Saturday, September 28, 2024

दिवसमा बाघको संख्या सार्वजनिक गर्न कठिन

काठमाडौं– जुलाई २९ (१३ साउन) अर्थात् बाघ दिवसको अवसरमा बाघको संख्या सार्वजनिक गर्न कठिन हुने भएको छ।

चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका जंगल गरी २२ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको वनजंगलमा बाघको गणना गरिएकोमा संख्या सार्वजनिक हुन ढिलाइ हुने देखिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेल गणनाको फोटोहरूको तुलना गरी विश्लेषण गर्न बाँकी छ। ‘बाघ पाइने निकुञ्जबाट आएका फोटो र तथ्यांकको अन्तिम विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘विभिन्न निकायका विज्ञहरुको सहभागितामा यसको विश्लेषण भइरहेको छ ।’

उनका अनुसार बाघको गणनामा करीब १९ सय क्यामेरा प्रयोग भएका छन्। ती क्यामेरामा कैद भएका तस्बिरको विश्लेषण गरेर बाघको एकीन संख्या सार्वजनिक गरिने विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए। यसअघि विश्व बाघ संरक्षण दिवसको अवसरमा बाघको संख्या सार्वजनिक गर्ने तयारी थियो।

गणनाबाट आएको तथ्यांक र फोटोको विश्लेषणसहित संख्या निकाल्न विभागका इकोलोजिष्ट पौडेल, नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी, डब्लुडब्लुएफ नेपालका शिवराज भट्ट र कञ्चना थापा, जेडएसएलका भगवान दाहाल लगायत सम्मिलित विज्ञ समूह गठन गरिएको छ।

महानिर्देशक खड्काका अनुसार बाघको ‘डाइग्राम’ सँगै यसको आहाराको अवस्थाका बारेमा पनि अध्ययन भइरहेको छ । उनले सकेसम्म २९ जुलाई बाघ दिवसका दिन बाघको संख्या सार्वजनिक गर्ने भनिए पनि काम अझै बाँकी रहेकाले निर्धारित समयमै सार्वजनिक गर्ने संभावना कम रहेको बताए।

सन् २०१३ मा सार्वजनिक भएको तथ्यांकमा १ सय ९८ वटा बाघ छन्। जसमा चितवन राष्ट्रिय निकुञ्जमा मात्र १ सय २० बटा बाघ छन्। यसैगरी पर्सामा ७, बाँकेमा ४, बर्दियामा ५०, शुक्लाफाँटा आपसमा १७ वटा बाघ रहेको तथ्यांक छ। सन् २०१० मा १ सय २१ वटा बाघ रहेको तथ्यांक छ।

सन् २०१० मा रसियाको सेन्ट पिटस्वर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै आगामी सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेका थिए।

सम्बन्धित समाचार
जुलाई २९ मा बाघको संख्या सार्वजनिक गरिँदै  : पूरा हुँदै दोब्बर पार्ने लक्ष्य

ताजा समाचार

सम्बन्धित समाचार