Friday, September 27, 2024

अध्ययन बिनैै डोजरले बाटो खन्दा पहिरोको जोखिम

काठमाडाैं–बर्खायाममा गाउँघरका सडक भत्किएको, बिग्रिएको र सवारीसाधन आवागमन अवरुद्ध भएको खबर आमनागरिकका लागि नौलो होइन। गाउँका बाटोघाटो मात्र नभइ सहरी सडकसँगै कतिपय राजमार्ग पहिरो खस्दा सवारीसाधन आवगमन अवरुद्ध हुने गरेको छ। बस्तीका सिरानीमै बनेका सडकका कारण झनै जोखिम हुने गरेको छ।

ललितपुरको लेलेमा बाटो खनेको केही दिनमै पानी पर्दा पहिरो खसेपछि

मुग्लिन–नारायणगढ सडकखण्ड होस् या बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग नै किन नहोस्, पहिरोले अवरुद्ध नभएको कुनै बर्खा छैन। अघिल्लो साता मात्र मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो गएर पटकपटक अवरुद्ध भइरह्यो।

ठूला र धेरै आवतजावत गर्ने सडक या मार्गको चाँसो धेरैलाई भएपनि कुनै सीमित गाउँ मात्र पुग्ने सडकको चाँसो निकै कमलाई हुने गरेको छ। ठूलो पहिरो खसेर बाटो अबरुद्ध भए त कहिलेकाँही त महिनौ दिनसम्मै बाटो नखुलेको उदाहरण पनि छन्। भौगर्भिक अध्ययन नै नगरी जथाभावी बाटो खन्दा पहिरोको जोखिम बढ्दै गएको भुगर्भविद्हरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय भुर्गभ विभागका सहप्राध्यापक डा. सुबोध ढकालले जमिनको बनोट र माटोको अवस्था नहेरी मनलाग्दी रुपमा ‘स्काभेटर र डोजर’ प्रयोग गर्दा बर्खायाममा बढी असर गर्ने गरेको बताए। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी बजार र सदरमुकाम हेटौँडा जोड्ने सडकमा पहिरोले भेल ल्याउदा अवरुद्ध भएको छ।

पहिरोकै कारणबाट पर्वतको मालढुंगा–बेनी सडकखण्ड पनि बुधबार अबरुद्ध रह्यो। केही समय अगाडि बझाङमा अध्ययन बिनै बाटो बनाउने नाममा डोजर चलाउँदा विभिन्न ठाउँमा पहिरो जानुका साथै मानवीय क्षति पनि भयो।

पहाडी जिल्ला तेह्रथुमका विभिन्न स्थानीय तहमा अध्ययन बिना नै खनिएका सडकले बर्खाको समयमा पिरोल्ने गरेको छ। हिउँदमा बाटो बन्छ तर, बर्खामा बाटो पनि बिग्रिन्छ। पहिरो पनि झर्छ र बीच बाटोमै ठुला–ठूला कुलो पनि बन्छन्।

पहिरोले सडक अवरुद्ध गर्नुका साथै खेतबारीमा समेत क्षति गर्ने गरेको छ। डोजर लगाएर बाटो खन्दा सिंचाइका कुलो, खानेपानीका पाइप र पानीका प्राकृतिक स्रोतमा प्रभाव परेको छ।

अन्धाधुन्ध सडक खनिएकै कारण धेरै पहाडी क्षेत्रमा माथिबाट पहिरो झरेर बस्ती नै जोखीममा परेको र बस्ती स्थानान्तरण गर्र्नुुपर्ने अवस्था समेत आइरहेकोमा वातावरणविद् तथा भुगर्भविद्ले चिन्ता व्यक्त गरेका छन्।

‘हामी सडक बनाउने क्रममा डोजर भए पुग्छ भन्ने सोच्छौ,’ भुगर्भविद् दण्डपाणि अधिकारीले भने, ‘कुनै अध्ययन अनुसन्धान नगरेरै सडक बनिहाल्छ भनेर अल्पकालीन फाइदा हेर्छाै। तर, दीर्घकालमा बाटो बिग्रनुका साथै जनधनको क्षति हुन्छ भनेर ख्याल गर्दैनौं।’

पूर्ववन र वातावरण सचिव एवं वातावरणविद् कृष्णचन्द्र पौडेल पनि जुनसुकै ठाउँमा बाटो बनाउन डोजरको प्रयोग भएकोमा दुखी छन्। ‘स्थिति हेरेर डोजर चलाउनुपर्नेमा अध्ययन नगरी इन्जिनियरको सल्लाह बिना नै बाटो बनाउन हतार हुन्छ,’ उनले भने, ‘बाटो बनाउन रुखविरुवा पनि काटिन्छ, जमिनमा माटोले समातेको भागमा खलबल भएपछि पहिरोको सम्भावना हुन जान्छ।’

ताजा समाचार

सम्बन्धित समाचार