मनाङ – पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बासअर्थात होमस्टेको अवधारणा ल्याइएको हो।
यस जिल्ला पर्यटन पदमार्गका रुपमा विश्व परिचित भएता पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घरबास (होमस्टे)आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए। उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेको हुँदा पर्यटकको चाप थेग्नका लागि होमस्टेले सहयोग पुर्याएको छ।
गाउँघरका मौलिक पुराना बस्तीमा रमाउने भएकाले तिनै मौलिकता बोकेका बस्तीमा होमस्टे सञ्चालनको अवधारणा ल्याइएको हो। हाल यस जिल्लामा दुईवटा गाउँमा होमस्टे सञ्चालनमा आएका छन्।
नासों गाउँपालिकाअन्तर्गतका दुईवटा वडा, नं ४ का १५ घर र वडा नं ८ ताचै गाउँमा २६ घर सञ्चालनमा आएका छन् । वडा नं ४ ओडार गाउँ यस जिल्लाको पहिलो घरबास (होमस्टे) भएको ठाउँ हो भने वडा नं ८ ताचै गाउँमा साउन २ गतेदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ ।
गाउँको चिनारीको वृत्तचित्र र म्युजिक भिडियोबाट गाउँलाई प्रचारप्रसारमा ल्याउने उद्देश्यका साथ होमस्टे सञ्चालनमा आएको हो । पर्यटन प्रवद्र्धनबाट गाउँको उन्नतिका लागि होमस्टेको अवधारणासँगै पदमार्गले नासों गाउँपालिकाका नौवटै वडा जोड्ने लक्ष्य रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए।
उनका अनुसार ताल, धारापानी, खोत्रो, थोचे, तिल्चे, ताचै, हुँदै दानक्यु, बगरछाप, घ्यालनचोक, ओडार गाउँबाट धारापानी जोड्ने पदमार्गको योजना बनाई काम थालिएको छ । सरकारको अवधारणाअनुरुप पर्यटन प्रवद्र्धनका लागि योजना बनाई अगाडि बढेको र चामे गाउँपालिकामा पनि घरबास (होमस्टे) निर्माणका लागि योजना निर्माण गरेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।
आन्तरिक तथा बाह्य पर्यटनका लागि घरबास (होमस्टे) निर्माणमा लाग्दै मनाङको परम्परा र प्राचीन घरको प्रयोग र सदुपयोगमा लागेको घरबास समिति ताचैका अध्यक्ष याद घलेले बताए। घरबास (होमस्टे)ले मनाङको परम्परा, धर्म, संस्कृति मौलिकतालाई उजागर गर्दै पारिवारिक वातावरणमा पर्यटकलाई आनन्दित बनाउन सक्ने उनको भनाइ रहेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले प्राकृतिक संरक्षण मात्रै नभई गाउँका मानिसको जीवनस्तर उकास्नका लागि आयआर्जनका काम पनि गर्दै आएको छ।
होमस्टेका लागि कुक तालीम, लोकल जुस बनाउन लालीगुराँस, भूँइकाफल र च्यार्की जुस निर्माण तालीम पनि दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए। नविन लामिछाने/रासस





