काठमाडौं–जुलाई २९, अर्थात् बाघ दिवसको अवसरमा बाघको संख्या सार्वजनिक गर्ने लक्ष्य टरेको छ।
चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपाससहित २२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको वनजंगलमा बाघको गणना गरिए पनि आइतबार संख्या सार्वजनिक गरिएन।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको गणनाका लागि गठन गरेको विज्ञ सम्मिलित समूहले प्रतिवेदन वन तथा वातावरण मन्त्रालयलाई बुझाइसकेको छ । विभागका महानिर्देशक मनबहादुर खड्का बाघको ‘डाइग्राम’ सँगै आहाराको अवस्थाका बारेमा पनि अध्ययन भइरहेकाले ढिलाइ भएको तर्क गर्छन।
नेपालले सन् २०२२ सम्ममा पाटे बाघको संख्या दोब्बर पारेर २ सय ५० पुर्याउने लक्ष्य लिएका बेला सरकारले दिवसको दिन संख्या नै सार्वजनिक गरेन।
स्रोतका अनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको संख्या घटेको विषयले नकारात्मक सन्देश जाने भन्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नै संख्या सार्वजनिक गर्न नचाहेका हुन्। तर, डा. ओली प्रतिवेदन आफूकहाँ आइनसकेको दाबी गर्छन ।
सन् २०१३ मा नेपालमा बाघको संख्या १ सय ९८ पुग्दा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० थिए। यसैगरी, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ बाघ थिए।
तर, चितवन निकुञ्जमा गत आर्थिक वर्षमा मात्रै ६ वटा बाघ मरेका थिए। जसमध्ये एउटा बाघ प्रतिशोधका कारण मानिसले विष हालेर मारेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सदरचिडिया खानामा कार्यरत बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल बासस्थान घट्दै जानु, चोरी शिकारी एवं अवैध व्यापार बढ्नु, आहारा घट्दै जानुजस्ता कारण बाघ संरक्षण चुनौतिपूर्ण रहेको बताउँछन्। उनी बाघले आहाराका रुपमा लिने अन्य जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा लाग्न जरूरी ठान्छन्।