पत्रपत्रिकामा आज : फोहोरमा फूलबारी, सफाइ कर्मचारी आफैं अस्वस्थ

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई प्राथमिकताका साथ प्रकाशित गरिएको छ ।

कान्तिपुर
–आजको कान्तिपुरले फोहोरमा फूलबारी शिर्षकमा रमेशचन्द्र अधिकारीको समाचार छापेको छ । चारैतिर हरियाली वन र मध्य भागमा कुनै कलाकारले मन लगाएर बनाएको चित्रझैं सुन्दर फूलबारी । त्यहाँ पुगेर रमाइरहेका बाह्य र आन्तरिक पर्यटकले आफू फोहोरको थुप्रोबाट सजिएको फूलबारीमाथि उभिएको छु भन्ने भेउ पाउँदैनन् ।

धनकुटा नगरपालिकाले ल्यान्डफिल साइटको फोहोर व्यवस्थापनबाट वडा नम्बर ६ स्थित सल्लेरी वनमा निर्माण गरेको फूलबारीले पछिल्लो समय हरेकको मन जित्दै गएको छ । सामान्यतया फोहोर व्यवस्थापनस्थल भन्नासाथ झिँगा भन्किएको र दुर्गन्धले वातावरणीय असर पुर्‍याएको ठाउँ भन्ने मनमा आउँछ । तर धनकुटा नगरले संकलित गरेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर फूलबारीको रूप दिएको हो । फूलबारीमा माहुरी र भँवरा मात्र होइन, चराचुरुङ्गीसमेत रमाइरहेका हुन्छन् । अवलोकनका लागि पुग्नेहरू लोभिन्छन् । फोहोर व्यवस्थापनको यो नमुनाको चर्चा देशभर फैलिएको छ । त्यो पनि बस्तीभन्दा मुस्किलले डेढ सय मिटर दूरीमा आकर्षक फूलबारीे । बस्तीभन्दा नजिक रहेर पनि नगरसँग स्थानीयवासीको कहिल्यै विवाद र अन्य झमेलाको अवस्था आएको छैन । बस्ती नजिकै यस्तै प्रकारको संकलन केन्द्र र फूलबारी बगैंचा निर्माण गरिदिन ‘डेलिगेसन’ आउने क्रम बढेको नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले बताए ।

धनकुटा नगरले २०६३ मा फोहोर व्यवस्थापनको पूर्वाधार बनाएर २०६६ देखि सल्लेरीस्थित ल्यान्डफिल साइटको काम सुरु गरेको थियो । जुन स्थल पछिल्लो समय वातावरण तथा फोहोर व्यवस्थापनप्रति चासो राख्नेका लागि सिकाइको थलो बनेको छ । ३ करोड लागतमा निर्माण गरिएको ल्यान्डफिल साइटमा फोहोर वस्तु कुहाएर बनाएको आकर्षक फूलबारीमा ४५ प्रजातिका फूल ढकमक्क छन् ।

२०६६ देखि २०७० सम्म जम्मा गरिएको फोहोरबाट कम्पोस्ट मल बनाएको स्थानलाई फूलबारीको रूप दिइएको हो । पहिलो चरणमा बनाइएको फूलबारी नमुना भएपछि अब संकलन गरिँदै आएको स्थानमा पनि फूलबारीको रूप दिन लागिएको समाचारमा उल्लेख छ ।

त्यस्तै मिचाहा प्रवृत्तिले डुबान शिर्षकमा लीला श्रेष्ठको समाचार छापिएको छ । सूर्यविनायक नगरपालिका ३, बालकोटका विष्णुराज कार्कीले हनुमन्ते खोलामै पौडी सिके । हनुमन्तेको पानी सफारकञ्चन थियो । बालुवामाथि बगेको सफा पानीमा बालकोट, थिमिका बालकदेखि युवा पौडिन रुचाउने गरेको उनी स्मरण गर्छन् । ‘त्यो दिन धेरै टिक्न सकेन, खोलाको बालुवा चोरेर सिद्धियो,’ उनले भने, ‘बढदो सहरीकरण र अव्यवस्थित ढल मिसावटले २०४८ पछि हनुमन्ते खोला फोहोर भयो ।’

जिल्लामा आधुनिक बस्ती निर्माण सुरु भयो। आधुनिक नयाँबस्ती विस्तारसँगै जग्गाको भाउ चुलियो। भाउ चुलिएकै कारण खोला किनारका जग्गा बस्ती विकासका नाममा प्लटिङ हुन थालेको उनी बताउँछन् । सूर्यविनायक र मध्यपुर थिमिको सीमा हनुमन्ते खोलाको जमिन वर्षौंदेखि विवादित छ। ब्लक कारखानाले थिमिस्थित हनुमन्ते खोलाको करिब ७ रोपनी अतिक्रमण गरी उद्योग सञ्चालन गरिरहेको छ। सूर्यविनायक र मध्यपुर थिमिका बासिन्दाबीच खोला फर्काउने विषयलाई लिएर झडप पनि हुने गरेको छ। २०७४ जेठ २६ मा जग्गाको संरक्षण तथा २०२१ सालको नक्सापासका नाममा एकपक्षले राति डोजर चलाएर हनुमन्ते खोलाको बहाव परिवर्तन गर्‍यो ।

हाल दुवै तर्फबाट खोला बगेको छ । लगातारको वर्षाका कारण खोलाको बहाव परिवर्तन भएको स्थान र साबिक स्थानबाट बगेको हुनमन्तेमा आएको बाढी बस्तीमा छिरेपछि बालकोट, थिमिलगायत स्थानमा डुबान भएको कार्कीको भनाइ छ । त्यस्तै, जग्गा व्यवसायीले हनुमन्तेको सहायक घट्टे खोला अतिक्रमण गरी ढुंगाको पर्खाल लगाएको छ ।
सूर्यविनायक नगरपालिका वडा ४, ५ र ७ (साबिक कटुञ्जे/दधिकोट/गुण्डु गाविस) को संगम स्थल घट्टे खोलाको पानी बगिरहेकै स्थानमा ढुंगाको पर्खाल लगाई प्लटिङ गरेको हो । जग्गा प्लटिङ गर्नेले नगरपालिकाको ‘भवन ईजाजत तथा नक्सापास कार्यविधि –२०७४’ को भावनाविपरीत घट्टे खोलाको बीचमै पर्खाल लगाएको छ । जग्गा प्लानिङ गर्दा सार्वजनिक जग्गा एवं साबिकका कुलो, पैनी, खोल्सा, खहरे आदिलाई कित्तामा समावेश गरी प्लटिङ गर्न पाइँदैन । खोला, खहरेका पुराना नक्सा बमोजिमको अधिकार क्षेत्र मिची प्लटिङ गर्न पाइँदैन । नगरपालिकाले घट्टे खोलामा प्लटिङ एवं संरचना निर्माण गर्दा खोलाको दायाँरबायाँ ८/८ मिटर छोड्नुपर्ने मापदण्ड तोकेको छ । मापदण्डको कार्यान्वयनमा सम्बन्धित निकाय चुप छ ।

त्यस्तै गरी नगरको मुख्य सम्पदाका रूपमा रहेको हनुमन्ते खोला फोहोर तथा अव्यवस्थित हुनुमा जर्मन प्रोजेक्ट भएको भक्तपुर नगरपालिकाका पर्यटन तथा वातावरण समिति संयोजक एवं ९ नम्बर वडाध्यक्ष रवीन्द्र ज्याख्वो बताउँछन् । उनका अनुसार नगरमा दुई चरणमा जर्मन प्रोजेक्टले काम गर्न थाल्यो । पहिलो चरण (२०२७–०३१) मा साना सम्पदा संरक्षण र ढल निकासको काम भयो ।

दोस्रो चरण (२०३२–०४४/४५)मा ‘भक्तपुर विकास परियोजना’ शीर्षकमा घररघरमा शौचालय बने । परियोजना अन्तर्गत नै पाटी, पौवा, सत्तल, बाटो मर्मतलगायतको काम भयो । खानेपानी र ढलको पाइप बिच्छ्याइयो । माथिल्लो भेग ९पूर्वी भेग० को ढल भक्तपुर–७ खंचास्थित २ वटा उपचार पोखरीमा खसाल्न थालेको उनले बताए ।

उपचार पोखरीमा प्रशोधन गरेपछि मात्र हनुमन्तेमा सफा पानी पठाउने प्रक्रिया थालियो । पश्चिम भेगबाट बग्ने ढल भक्तपुर–१ सल्लाघारी स्थित ४ वटा उपचार पोखरीमा प्रशोधन गरी हनुमन्तेमा पानी पठाउन थालेको ज्याख्वो बताउँछन् । परियोजनाले निर्माण थालेको प्रक्रिया २ देखि ३ वर्षबाट टिक्न सकेन । परियोजनाले उपचार पोखरीको प्राविधिक व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई दिन सकेन ।

‘ढलको लेभलभन्दा उपचार पोखरी माथि पर्‍यो,’ उनले भने, ‘प्राविधिक समस्याका कारण उपचार पोखरीको प्रयोग गर्न सकेन ।’ पोखरीमा जम्मा भएको ढल प्रशोधन भएपछि मात्र नदीमा पठाउनुपर्ने थियो । त्यो हुन सकेन । नगरबाट निस्किएको ढल सिधै खोलामा पुर्‍याइयो । नगरबाट निस्किएको ढल सिधै हनुमन्तेमा बग्न थाल्यो । ‘नगर सफा हुँदै गयो, नदी फोहोर भयो,’ इतिहासविद् डा।पुरुषोत्तमलोचन श्रेष्ठले भने ।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका अधिकांश क्षेत्रको ढल हनुमन्तेमा बग्छ । २०४८ बाट नै नगरको ढल हनुमन्तेमा मिसाउन थालेको मध्यपुर थिमि प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । दुई नयाँ नगरपालिका (सूर्यविनायक/चाँगुनारायण) ले ढल व्यवस्थापनको खाका तयार पार्न भ्याएको छैन । तर, साबिक गाविसहरूले पनि दुई नगरपालिकाको सिको गर्दै बस्तीबाट निस्किएको फोहोर खोला किनारामै फाल्न थालेपछि नदीरखोला दुर्गन्धित हुनुका साथै साँघुरो हुँदै गएको उनी बताउँछन् ।

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने हनुमन्ते प्लास्टिकजन्य (नकुहिने) फोहोरले भरिएको छ । ‘विदेशी प्रोजेक्ट आयो भन्दैमा दीर्घकालीन योजना नै नबनाई काम गर्‍यो,’ भक्तपुर नगरपालिका–२ ब्यासीका विष्णुकुमार बासुकलाले भने, ‘खोला माथिको मिचाहा प्रवृत्तिले डुबानरबाढी जस्ता विपद आइलाग्यो ।’ पहुँचकै भरमा मापदण्ड मिचेर संरचना निर्माण गर्नेलाई कारबाही नहुँदा मिचाहा प्रवृत्ति बढेको उनी बताउँछन् ।

चाँगुनारायण नगरपालिका महादेव पोखरी (महाभारत पर्व) हनुमन्तेको उद्गम स्थल हो भने, समागम स्थल काठमाडौं–मध्यपुर थिमि जोडिएको मनोहरामा हो । करिब साढे २३ किलोमिटर दूरी ओगटेको हनुमन्ते नदी विभिन्न कालखण्डका सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । शैव–बौद्ध सम्पदाहरूले भरिएको हनुमन्तेमा वाल्मीकिको मूर्ति पनि छ ।
वाल्मीकिको मूर्तिले हनुमन्तेको महत्त्व बढाएको इतिहासविद् डा. श्रेष्ठ बताउँछन् । हनुमन्ते किनारामा भेटिने सम्पदाका आधारमा भक्तपुरको बस्ती किरातकालतिरै समृद्ध भइसकेको प्रतीत हुने डा.श्रेष्ठले बताए । हनुमन्तेको महत्त्वलाई नबुझी नगरको ढल सिधै खोलामा मिसाउनु दुर्भाग्यपूर्ण भएको जानकारहरू बताउँछन् ।

अविरल वर्षासँगै खोलामा आएको बाढी बस्तीमा छिरेर डुबान हुँदा गत बुधबार जिल्लामा करिब ५० घर तथा टहरामा आंशिक क्षति भएको तथ्यांक महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांकमा छ । करिब ५ सय घरपरिवार आंशिक विस्थापित हुनुका साथै अन्नबाली, लत्ताकपडा लगायतका जिन्सी सामानहरू क्षति भएको प्रहरी प्रमुख एसपी हिमालयकुमार श्रेष्ठ बताए ।

जनप्रतिनिधिले स्थानीय तह सञ्चालन सुरु गरेपछि हनुमन्ते सफाइ अभियान थालेको छ, प्रभावकारी भने भएको छैन । सफाइ अभियानसँगै नदी किनारमा वृक्षरोपण गर्न (बाँस/नर्कटलगायत बिरुवा) आवश्यक छ,’ त्रिचन्द्ररख्वप कलेजका वातावरण विज्ञानका उपप्राध्यापक कमलराज गोसाईंले भने, ‘प्लास्टिक जन्य फोहोरहरूको व्यवस्थापन तथा उपचार पोखरीमा फोहोर प्रशोधन गर्न सके समाधान हुन्छ ।’ बाढी, डुबानलगायत विपद न्यूनीकरणका लागि सार्वजनिकरपर्ती जग्गाको संरक्षण, फोहोर व्यवस्थापन तथा प्रस्तावित हनुमन्ते करिडोर निर्माण आवश्यक रहेको कार्की बताउँछन् । स्थानीय तह नेतृत्व गरेका जनप्रतिनिधिले मुख्य तथा सहायक खोलाहरूको अध्ययन, गुरुयोजना निर्माण गरी करिडोर निर्माण गर्नुपर्ने स्थानीयको सुझाव रहेको समाचारमा उल्लेख छ ।

त्यसैगरी सफाइ कर्मचारी आफैं अस्वस्थ शिर्षकमा फातिमा बानुको समाचार छापिएको छ । एक किलोमिटर टाढैसम्म दुर्गन्ध फैलिने फोहोरको डगुंरमाथि घोप्टो परेकी भेटिइन् उनी । न उनको मुखमा मास्क थियो न हातमा पन्जा वा खुट्टामा सुरक्षित जुत्ता नै । ४० वर्षीया उनी एक दशकदेखि फोहोर व्यवस्थापनको काम गरिरहेकी छन् । उनी दैनिक ८ देखि १२ घण्टा फोहोरमै व्यस्त रहन्छिन् । बस्तीबाट उठाएर ल्याइएको फोहोरका पोका खोल्ने, कुहिनेरनकुहिने छुट्याउने उनको काम हो । यस्तो फोहोरमा किन माक्स नलगाई काम गरेको भनी सोध्दा उनी भन्छिन्, ‘दमको रोग छ, माक्स लगाउँदा सास फेर्न गाह्रो हुन्छ ।’

केही वर्षअघि दुर्घटनामा परेर पतिको मृत्यु भएपछि उनी फोहोरको काममा लागेकी हुन् । यही कामबाट तीन बच्चाको लालनपालन गर्छिन् । भाडाको कोठामा बस्छिन् । ८ घण्टा फोहोरमा काम गरेबापत मासिक ७ हजार रुपैयाँ तलब थाप्छिन् । भन्छिन्, ‘पाँच हजार त कोठाभाडा नै तिर्नुपर्छ, गुजारा गर्न धेरै गाह्रो छ ।’ फोहोरको काम गर्ने सुरुवाती दिनमा उनले खानासमेत खान सकिनन् । भन्छिन्, ‘बान्ता हुने र रुघा लाग्ने त सधैं भइरहन्छ, सिसा र फलामले हात पनि काट्छ ।’ काटेर गहिरो घाउ लाग्दा उनी सातासम्म काम गर्न सक्दिनन् । ज्वरो आउने, दम बढ्ने समस्याले पनि थला परिरहन्छिन् । फोहोरको कामले शरीर मैलिन्छ । दिनहुँ नुहाउनुपर्ने हुँदा जाडो मौसममा उनी बढी थला पर्छिन् ।

कामबारे घरमा छोराछोरीले सोधिरहन्छन्, उनी ढाँटिरहन्छिन् । ‘फोहोरको काम गर्ने भनेर कसैले इज्जत गर्दैन, आफ्नै बच्चाले पनि घिन मान्लान् भन्ने डर लाग्छ,’ उनी भन्छिन् । कुहिएको खाना तरकारी र हिलोदेखि उनलाई त्यति घिन लाग्दैन । तर, दिसापिसाबका पोका र रगतका प्याड छुनुपर्दा उनी घिनाउँछिन् । ‘फोहोर भन्दैमा जथाभावी गरेर नफालिदिए हुन्थ्यो, छुट्याएर फालिदिए हामीलाई सास्ती कम हुन्थ्यो,’ उनले भनिन् ।

उनीजस्तै फोहोरमै लामो समय बिताएका अर्का मजदुर छन् झापाका ५० वर्षीय एक पुरुष । उनी २० वर्षदेखि राजधानीमा फोहोरको काम गर्दै आइरहेका छन् । दैनिक बिहानै २ सय २५ घरको दैलोमा पुगेर फोहोर बोक्छन् । फोहोर छुँदा अपनाउनुपर्ने सुरक्षाबारे उनी जानकार छन् तर सुरक्षा कहिल्यै अपनाउँदैनन् । उनी भन्छन्, ‘पञ्जा लगाउँदा हातै टाठो हुँदैन, काम छिटो हुँदैन ।’ बर्खामा फोहोरको थुप्रोमा हिलो पनि मिसिन्छ, थुप्रो अझ बढी गन्हाउँछ । उनी सुरक्षित जुत्ता लगाउँदैनन् । उनी भन्छन्, ‘फोहोरमै घुँडासम्म आउने बुट भेटाएको छु, बुट लगाएर धेरै बेर काम गर्दा खुट्टामा औंला पाक्छ, गर्मी हुन्छ, त्यसैले लगाउँदिनँ ।’
फोहोरको काम गरेर उनी मासिक मुस्किलले १० हजार रुपैयाँ कमाउँछन् । उनी भन्छन्, ‘फोहोर छुन घिन लाग्दैन, हामीलाई दुव्र्यवहार गर्ने मान्छेदेखि घिन लाग्छ ।’ फोहोर उठाउँन पुग्दा कसैले फोहोरको भाँडोसमेत छुन नदिँदा उनलाई धेरै दुस्ख लाग्छ, यो कामै गर्न मन लाग्दैन । फोहोर उठाएको खर्चले मात्रै घर धान्न मुस्किल भएकाले उनी थुनिएको ढल खोल्ने, मरेको कुकुर गाड्ने काम पनि गर्दै आइरहेका समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा कर्मनासले निम्त्याउन सक्छ विनास शिर्षकमा शिवहरी घिमिरेको समाचार छापिएको छ । गत बिहीबार भक्तपुरको हनुमन्ते खोलामा बाढी आएपछि भक्तपुर डुवानमा पर्यो । खोलाको वहाव क्षेत्र अतिक्रमण भएको र कंक्रिकले खुला ठाउँ भरिँदै गएपछि सहर डुवानमा परेको विज्ञहरूले निष्कर्ष निकाले।

यस्तै अवस्था छ, कर्मनासा खोलाको पनि । त्यसकारण बेलैमा ध्यान नपुर्याए ललितपुरको हरिसिद्धि–सिलौटे हुँदै बग्ने कर्मनासा खोलाले पनि विनास निम्त्याउन सक्ने विज्ञहरू बताउँछन् । ‘कर्मनासा अतिक्रमणका कारण साँघुरिँदै गएको छ, बेलैमा ध्यान नदिए यसले पनि हनुमन्ते खोलाजस्तै समस्या ननिम्त्याउला भन्न सकिन्न,’ वातावरणविद् भूषण तुलाधर भन्छन् । उनका अनुसार उपत्यकाका विभिन्न नदी तथा खोला अतिक्रमणमा पर्दै गएका छन् । त्यसकारण यिनको तत्काल संरक्षण गर्नुपर्ने उनी बताउँछन्।

१० वर्षअघिसम्म दुई सय फिट रहेको खोलाको वहावक्षेत्र अहिले २० फिटमा झरेको छ । स्थानीय र जग्गा व्यावसायीहरूले पछिल्लो समय खोलाको वहावक्षेत्र मिचेर प्लटिङ र पर्खाल उठाउन थालेसँगै खोलाको क्षेत्रफल साघुँरो भएको हो । कतिपय ठाउँमा खोला अतिक्रमण गरेर घर समेत बनाइएको छ।

स्थानीय विकास मर्हजनले खोलाको वहावक्षेत्र अतिक्रमण गरेर युरो र सिलौटे हाउजिङले जग्गा हडप्न थालेको बताए । उनका अनुसार सरकारी निकायले ध्यान नदिँदा बर्षेनी खोला क्षेत्रमा घर बनाउने र प्लटिङ गर्नेको संख्या बढेको छ ।

पाँच वर्षअघिसम्म सुनसान रहेको क्षेत्रमा अहिले धमाधम प्लटिङ गर्ने र घर बनाउनेको संख्या बढेको छ । पानी बग्ने खोलामा घर र प्लटिङ बनाउन थालेसँगै यसले अर्को समस्या निम्त्याउन सक्ने उनको अनुमान छ । ‘बेलैमा सचेत भएनौं भने भक्तपुरको जस्तै बेहाल नहोला भन्न सकिन्न,’ उनले भने, ‘यो खोला हरिसिद्धिवासीको जीवनसँग जोडिएको छ । बाहिरबाट जग्गा किनेर आउनेहरूले खोलाको क्षेत्रफल मिचेर घर बनाउन थालेका छन्, यसले भोली बाढी नआउला भन्न सकिन्न।’

‘कर्मनासा अतिक्रमणका कारण साँघुरिँदै गएको छ, बेलैमा ध्यान नदिए यसले पनि हनुमन्ते खोलाजस्तै समस्या ननिम्त्याउला भन्न सकिन्न,’ वातावरणविद् भूषण तुलाधर भन्छन् ।
स्थानीय राधाकृष्ण महर्जन पनि हरिसिद्धि सिलौटेस्थित खानेपानीको ट्यांकीले पनि खोलाको जग्गा मिचेको बताउँछन् । ट्यांकी बनाउँदा खोलाको धार नै परिवर्तन गरिएको छ । बाङ्गोटिङ्गो रहेको खोलाको धार अहिले सिधा पारिएको छ । सिलौटेबाट सुरु भएको खोलाको जग्गामा हात्तिवनमा रहेको लिटिल एन्जल्स स्कुलले पनि मिचेको छ । उक्त खोलाको गग्गामा आफ्नो निजी भवन बनाएको छ । ‘पुरानो नक्सा अनुसार यसको चौडा दुई सय फिट छ ।

तर, अहिले नक्साविपरित धमाधम खोला क्षेत्रमा घर बनाउने, जग्गा प्लटिङ गर्ने र व्यापारिक हाउजिङ बनाउने क्रम बढेको छ,’ उनले भने, ‘यो खोला सानागाउँ, टीकाथली, इमाडोल हुँदै बग्ने गोदावरी खोलामा मिसिन्छ । हात्तिवनदेखि इमाडोलसम्म नै खोलो क्षेत्रफल साघुँरो पारिएको हो ।’ उनका अनुसार पहिले–पहिले यो क्षेत्रमा धेरै कृषि उत्पादन हुन्थ्यो । इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्बर माटो रुखो र कडा बनाएको छ । सबैले भट्टा सञ्चालन गरेपछि जग्गाको साइज पनि बिग्रिएको छ ।

प्लटिङ थालेसँगै हरिसिद्धि सिलौटेस्थित कर्मनासा खोला आसपासको करिब दुई सय रोपनी खेतीयोग्य जमिन पनि टुक्रे जग्गामा परिणत भएको छ । यो नेपालको एकमात्र दक्षिणबाट उत्तरतर्फ बग्ने खोला पनि भएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्ण पाेस्टमा फाेहाेर नदीमा लिजकाे जग्गा व्यर्थै शिर्षकमा मनिका झाकाे समाचार छापिएकाे छ । ल्याण्डफिल साइड बनाउनका लागि जनकुपर उपमहानगरपालिकाले जग्गा लिजमा लिइसके पनि फाेहाेर भने धार्मिक महत्त्वका नदीमा थुपार्ने काम भइरहेकाे छ । जनकपुर २३ विन्धी टाेल बेला भएर बग्ने दूधमती नदी फाेहाेरमैलाकाे अव्यवस्थित विसर्जनका कारण प्रदूषित हुनुका साथै थुनिन पुगेको छ ।

ल्याण्डफिल साइट व्यवस्थापनमा चासो नदेखाएका मेयर लालकिशोर साहको निर्देशनमा सफाई कर्मचारीले नगरभरिको फोहोर उठाएर नदी किनारस्थित तीन बिघा क्षेत्रफलको श्मसानघाटमा थुपार्दै आएका थिए । तीन महिनादेखि फोहोर थुपारिन थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए । उनीहरूले वडाध्यक्ष शत्रघन पाण्डेयलाई घेराउ गरी जथाभावी फोहोर फाल्ने कार्य रोक्न र शमसानघाट सफा गराउन दबाब दिएका समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार