क्लिनिक र औषधि पसलले भने फोहाेरको प्रकृतिअनुसार छुट्टाछुट्टै स्थानमा राख्ने गर्दैआएको भएपनि स्थान र जनशक्तिको अभावमा यथोचित विसर्जन गरेको देखिँदैन। ‘त्यस्ता क्लिनिकका लागि सम्बन्धित निकायले छुट्टै स्थानमा ‘केन्द्रीय प्रशोधन संरचना’ (सिटिएफ) को व्यवस्था गर्नुपर्ने आवश्यकता छ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठ बताउँछन्।

अस्पतालजन्य फोहर मात्र होइन म्याद गुज्रेका र बिग्रेका रसायनयुक्त औषधि पनि सामान्य फोहाेरमै मिसाउने गरेको स्वयं औषधि व्यवसायीहरु स्वीकार्छन् । स्थानको अभावमा जोखिमपूर्ण तरिकाले औषधि विसर्जन गर्नुपर्ने बाध्यता रहेको नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारी बताउँछन्।

एक बिरामीबाट तीन केजी फोहाेर
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका क्रममा एक बिरामीबाट औसत दैनिक तीन किलोग्राम विभिन्न किसिमका अस्पतालजन्य फोहाेर निस्कन्छ। त्यसमा सामान्यतः दुई किलोग्राम खतरारहित र एक किलोग्राम खतरापूर्ण फोहाेर हुने परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल बताउँछन्।

खतरामुक्त अस्पतालजन्य फोहाेरमध्ये १.६ किलोग्राम नष्ट हुन्छ भने ०.४१ किलोग्राम पुनःप्रयोगमा ल्याउन सकिने खालको हुन्छ। परिषद्का अनुसार खतरापूर्ण फोहाेरमध्ये ०.४७ किलोग्राम संक्रमणजन्य फोहाेर, ०.२० किलोग्राम औषधिजन्य, ०.१८ किलोग्राम सुई, ०.१० किलोग्राम रसायन र ०.०२ किलोग्राम रेडियोधर्मी हुन्छ। तर, व्यवस्थापन महाशाखाले सन् २०१५ मा गरेको अध्ययनअनुसार भने एकजना बिरामीबाट औसतमा दैनिक १.३५ किलोग्राम अस्पतालजन्य फोहाेर निस्कन्छ।

ललितपुरस्थित पाटन अस्पतालका प्रशासकीय अधिकृत लीला आचार्यका अनुसार यस अस्पतालमा वार्षिक झण्डै तीन लाख बिरामीले बहिरंग सेवा लिन्छन् र दैनिक ५ सय किलोग्राम भन्दा बढी अस्पतालजन्य फोहाेर उत्पादन हुन्छन्।

पाटन अस्पतालले सबै फोहाेर अलगअलग छुट्टयाई विसर्जन गर्ने गरेको उनले बताए। त्रिवि शिक्षण अस्पतालले भने अस्पतालबाट निस्कने जैविक फोहाेर र सालनालबाट वायोग्यास उत्पादन गर्न समेत शुरु गरेको छ।

अस्पताल, क्लिनिक, फार्मेसी, डेन्टल क्लिनिक, औषधि पसल, स्वास्थ्य प्रयोगशालाहरुबाट दैनिक ठूलो मात्रामा फोहाेर निस्कन्छ। त्यसमा त्यतिकै गलेर जानेदेखि रोग सार्न सक्ने खतरानाक फोहाेर पनि हुन्छ। जलाउन मिल्ने फोहाेरलाई आवश्यक तापक्रममा उचित प्रविधिमार्फत जलाउने, संक्रमण फैलन सक्ने फोहाेरलाई निर्मलीकरण गरी विसर्जन गर्ने र गल्न सक्ने फोहाेरलाई एकत्रित गरी गाड्नुपर्ने कानूनी प्रावधान छ।

काठमाडौँ उपत्यकामा रहेका १३ सरकारी अस्पताल र ६० भन्दा बढी निजीस्तरमा सञ्चालित अस्पताल एवं रिसर्च सेन्टर छन्। त्यसबाहेक निजी क्लिनिक, प्रयोगशाला, पोलिक्लिनिकलगायतका सयौं स्वास्थ्य संस्था सञ्चालित छन्। उपत्यकामा दर्ता भएका र नभएका गरी झण्डै पाँच हजार औषधि पसल रहेको अनुमान छ।  तर, यी संस्थामा दैनिक कति व्यक्तिले सेवा लिन्छन् र यहाँबाट दैनिक कति परिमाणमा अस्पतालजन्य फोहाेर निस्कन्छ भन्ने तथ्याँक कसैसँग छैन।

नेपालमा अहिलेसम्म पनि अस्पतालजन्य फोहाेरको व्यवस्थापनमा सरोकारवाला निकायको खासै ध्यान पुगेको छैन। अस्पतालबाट निस्कने संक्रमणयुक्त फोहाेरलाई निर्मलीकरण गरेर मात्र व्यवस्थापन गर्नुपर्ने भएपनि राजधानीकै धेरै अस्पतालले त्यस्ता फोहाेरलाई महानगरपालिकाले उठाउने फोहाेरमै मिसाएर पठाइदिने गरेका छन्।

यसमा मन्त्रालयको अनुगमन पनि निकै कमजोर देखिन्छ। औषधि विसर्जनसम्बन्धी कानूनको आवश्यकता टड्कारो भएको लामो समय मन्त्रालयमा काम गरेका हाल प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमा कार्यरत सहसचिव महेन्द्र श्रेष्ठ बताउँछन्।

काठमाडौँ उपत्यकामा दैनिक झण्डै एक हजार मेट्रिक टन फोहर निस्कन्छ। त्यसमध्ये काठमाडौँ महानगरपालिकाले मात्र दैनिक ५ सय  मेट्रिक टन फोहाेर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको छ। थुपार्नुअघि महानगरपालिकाले पनि फोहर छुट्याउने गर्दैन।

तीन प्रतिशत औषधि खेर जान्छ
औषधिजन्य फोहाेर व्यवस्थापन निश्चित प्रविधिमार्फत गर्नुपर्ने हुन्छ। त्यसका लागि आवश्यक नयाँ निर्देशिका तयार गरिएको छ। अहिले त्यो स्वीकृति लिने चरणमा रहेको औषधि व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायण ढकाल त्यस्ता फोहाेर उत्पादक कम्पनी आफैंले नष्ट गर्ने दायित्व लिनुपर्ने बताउँछन्। हाल विभागको कानूनी प्रावधानअनुसार औषधि निर्माण कम्पनीले वातावरणमा प्रभाव नपर्ने गरी ‘गुड मेनुफ्याक्चरिङ प्राक्टिस’ मार्फत औषधिजन्य फोहाेर विस्थापन गर्ने गरेका छन्।

विभागले औषधिजन्य फोहाेर व्यवस्थापनको नियमित अनुगमन र निरीक्षण गरिरहेको उनी बताउँछन्। उनका अनुसार हाल उपत्यकामा एलोपेथी औषधि उत्पादन गर्ने १३ र आयुर्वेद औषधि उत्पादन गर्ने १० कम्पनी छन्।

मुलुकभर उत्पादन हुने औषधिमध्ये उपत्यकामा मात्र ४० प्रतिशत खपत हुन्छ। मुलुकभर वार्षिक ३६ देखि ४० अर्ब रुपैयाँको औषधि खपत हुन्छ। कुल औषधिमध्ये २ देखि ३ प्रतिशत औषधि विभिन्न कारण खेर जाने महानिर्देशक ढकाल बताउँछन्। औषधि र औषधिजन्य सामग्रीको नेपालभर वार्षिक झण्डै ७० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गर्छ ।

अस्पतालहरुले अस्पतालजन्य फोहाेर व्यवस्थापन निर्देशिका, २०७१ अनुसार अस्पतालबाट निस्कने फोहाेरलाई हरियो (कुहिने), नीलो (नकुहिने) र रातो (जोखिमयुक्त रगत लागेका) भाँडामा अनिवार्य छुट्टाएर राखी सोही अनुसार मात्र विसर्जन गर्नुपर्छ। अस्पतालबाट निस्कने फोहाेरमा कुहिने र नकुहिने ७५ प्रतिशत हुन्छ भने बाँकी फोहर जोखिमयुक्त हुन्छ ।

फोहाेर व्यवस्थापनमा न्यून बजेट
अस्पताल तथा उपचार गर्ने स्वास्थ्य संस्थाहरुले अस्पतालजन्य फोहाेर व्यवस्थापनमा आफ्नो कुल बजेटको पाँच प्रतिशतभन्दा कम बजेट छुट्याउने गरेका छन्। परिषद्ले गरेको पछिल्लो अध्ययनअनुसार ४० प्रतिशत स्वास्थ्य संस्थाले कुल बजेटको एकदेखि पाँच प्रतिशत र १८ प्रतिशतले कुल बजेटको एक प्रतिशतभन्दा कम बजेट फोहाेर व्यवस्थापनमा खर्च गर्ने गरेको पाइएको छ। दुई प्रतिशत स्वास्थ्य संस्थाहरुले भने कुल बजेटको २० प्रतिशतसम्म खर्च गर्ने गरेको दाबी गरेका छन्।

करीब ५९ प्रतिशत अस्पताल र स्वास्थ्य संस्थाले मात्र अस्पतालजन्य फोहाेर व्यवस्थापन निर्देशिका अनुसार छुट्टै केन्द्रमा फोहाेर व्यवस्थापन गर्ने गरेको उक्त अध्ययनले देखाएको छ।

उपत्यकाका सीमित अस्पतालले मात्र कानूनी प्रावधानअनुसार फोहाेर विसर्जन गर्दै आएको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी बताउँछन्। अस्पतालजन्य फोहाेरले वातावरणमा पारेको दुष्प्रभावबारे विभागले पनि आफ्नै संयन्त्रमार्फत अनुगमन गरिरहेको उनको भनाइ छ। अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य संस्था उपचार गर्ने भन्दा रोग सार्ने थलो बन्नसक्ने विज्ञहरु औँल्याउँछन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार