Saturday, September 28, 2024

खोला अतिक्रमण हटाएर ‘सिटी बोटिङ’

इटहरी–इटहरीमा २७ साउन २०७४ राति आएको बाढीले ८ जनाको ज्यान लियो। स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको केही दिनमै आएको बाढीले इटहरी उपमहानगर डुबानमा पर्यो।

सो घटनाबाट पाठ सिक्दै इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले आयोजना ल्याए–इटहरीमा खोलाको अतिक्रमण हटाउने र सहरबाट बगेको खोलालाई आम्दानीको श्रोत बनाउन बोटिङ र बगैचा।’

खोलाको अतिक्रमण हटाएपछि पानी सहजै बग्ने र खोलामा बोटिङ गरेपछि निरन्तर खोलाको संरक्षण र आम्दानी दुवै हुने मेयर चौधरीको तर्क थियो।  मेयरले मिचिएका खोलाको बाटो खोले। वडा नम्बर ४ का वडाध्यक्षले खोलाको पुरिएको बाटो खनेर खोलालाई बस्तीमा पुग्नबाट जोगाए।

अन्ततः सोही योजनाका कारण पहिलोको तुलनामा इटहरीको डुबान घटेको छ । सामान्य बर्षा हुनासाथ इटहरी डुबानमा पर्ने गरेकोमा यो वर्षको हालसम्मत्यस्ते समस्या देखिएको छैन।

खोला खोल्न डोजर अभियान
इटहरीको मध्य बजार क्षेत्र भएर बग्ने दुई खोलाको अतिक्रमित क्षेत्र खाली गर्न थाले इटहरीका मेयर चौधरी। इटहरी बजारबाट थोरै पूर्वतर्फ भएर बग्ने टेंग्रा खोला र केही सय मिटर पश्चिमतर्फ बग्ने खेती खोलाको अतिक्रमण हटाए।

गत वर्षको फागुन ४ गते मेयरसहितको उपमहानगरको टोलीले इटहरी पश्चिम भएर बग्ने खेती खोला बाँधेर बनाइएका संरचनाहरू डोजर लाएर भत्काएका थिए। इटहरीको वडा नम्बर ४ र ५ को सीमा भएर बग्ने खेती खोलाको क्षेत्र मिचिएर पैनी आकारको भएको भन्दै खोलाकै आकारमा ल्याउन डोजर हानिएको मेयर चौधरीले बताउँदै आएका थिए।

  इटहरी पश्चिममा रहेको स्यार्सेकाली पम्म छेवैमा टाटा कम्पनीले बनाएको अवैधानिक संरचनामा साउना १९ मा डोजर पनि चलाइयो । त्यसपछि मेयरको डोजर अभियान रोकिएको थियो।

यसरी आफ्नो स्थगित खोला लगायतका सार्वजनिक जग्गा मिचिएका संरचना भत्काउने अभियान मेयर चौधरीले ७ सात महिना पछि पुनः सुरु गरेका छन्।

टेंग्रा खेलामा सिटी बोटिङ गर्ने योजना
इटहरी पश्चिममा रहेको खेती खोलाको क्षेत्र र पूर्वमा रहेको टेंग्रा खोलाका दुबै क्षेत्र खाली गर्ने योजनामा मेयर चौधरीले काम थालेका छन्। दुवै खोला क्रमशः क्लियर भएपछि इटहरीको बजार क्षेत्रमा हुने बाढी र डुबान स्वतः हट्ने मेयर चौधरीको तर्क छ।

बाढी र डुबान नियन्त्रण मात्रै हैन इटहरी वडा नम्बर २, ३, ४ र ६ भएर बजार क्षेत्र हुँदै बग्ने टेंग्रा खोलामा बाढी बाहेकका सिजनमा जलविहार गराएर अाम्दानी गर्ने योजना पनि मेयर चौधरीको छ।

इटहरीको बजार क्षेत्र भएरै बग्ने भएकाले सिटी बोटिङ गर्न सहज हुने मेयर चौधरी बताउँछन। भन्छन, ‘हामीले खोलालाई बाढी र डुबानको रूपमा मात्रै बुझ्यौं तर, यहाँ बोटिङ र्याफ्टिङ गरेर मनोरञ्जन र आम्दानी पनि ल्याउन सकिन्छ।’

यहि प्रयोजनका लागि अघिल्लो आर्थिक वर्षमा वडा नम्बर ४ ले टेंग्रा खोला किनारमा पैदल पथ बनाएको छ। यो आर्थिक वर्षमा स्थानीय तह र प्रदेश सरकारको एकमुस्ट ४० लाख रकम टेंग्रा करिडोरको लागी विनियोजन भएको छ।

‘सिटी र्‍याप्टिङ’ को सफल परीक्षण
इटहरीमा सिटी र्‍याप्टिङको सफल परीक्षण भइसकेको छ। इटहरी–४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई लगायतको जनप्रतिनिधिहरूको समूहको पहलमा गत असोज ७ गते सिटी र्या्फ्टिङ समेत गरिएको थियो।

इटहरीको वडा नम्बर चार क्षेत्रमा पर्ने टेंग्रा खोला क्षेत्रमा गरिएको र्‍याप्टिङ परीक्षणमा इटहरीमा रहेर पूर्वका अरुण तथा तमोर नदीमा र्या्फ्टिङ गराउँदै आएको रिभर डिप र्या्फ्टिङ कम्पनीले प्राविधिक सहयोग गरेको थियो। कम्पनीका जल गाइडहरुले टेंग्राको पानी ३ फिट गहिरो र चौडाइ ५ मिटर लामो भएकोले सामान्य सिटी र्या्फ्टिङ गर्न सकिने बताएका थिए।
जल गाइडहरुको र्या्फ्टिङ गर्न सकिने बताएपछि इटहरी–४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराई र डिकबहादुर राईले यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर लगानीकर्ता ल्याउने बताएका छन्।

इटहरी ४ का जनप्रतिनिधिहरूले खोलाको बिचमा सिटी बोटिङ, ट्वुबिङ र र्‍याप्टिङ तथा साइडमा वाकिङ लेन तथा दुई किनार जोड्ने पुल बनाएर पुलमाथि ब्रिज क्याफेको परिकल्पना गरेर डीपीआर बनाउने काम समेत थालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार