Saturday, September 28, 2024

पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माणको अन्तिम चरणमा

काठमाडाैं–ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। यद्यपी केही सम्पदाहरूको पुनर्निर्माण ढिलो सुरु भएकाले तिनीहरूको काम सुरुवाती चरणमा पनि छन्।

दरबार क्षेत्रमा रहेका केशव नारायण चोक, चार नारायण मन्दिर, हरिशंकर मन्दिर, विशेश्वर मन्दिर, विश्वनाथ मन्दिर, मणिमण्डप, कृष्ण मन्दिर, पाटन दरबार लगायतको पुनर्निर्माण अन्तिम चरणमा पुगेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारले जनाएको छ।

दरबार क्षेत्र वरपरका सम्पदामध्ये कुनै मन्दिरको भर्खरै जग सकेर वाल उठाउने काम सुरु भएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए। ‘कुम्भेश्वर र राधाकृष्ण मन्दिरको भर्खर पर्खाल लगाउने काम सुरु भएको छ,’ उनले भने, ‘कतै ठेकेदारका कारण त कतै अरु विभिन्न प्राविधिक कारणले पुनर्निर्माण ढिलो भएको हो।’

उनका अनुसार यी सम्पदाहरूको पुनर्निर्माणको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्ट (केभिपिटी) ले लिएको छ । ट्रष्टका निर्देशक रोहित रञ्जितकारका अनुसार मणिमण्डपको पुर्ननिर्माण लगभग सकिएको छ। ‘दक्षिणपट्टिको मणिमण्डपको पुनर्निर्माण लगभग सकिएको छ,’ उनले भने, ‘उत्तरपट्टिको मणिमण्डपको फिनिसिङ बाँकी छ। करीब २ करोडमा मणिमण्डपको पुनर्निर्माण सक्न लागिएको उनले बताए। रञ्जितकारका अनुसार अब २ प्रतिशत मात्र काम बाँकी छ।

चार नारायण मन्दिरको पहिलो तलाको काम सकेर अहिले दोस्रो तलाको पर्खाल लगाउने काम भइरहेको कार्यालयका प्रमुख प्याकुरेलले जानकारी दिए । उनका अनुसार त्यहाँको ६० प्रतिशत काम सकिएको छ। हरिशंकरको पर्खाल लगाउने काम भइरहेको र विशेश्वर मन्दिरको अरु काम सकेर छानो हाल्ने काम भइरहेको उनले जानकारी दिए।

दरबारको माथिल्लो सुन्दरीचोक र मुलचोकमा खासै समस्या नभएको कार्यालयका प्रमुख प्याकुरेलले जानकारी दिए। केभिपिटीले तलेजु मन्दिरको पनि काम सकिसकेको छ। पाटन संग्राहालयसँगै रहेको केशवनारायण चोकको पुर्ननिर्माण चलिरहेको छ। संग्राहालयले पुनर्निर्माणकाे  तीव्रता लिएको छ। पश्चिम पट्टिको काम सएिको र उत्तर–दक्षिण पर्खाल लगाउन बाँकी छ।

दरबार क्षेत्रमा रहेका २ वटा स्तम्भको पनि पुर्ननिर्माण भएको छ। एउटा राजा योगनरेन्द्र मल्लको शालिक र भिमसेन मन्दिर अगाडिको सिंहको स्तम्भ रहेका छन्। कृष्ण मन्दिरको पनि पुनर्निर्माणको काम अन्तिम चरणमा छ।

यसैगरी, कुम्भेश्वर मन्दिर भतकाएर पर्खाmल लगाउने काम धमाधम भइरहेको प्रमुख प्याकुरेलले जानकारी दिए। ठेकेदारको लापरवाहीका कारण मंगलबजार तल रहेको राधा कृष्ण मन्दिरको जग हाल्ने काम भर्खर सकेर पर्खाल लगाउने काम सुरु भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार