Saturday, September 28, 2024

छापाको सम्पादकीयमा वन, वातावरणः यमानको हात्ती कि विमान, बागमती बन्यो ढल मिसाउने ठाउँ

काठमाडौं–मुलुकको संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकामध्ये कान्तिपुर, नयाँ पत्रिका र गोरखापत्रको शुक्रबारको अंकमा वन, वातावरण तथा कृषिसँग सम्बन्धित सम्पादकीय प्रकाशित छ।

कान्तिपुर दैनिकले बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमाथि सम्पादकीय लेख्दै ‘प्रकृति र विकास सहोदर दिदी र भाइ हुन सक्छन् कि सक्दैनन् भनेर सोच्नुपर्ने बेला आएको भन्दै टिप्पणी गरेको छ।

‘यमानको हात्ती कि विमान’ शीर्षकमा छापिएको सम्पादकीय यसरी शुरु हुन्छ, ‘हामीलाई विकास चाहिएको छ । तर, केको विकास र कस्तो विकास ? बहसले निकास पाउनु पहिल्यै विकास खोज्दा विनाश गरिसकेका हुन्छौं । जस्तो प्रकृतिका लागि हात्ती ठूलो हो भने विकासका लागि विमान ।’

निजगढ विमानस्थल निर्माणका नाममा ८ हजार हेक्टर जंगल विनाश हुनुका साथै झण्डै २४ लाख रूख सखाप हुने तथ्यांक प्रस्तुत गरिएको सम्पादकीयमा विशेषगरी हात्ती लगायतका वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगलका बारेमा प्रकाश पारिएको छ।

सम्पादकीयमा अगाडि भनिएको छ, ‘हात्तीहरू बागमतीबाट सप्तरी हुँदै कोसीटप्पु वन्यजन्तु आरक्ष छिचोलेर पूर्वमा झापासम्म ओहोरदोहोर गर्छन। पर्सा–चितवन क्षेत्रमा रहेका करिब ६५ जंगली हात्तीको समूह बर्सेनिजस्तो चहार्छन। वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायत ठूला वन्यजन्तुले करिडोरका रूपमा प्रयोग गरेको जंगल मास्नु हुँदैन भन्ने निकुञ्जको दलिल छ । करिडोर मासेर ठूला संरचना खडा गर्दा मानव–वन्यजन्तु द्वन्द्व निम्तिन सक्छ । जंगल मास्नु भनेको जनावर नास्नु, प्रकृतिको सन्तुलन खलबल्याउनु हो ।’

विमानस्थल क्षेत्रमा अहिल्य नै हात्तीले उधुम मच्चाउने गरेको र उसमाथि कोसीटप्पु वन्यजन्तु आरक्ष, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट र बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि मत्ता हात्तीले अझै वितण्डा गर्न सक्नेतर्फ कान्तिपुरले सम्पादकीयमार्फत् सजग गराएको छ।

उसले अगाडि भनेको छ, ‘राजमार्गको दक्षिणतर्फ भएका रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा निकुञ्ज र चितवन निकुञ्जसम्मको वन्यजन्तुको ओहोरदोहोर तोडिनेछ । देशको एउटा मुख्य जनावर आधार क्षेत्र गुम्नेछ ।’

यसैगरी, गोरखापत्र दैनिकको शुक्रबारको अंकमा काठमाडौं उपत्यकाको प्रमुख नदी बागमती लगायत सहायक नदी अतिक्रमण, फोहोर, प्रदूषित हुँदै गएको विषयमा केन्द्रित रही २०७० जेठ ५ गतेदेखि सञ्चालित ‘बागमती सफाइ महाभियान’ बारेको जानकारी समेटेर सम्पादकीय प्रकाशित छ।

‘बागमती सुधारको अभियान’ शीर्षकको सम्पादकीयमा भनिएको छ, ‘विस २०४६ सालदेखि तीव्र गतिमा बढेको उपत्यकाको जनसंख्या नै यहाँका नदी, अतिक्रमण, फोहोर र प्रदूषित बनाउन जिम्मेवार छ। जनसंख्या बढेअनुसार सहरको भौतिक पूर्वाधार विकास हुन सकेन, फोहोरमैला व्यवस्थापन भएन। यही कारणले बागमती लगायतका नदी अतिक्रमणमा परे, नदी फोहोर र ढल मिसाउने ठाउँ बन्यो।’

गोरखापत्रको सम्पादकीय अनुसार यी नदीहरु जोखिममा परेपछि २०५१ सालदेखि नै विभिन्न प्रयास भए। त्यसैबेलादेखि सुरु भएर हालसम्म आइपुग्दा बनेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकत विकास समिति सफाइ महाभियानमा निरन्तर लागिरहेको गोरखापत्रले लेखेको छ।

नयाँ पत्रिकाले वैदेशिक रोजगारीसँग कृषि क्षेत्रलाई जोडेर सम्पादकीय लेखेको छ। ‘खाडीमा होइन, बारीमा’ शीर्षकमा सम्प्रेषण भएको सम्पादकीयमा नयाँ पत्रिका भन्छ, ‘हो त, समस्या व्यहोरिरहेका किसानलाई भेट्यो भने राज्यबाट यो देशमा सबैभन्दा हेपिएको पेसामा कोही छ भने त्यो किसान नै हो कि झैँ लाग्छ। नपत्याए बुधबार कालिमाटी तरकारी बजारमा आएका किसानले लगाएको यो नारा हेर्नुस् ः बारीमा जाऊँ कि खाडीमा ? सन्देश प्रस्ट छ– खेती गरेर जीविका गर्न असाध्य कठिन हुन थाल्यो ।’

नेपालमा उत्पादित फसलले बजारमा उचित मूल्य नपाउने गरेकाले बारीमा जानुभन्दा खाडीमा गए कमाइ हुने कथा र व्यथा आमनागरिकको रहेको आशयको अनुच्छेद लखेको नयाँपत्रिका हाइलाइट दिँदै भन्छ, ‘सरकार, बारीमा जाऊँ कि खाडीमा भनेर प्रश्न गर्ने किसानलाई खाडी होइन, बारीमै अड्याउन आवश्यक नीति बनाऊ।’

नयाँ पत्रिकाको सम्पादकीय बुधबार कालीमाटीमा किसानले ‘बारीमा जाऊँ कि खाडीमा’ भनेर लगाएको नारा, केही दिनअघि मात्र राजमार्गमा यात्रु या बटुवालाई दूध पिउन दिएर किसानले विरोध प्रदर्शन गरेको र पूर्वी नाकाबाट गोलभेंडाको निकासी ठप्प भएका समाचारको विषयवस्तुमा केन्द्रित छ।

निजगढ विमानस्थलसँग सम्बन्धित समाचार
यस्तो छ निजगढ विमानस्थल निर्माण क्षेत्रको वातावरणीय तथा जैविक महत्व
निजगढ विमानस्थल : यी हुन् वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव
निजगढ विमानस्थल : रुख काट्ने निश्चित, विरुवा रोप्ने जमिनको अत्तोपत्तो छैन
निजगढ विमानस्थल : २४ लाख रुख काटे बापत ६ करोड विरुवा रोप्नुपर्ने, १३ अर्ब ९७ करोड रुपैयाँ लाग्ने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः साना–ठूला २४ लाख रुख काटिने, रोप्ने ठेगान छैन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत

ताजा समाचार

सम्बन्धित समाचार