Saturday, September 28, 2024

‘साइकलमा होइन, फोहाेर व्यवस्थापन बापत मर्मत केन्द्रबाट कर’

काठमाडौं– मोरङको कानेपोखरी गाउँपालिकाले साइकल मर्मत सेन्टर एवं बिक्री केन्द्रबाट निस्कने फोहोर व्यवस्थापनका लागि ‘फोहोर व्यवस्थापन सेवा शुल्क’ संकलन गर्ने निर्णय गरेको जनाएको छ।

फोहोर व्यवस्थापनको समस्या बढ्दै गइरहेका बेला साइकल बिक्री एवं मर्मत  केन्द्रबाट मासिक एक सय र मोटरसाइकल बिक्री एवं मर्मत केन्द्रबाट मासिक दुई सय रुपैयाँ शुल्क लिने गाउँसभामार्फत् निर्णय भएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए।

‘विशेषगरी बजार क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या बढ्दै गएको छ, यसअघि शुल्क लिने गरेका थिएनौं,’ उनले भने, ‘अब फोहोर व्यवस्थापनका लागि भएपनि शुल्क लिनुपर्ने बाध्यता भयो। कसैले साइकल चढ्दैमा कर तिनुपर्ने होइन।’

ताराबहादुर काफ्ले, गाउँपालिका अध्यक्ष

उनका अनुसार गाउँपालिकाले रमाइलो, बयरबन र दलेली बजारबाट हप्ताको दुई पटक गरी महिनामा चार पटक फोहोर उठाइने छ। सो बापत साइकलसँगै मोटरसाइकल मर्मत सेन्टर, चिया पसल, किराना पसल तथा अन्य व्यापारिक संस्थानले फोहोर व्यवस्थापन बापत शुल्क दिनुपर्ने छ। ‘शुल्कको छुट्टाछुट्टै मापदण्ड छ,’ हाकाहाकीसँग कुरा गर्दै उनले भने।

गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार साइकल, मोटरसाइकल बिक्री एवं मर्मत सेन्टरसहित अन्य पसल, व्यवसाय संस्थानबाट फोहोर व्यवस्थापनका लागि वार्षिक एक लाख रुपैयाँ कर उठ्ने अनुमान गरिएको छ। ‘बजारको फोहोर व्यवस्थापनको खर्च नै वार्षिक ५ लाख छ,’ उनले भने।’

तर, साइकलमै कर लगाइएको भन्दै उक्त गाउँपालिका–१ का स्थानीयले विजय किस्कुको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन्।

कानेपाेखरी गाउँपालिकाले जारी गरेकाे विज्ञप्ति

ताजा समाचार

सम्बन्धित समाचार