Saturday, September 28, 2024

कलंकी-नागढुंगा सडकः ‘सरकारले बनाएन, हाम्रो सडक हामी बनाउँछौं’

काठमाडौं– कलंकी–नागढुंगा सडक विस्तारमा देखिएको न्यायायीक अड्चन फुकुवा भएपनि निर्माण अगाडि नबढेपछि स्थानीय बासिन्दाले सांकेतिक विरोध गरेका छन्।

तस्बिर सौजन्य : दबाब समूहका सदस्य रोशन दानी।

सर्वोच्च अदालतले १४ असारमा कलंकी–नागढुंगासहित उपत्यकामा विस्तार भइरहेका ६ वटा सडकविरुद्ध परेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै विस्तारको बाटो खुलेको थियो।

तर, उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा चाँसो नदेखाएको भन्दै चन्द्रागिरीका स्थानीयले ‘कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह’ गठन गरी आइतबार बिहान सडकका खाल्डा पुरेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा सडक जाम गरेर नाराबाजी गरेका थिए।

कलंकी–नागढुंगा सडक निर्माण दबाव समूहका अध्यक्ष ईश्वर लामाले सडक विस्तारमा सरकारले नै आलटाल गरिरहेकाले दबाब स्वरुप विरोध गरिएको बताए। शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गर्नुपर्ने उनको माग छ।

आयोजनाले उक्त सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउने भन्दै काम थालेकोमा ११ फागुन २०७२ मा सडक विस्तार गर्दा घर पूर्णरुपमा नष्ट हुने र उक्त क्षति रोक्नुपर्ने भन्दै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सडक विस्तारविरुद्ध पीडितहरुद्वारा दायर मुद्दामा सर्वोच्चका न्यायाधीशहरु केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीले गत १४ असोजमा फैसला गरेका थिए। सर्वोच्चको निर्देशनात्मक फैसलामा सडक विस्तार गर्नुअघि त्यहाँका जग्गाधनीलाई क्षतिपूर्ति र मुआब्जा दिन भनिएको छ।

सर्वोच्चको पूर्णपाठ अनुसार सरकारले जग्गाधनीलाई उचित मुआब्जा दिएर सडक विस्तार गर्न सक्नेछ। तर, यअसघि विस्तारको क्रममा बीचैमा रोकिएका सडक आयोजनाको हकमा जग्गाधनीलाई मुआब्जा दिने र सडक निर्माणको काम सरकारले सँगसँगै गर्नुपर्नेछ।

कलंकी–नागढुंगा सडक काठमाडौँ उपत्यका प्रवेश गर्न मुख्य नाका हो। जहाँबाट दैनिक हजारौँको संख्यामा सवारी आवतजावत गर्छन्। तर, देशको राजधानी प्रवेश गर्ने नाकाको सडक अहिले लथालिंग अवस्थामा छ।

कलंकीदेखि नागढुंगासम्मको उक्त सडकखण्ड जम्मा नौ किलोमिटर छ। निकै नै व्यस्त सडक मध्येको एक यो सडक पानी परे हिलाम्य र घाम लागे धुलाम्य हुने गर्दछ ।

२७ असारमा मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सोही मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितलाई बोलाएर उक्त सडक तत्काल सुधार गर्न निर्देशन दिएका थिए।

सम्बन्धित समाचार
फैसलाको पूर्णपाठ सार्वजनिक स् उपत्यकामा रोकिएका सडक विस्तार गर्न बाटो खुल्यो
प्रम ओलीको निर्देशनपछि पनि चाबहिल-जोरपाटी सडक हिलाम्य

ताजा समाचार

सम्बन्धित समाचार