पत्रपत्रिकामा आज : हात्तीको बासस्थानमा विमानस्थल, सडकमै धान रोपाइँ

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाइएको छ ।

कान्तिपुर
–आजको कान्तिपुरमा हात्तीको बासस्थानमा विमानस्थल शिर्षकमा अब्दुल्लाह मियाँको समाचार छापिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मुख्यालय आधाभार नजिकै शुक्रबार दिउँसो ३५ वटा जंगली हात्ती निस्केपछि घण्टौं पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध भयो । निकुञ्जका प्राविधिक र कर्मचारीको अथक प्रयासपछि पटकपटक गरेर हात्तीको समूहलाई पूर्वतिरको जंगलतिर धपाइयो । त्यसपछि आवागमन खुल्यो ।

केही निकुञ्जमा पर्ने पसाहा खोला तरेर रतनपुरी पुगे, केही दक्षिणतिर मोडिए र केही हात्ती रतनपुरी जंगलमै बसे । तिनै हात्तीले दुई दिनअघि रतनपुरी गाउँका घरहरू भत्काइदिए । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको बाराको कोहल्बी, भल्वाइखोर र टाँगियाबस्ती, रौतहटको जंगलसैया साझेदारी वन, गैंडाटार हुँदै ती हात्ती सर्लाहीको बाग्मती जान्छन् । बाग्मतीबाट सप्तरी, कोसीटप्पु वन्यजन्तु आरक्ष हुँदै झापासम्मै ओहोरदोहोर गर्छन् । नेपाली हात्तीबारे विद्यावारिधि गरिरहेका पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पर्सा–चितवन कम्प्लेक्समा रहेका जंगली हात्तीको समूह बर्सेनिजस्तो यही बाटो भएर ओहोरदोहोर गर्छन् ।

पछिल्लो अध्ययनअनुसार हात्तीको आक्रमणबाट बारा, रौतहट, सर्लाही र महोत्तरीमा करिब ३० जना स्थानीयको ज्यान गइसकेको छ । ‘चितवनबाट पूर्वतिर लागेका हात्तीको समूह प्रस्तावित दोस्रो विमानस्थल बनाउने भनिएका गाउँ हुँदै पूर्वतिर जाने भएकाले जोखिम बढ्दो छ,’ अशोकले भने ।

पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढतर्फको पसाहा खोलादेखि लालबकैया खोलासम्मको करिब १० किलोमिटर क्षेत्रमा दक्षिणतिरको सबै जंगल फाँडेर विमानस्थल बनाउने तयारीप्रति पर्सा निकुञ्जले सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ । विमानस्थल बनाउन करिब ८ हजार हेक्टरमा २४ लाख रूख काटिने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उल्लेख छ । पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य निर्माणका क्रममा वन्यजन्तुको ओहोरदोहोरका लागि ठाउँ नछोडिए वा वन्यजन्तुमैत्री बाटो नबनाइए विकराल समस्या निम्तिने तर्क गर्छन् । ‘वन्यजन्तुको परम्परागत ओहोरदोहोर बिग्रिने गरी निर्माण अघि बढेको छ,’ उनले भने, ‘त्यसैले वन्यजन्तुको करिडोर व्यवस्थापनमा ध्यान दिनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं ।’ द्रुतमार्ग, अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठूला संरचना निकुञ्ज बाहिरको विषय भएकाले आफूहरूले प्रत्यक्ष हस्तक्षेप गर्न नमिल्ने आचार्यको तर्क छ ।

वर्षौंदेखि हात्ती, गैंडा र बाघलगायतका ठूला वन्यजन्तुका करिडोर मासेर ठूला संरचना खडा गर्दा मानव–वन्यजन्तु द्वन्द्व निम्तिन सक्ने खतरा रहेको निकुञ्जको ठम्याइ छ । सहायक संरक्षण अधिकृत अशोकले कोसीटप्पु वन्यजन्तु आरक्ष, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट र बारा हुँदै चितवन निकुञ्जसम्म जोड्ने जैविक मार्ग अवरुद्ध भएपछि हात्तीले वितण्डा मच्चाउन सक्ने अध्ययनको निष्कर्ष सुनाए । राजमार्गको दक्षिणतर्फ भएका रूख काटेर विमानस्थलको संरचना विस्तार गर्दा झापा र कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पर्सा निकुञ्ज र चितवन निकुञ्जसम्मका वन्यजन्तुको ओहोरदोहोर तोडिने सहायक वार्डेन रामको बुझाइ छ । ‘विमानस्थल निर्माण गर्ने भनिएका गाउँहरूमा बर्सेनिजसो हात्तीले समस्या निम्त्याउने गरेको छ,’ अशोकले भने, ‘वर्षौंअघिदेखि हात्ती हिँडिरहेको बाटो विनाश गर्ने हो भने ती हात्ती बस्तीमा छिर्छन् र द्वन्द्व निम्तिन्छ ।’

उनका अनुसार सदियौंदेखि पूर्वी तराईका जिल्लाबाट आएका हात्तीको समूह विमानस्थल बन्ने भनिएको पसाहा खोला दक्षिणको जंगल हुँदै पर्सा निकुञ्ज र चितवन निकुञ्जसम्म पुग्ने भएकाले राजमार्गको दक्षिणमा जैविक मार्ग जोगाउनु वैज्ञानिक हुन्छ । हात्तीमा विद्यावारिधि गरेका नरेन्द्रमानबाबु प्रधानले विमानस्थल निर्माण गर्दा हात्तीको ‘कनेक्टिभिटी’ तोड्न नहुने सुझाए । ‘हात्तीको आउजाउ हुने नाकाको विस्तृत अध्ययन गरी ती ठाउँमा अन्डरपास बनाउनुपर्छ,’ प्रधानको सुझाव छ, ‘नत्र हात्तीले बितन्डा मच्चाउन सक्छ । त्यसैले विकास र जैविक विविधताबीच ब्यालेन्स आवश्यक छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले वन्यजन्तुको परम्परागत जैविक मार्ग विनाश नगर्न पटक–पटक सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको बताए । ‘भौतिक संरचना निर्माण गरिने स्थानमा वन्यजन्तुका लागि अन्डरपास र ओभरपास बनाउनुपर्छ भनेर लबिइङ गरिरहेका छौं,’ खड्काले भने । काठमाडौं–निजगढ फास्ट ट्रयाक बनाउँदा पनि राजमार्गबाट उत्तर–पूर्वतिर वन्यजन्तुको ओहोरदोहोर गर्ने करिडोर भएकाले वन्यजन्तुको सहज आउजाउका लागि अनिवार्य रूपमा ओभरपास निर्माण गर्न वन तथा वातावरण मन्त्रालय, वन विभाग र निकुञ्ज विभागले नेपाली सेनाको ध्यानाकर्षण गराएका थिए । सम्बन्धित निकायको पहलकदमीपछि करिब दुई किलोमिटर क्षेत्रमा ‘ओभरपास’ बनाइँदै गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै खाद्यमा सार्क मुलुकको एउटै गुणस्तर मापदण्ड शिर्षकमा सुरेशराज न्यौपानेको समाचार छापिएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका सदस्य मुलुकहरू केही खाद्य वस्तुमा एउटै गुणस्तर मापदण्ड कायम गर्न सहमत भएका छन् । सहमतिअनुसार बिस्कुट, प्रशोधित चिनी र दूधजन्य वस्तुमा यो मापदण्डमा लागू हुनेछ । सार्कअन्तर्गतको विशेष संगठन साउथ एसियन रिजनल स्टयान्डर्ड अर्गनाइजेसन (सार्सो)ले तयार पारेको मापदण्डमा सदस्य मुलुकहरूबीच सहमति जुटेको हो । बिस्कुट र प्रशोधित चिनीको उत्पादन गुणस्तरसँगै प्याकेजिङ प्रशोधन, लेबलिङ र नमुना तथा दूधरदुग्धजन्य वस्तुको उत्पादन, प्रशोधन र प्रयोगका लागि समेत साझा मापदण्ड तय गरिएको छ ।
अघिल्लो महिना ‘सार्सो’ को मुख्यालय बंगलादेशको ढाकामा बसेको प्राविधिक समितिले त्यससम्बन्धी निर्णय गरेको हो । एउटै मापदण्ड तय गर्ने विषयमा ‘सार्सो’ अन्तर्गतका विभिन्न समिति र बैठकमा सन् २०११ देखि नै छलफल हुँदै आएको थियो । सार्क मुलुकहरूबीच गुणस्तर मापदण्डमा एकरूपता ल्याउँदै व्यापार अभिवृद्धिका लागि साझेदारी र समन्वय गराउने उद्देश्यसहित ‘सार्सो’ को गठन भएको हो ।

हाल सार्क मुलुकभित्र निर्यात गर्दा आयात गर्ने मुलुकले निर्यातकर्ता मुलुकले जारी गरेको गुणस्तर प्रमाणपत्रको परीक्षण गर्ने व्यवस्था छ । यसको अभावमा सार्क मुलुकहरूबीचको व्यापार सहज बन्न सकेको थिएन । पछिल्लो सहमतिपछि यी वस्तुहरूको व्यापार सहज हुने विश्वास गरिएको छ । एउटै मापदण्ड लागू भएपछि आयातकर्ता मुलुकले निर्यात गर्ने मुलुकले जारी गर्ने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिनेछन् । जसबाट सीमामा गर्नुपर्ने गुणस्तर परीक्षणलगायतका प्रक्रिया हट्ने र व्यापार अभिवृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
सार्क मुलुकहरूले गर्ने कुल वैदेशिक व्यापारको पाँच प्रतिशत मात्र यो क्षेत्रमा हुने गरेको छ । जबकि पूर्वएसियाली मुलुकहरूबीच ३५ प्रतिशत र युरोपभित्र ६० प्रतिशत व्यापार हुने गरेको तथ्यांक छ । सार्क मुलुकहरूबीच न्यून व्यापार हुनुमा कमजोर पूर्वाधारसँगै गैरभन्सार अवरोधहरूलाई पनि जिम्मेवार ठान्ने गरिएको छ । सरकारी अधिकारीले मापदण्ड लागू भएको खण्डमा गैरभन्सार अवरोध पनि कम हुने सार्क मुलुकहरूबीच व्यापार अभिवृद्धिका लागि भरपर्दो आधार तयार गर्ने अपेक्षासमेत गरेका समाचारमा उल्लेख छ ।

गोरखापत्र
–आजको गोरखापत्रमा सडकमै धान रोपाइँ शिर्षकमा समाचार छापिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाको शेराबगरमा सडकमै धान रोपाइँ गरिएको छ । शिवपुरीको वडा नं ५ शेराबगरका स्थानीय किसानले आवतजावत गर्न हिलोले कठिन भएको भन्दै सडक निर्माणको दबाबस्वरुप धान रोपेका हुन् ।

शिवपुरीको पुष्पलाल मध्यपहाडी लोकमार्ग सडकखण्ड भएर जेठ महिनादेखि नै आवज–जावत गर्न कठिन भएको स्थानीयको गुनासो छ । सम्बन्धित निकायमा पहल गर्दा पनि निर्माण कार्यमा सडक विभागले चासो नदिएपछि सडकमै हलगोरु नारेर रोपाइँ गरिएको स्थानीय कृषक माधव अधिकारीले बताए । त्यस्तै नुवाकोट हुँदै काठमाडौँ जाने टोखा–छहरे सडकखण्डको विभिन्न स्थानमा वर्षाका कारण क्षति पुगेको छ । क्षतिका कारण यात्रुलाई सास्ती भएको समाचारमा उल्लेख छ ।

त्यस्तै राप्ती पुल मर्मत भएन शिर्षकमा अर्को समाचार छापिएको छ । राप्ती नदीमा बनेको पुल अहिले मर्मतको अभावमा कमजोर बन्दै गएको छ । २०५६ सालमा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्रे उप्किएर खाडल परेको छ । पुल निर्माणमा प्रयोग गरिएको फलामको सामग्रीमा खिया लागेको छ ।
नदी किनारमा क्रसर उद्योग खुलेपछि झनै ओभर लोडका सवारीसाधन ओहोरदोहोर गर्दा पुलमा असर पर्ने गरेको छ । पुल नजिक हुने अवैध उत्खननले झनै यसको आयु घटाउने काम गरेको छ । पुल बनेदेखि एक पटक पनि मर्मत गरिएको छैन ।
राप्ती पुलको तत्काल मर्मत गर्नुपर्ने गढवा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रविलाल आचार्यले माग गर्नुभएको छ । लोडको मापदण्ड छैन । एकपटक लप्किएर मर्मत गरेर बनाएको पुल हो । ओभरलोड गाडीहरू गुडाउँदा पुलको आयु घट्दै गएको छ, उहाँले भन्नुभयो । अहिले पुलबाट दोहोरो सवारीसाधनसँगै आवतजावत गर्न सक्दैनन् ।
पुल नजिक गरिएको नदीजन्य वस्तुको उत्खननले पुलको आयु घटाउने काम गरेको गढवा निवासी चुडामणि पौडेलले बताउनुभयो । पुलको छेउछाउमा ढुङ्गाजन्य वस्तु उत्खनन गरिएको छ । जसले गर्दा पुल कमजोर बन्दै गएको पौडेलले भन्नुभयो । पुलमा बनेको खाडल नपुर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा गोदाम र गोठमा पानी उद्योग शिर्षकमा सरोज यादवको समाचार छापिएको छ । विराटनगरमा गोदाम र गाई गोठमा पनि पानी उद्योग सञ्चालन गरेको पाइएको छ । प्रदेश न १ सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा गोदाम, गाईगोठ, र घरको कोठामा पानी उद्योग सञ्चालन गरेको पाइएको हो ।

मन्त्रालयले गरेको चौँथो दिनको अनुगमनका क्रममा विराटनगर–१२ पिचरामा पुरानो गाई गोठमा सञ्चालित भूमि जल उद्योगमा शिलबन्दी गरिएको छ भने विराटनगर ९ गोदाममा खुलारुपमा सञ्चालित मंगलम् वेभब्रेज उद्योगलाई सुधार गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा घरको कोठाभित्र सञ्चालित प्रजपति जल उद्योग प्लान्ट सार्न निर्देशन दिइएको समाचारमा उल्लेख छ ।

नागरिक
– आजको नागरिकमा सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाइ :दसैं उपहारमा मेलम्ची पानी ‘असम्भव’ शिर्षकमा ध्रुव दंगालको समाचा छापिएको छ । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकाबासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए (छेडिए) पछि उत्साही सरकारले आगामी दसैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो।

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी रेभेना कामलाई ढिलाउन उद्यत देखिएको छ । यद्यपि सिएमसीले सुरुङ ढलान रोकेको भने छैन । कामलाई गति पनि दिएको छैन । ‘ठेकेदारले कामलाई एकरुपता दिन सकेको छैन,’ मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने, ‘उतारचढाव भइरहेको उसको कामले एक दिन उत्साही बनाउँछ अर्को दिन निराश ।’

सुरुङ ब्रेक थ्रु हुँदा तीन किलोमिटर फिनिसिङ र ढलान भइसकेको थियो । त्यसयताका तीन महिनामा ठेकेदारले थप चार किलोमिटर मात्र ढलान सकेको छ । जब कि सम्पूर्ण सुरुङ फिनिसिङको काम तीन महिनामा सकिने आयोजनाको अनुमान थियो ।

आयोजनाको अनुमानअनुसार साउन पहिलो साता मेलम्ची पानी सुन्दरीजल खसिसक्नुपर्ने बेलामा ठेकेदारले बल्ल ७।४ किलोमिटर सुरुङ फिनिसिङको काम सकाएको छ । प्रवक्ता पन्त ठेकेदारले अझै कामलाई तीव्रता नदिए असोजको भाखा सर्ने सम्भावना देख्छन् । ‘सुरुङ ढलान जटिल काम नभएकाले दसैंको भाखा असम्भव भने छैन । तर ठेकेदारले काम चाहिँ गर्दिनुपर्याे,’ उनले भने । निर्धारित समय धकेलिन नदिन आयोजना ठेकेदारलाई मनाएर, फकाएर तथा विश्वासमा लिएर काम सम्पन्न गराउने रणनीतिमा रहेको समाचारमा उल्लेख छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा सडकको दुर्दशाले सर्वसाधारण हैरान शिर्षकमा प्रदीपचन्द्र राईको समाचार छापिएको छ । बर्खा सुरु भएसँगै भोजपुर सदरमुकामको मुख्य सडक यतिबेला हिलाम्मे र सवारीसाधन चल्नै नसक्ने भएपछि सर्वसाधारणलाई बाटोमा हिँड्न सास्ती भएको छ। भोजपुर नगरपालिकाले समयमै सडक मर्मतमा ध्यान नपुर्‍याउँदा स्थानीयलाई आवतजावतमा समेत निकै कठिनाइ भएको हो।

पैदल यात्रु, विद्यार्थी र स्थानीयलाई सदरमुकामकै सडकमा यस्तो सास्ती खेपेर हिँड्नुपर्दा जनप्रतिनिधिले कुनै चासो नदिएको भोजपुर–९, पानीट्यांकीका रमन राईले आक्रोश पोखे। उनले भने, ‘नगपालिकाभित्रैको मुख्य सडकको यस्तो बेहाल छ, मर्मत गर्न जनप्रतिनिधि र अन्य सरकारी निकायले समेत ध्यान दिएका छैनन्।’ भोजपुर नगरपालिका–६ देउरालीका चक्रप्रसाद राईले पनि बर्खा सुरु भएसँगै सदरमुकामकै सडकमा हिलोमा डुबेर हिँड्नुपरेको समस्या सुनाए। बाटोमा हिँड्दा चिप्लिने, लड्ने र घाइते नै हुने अवस्थासमेत सिर्जना भएको बताए। गन्तव्यमा ढिलो पुगिने समस्या सामान्यजस्तै भएको उनले गुनासो गरे।

विगतमा बर्खाका बेला अत्यधिक समस्या हुने गरेको ६६ किलोमिटर भोजपुर–लेगुवा सडकखण्डमा अहिले सडक स्तरोन्नति गरिएकाले पहिलेजस्तो धरान–भोजपुर यात्रा गर्ने यात्रुलाई सास्ती छैन। तर, सदरमुकाम रहेको नगरपालिकाले मुख्य बजार क्षेत्रकै करिब दुई किलोमिटर सडकखण्ड मर्मतसम्हार र स्तरोन्नतिमा नगरपालिकाले समेत चासो लिएको छैन। बर्खा सुरु हुनुअगावै मर्मत सम्भारमा ध्यान नदिँदा स्थानीय र विद्यार्थीले बढी सास्ती खेप्दै हिँड्नुपरेको छ। मुख्यबजार क्षेत्रकै सडक हिलाम्मे बनेपछि बसपार्कबाट छुटेका यात्रुवाहक बस तथा गाडी २० मिटर गुडेपछि हिलोमा फस्ने गरेको छ। जसकारण टाढा–टाढा यात्रा गर्ने यात्रु घण्टौंसम्म गाडी कुरेर बस्नुपर्ने बाध्यता रहेको समाचामा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार