Saturday, September 28, 2024

‘खुत्रुके बाजे’ को माटोसँगको साइनो

भक्तपुर–शीरमा ढाका टोपी। सेतै फुलेको कपाल। माटोले लतपतिएको लुगा अनि हातभरि माटो। ५३ वर्ष पुग्यो, केदार प्रजापति (६४) ले माटोसँग साइनो गाँसेको। उनको दिनचर्या माटोबाट भाडाकुडा बनाउँदै बित्छ। उनको रोजीरोटी पनि यहिबाट चल्दै आएको छ।

माटाेकाे भाँडा बनाउँदै केदार प्रजापति।

प्रजापति आइतबार आफ्नो विद्युतीय कुमाले चक्र अगाडि बसेर खुत्रुके बनाउनमै व्यस्त थिए। भक्तपुरका ‘खुत्रुके बाजे’ को उपनामले प्रख्यात प्रजापति बाल्यकालदेखि नै माटोसँग रमाउँदै आएका छन्। अहिले पनि उनीमा कामप्रतिको लगनशीलता र मिहिनेत उस्तै छ। उनको मिहिनेतबाट उनका आफन्त मात्र होइन भक्तपुरबासीका लागि नै प्रेरणा स्रोत बनेका छन्।

पाँच पुस्तादेखि माटोको भाडा बनाउने पेशालाई निरन्तरता दिँदै आएका प्रजापति परिवारले केहि वर्ष यता भने उपत्यकामा दिन प्रतिदिन अव्यवस्थित बसोबास र भूकम्पपछि माटोको अभाव हुँदै आएको बताउँछन्। ‘उहिले घरमै आएर माटो लैजान आग्रह गर्थे,’ प्रजापतिले भने, ‘तर, अहिले समय उल्टो भएको छ। माटो लग्न दिँदैनन्।’

उनी पहिले भक्तपुरको सिपाडोल (खापी) बाट माटो लगेर भाडा बनाउथें। तर, अहिले त्यहाँ भूकम्पपछि कयौँ घर बन्न थालेपछि माटोको अभाव हुन थालेको प्रजापति बताउँछन्। ‘पहिले पाँच रुपैयाँमा एक टिप माटो पाइन्थ्यो। अहिले ६ हजार तिर्दा पनि गुणस्तरीय माटो पाउन मुस्किल हुन्छ,’ उनले भने।

राम्रो माटोको प्रयोग गरेर भाँडा बनाउँदा मासिक ३० देखि ४० हजार कमाइ हुने गरेकोे प्रजापति बताउँछन्। तर, अहिले माटो हुनुका साथै अभाव हुने भएकाले रोजीरोटि चलाउन समस्या पर्ने गरेको उनी बताउँछन्।

‘राम्रो माटो नपाउँदा ५० प्रतिशत भाडा फुट्छ, मिहिनेत, भाँडा पोल्दाको काठ, समयको पनि खेर जान्छ,’ उनले भने। अहिले ललितपुरको हरिसिद्धिबाट प्रजापतिले माटो किनेर ल्याउँदै आएका छन्।

माटोको अभावमा आफ्नो पुख्यौली पेशा लोप हुने उनी बताउँछन्। ‘छोरा सम्मले यो पेशा गर्नेछ । तर, नातिहरुको पालोसम्म लोप हुन्छ,’ उनले भने ‘अहिले त खत्रुके बनाउने माटोको अभाव छ। अबको १०-१५ वर्ष पछि व्यवसाय नै हराएर जानेछ।’

पुर्ख्याैली पेशालाई निरन्तरता दिँदै आएका प्रजापतिका ४२ वर्षीय छोरा कृष्णप्रसाद प्रजापति भन्छन्, ‘बिहान घाम झुल्किएदेखि राति अध्यारो नहुन्जेलसम्म माटोका भाडा बनाउन बित्छ।’

(एलिना  प्रशिक्षार्थी पत्रकार हुन्)

केदारका छोरा कृष्णप्रसाद प्रजापति।

 

ताजा समाचार

सम्बन्धित समाचार