Friday, September 27, 2024

उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन पीडीए स्वीकृत

काठमाडौं–लगानी बोर्डले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने गरी परियाेजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ।

महालक्ष्मीस्थान, चक्रपथ सडकमा फाेहाेर।

पहिलो चरणमा काठमाडौं महानगरपालिकासहित उपत्यकाका १० वटा नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेस्ट प्रालि नामक निजी कम्पनीलाई दिने गरी यसअघि २३ फागुन २०७४ मा पीडीए भएको थियो।

तर, लगानी बोर्डबाट पीडीए स्वीकृत नहुँदा चार महिनादेखि प्रक्रिया अगाडि बढ्न नसकेकोमा मंगलबार प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्वीकृत गरेको हो।

नेपवेस्टले घरघरबाट फोहोर संकलन गरेर पुनःप्रयोग तथा वैकल्पिक ऊर्जाको रुपमा विकास गर्ने पीडीएमा उल्लेख छ। आयोजनाबाट प्रांगारिक मल, कच्चा तेल र ४ देखि ५ मेगावाटसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

तर, सो बापत कम्पनीले नेपाल सरकारलाई कति रोयल्टी दिने भन्नेबारे टुंगो नलाग्दा ‘नेगोशिएन’ हुन बाँकी छ। बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘पीडीए स्वीकृत भएको छ, टुंगो नलागेका विषयमा थप छलफल गरेर निर्णय लिन्छौंं।’ उनका अनुसार अब चाँडै नै वित्तीय व्यवस्थापन गरिनेछ । त्यसपछि आगामी दुई वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य छ।

परियोजनाको लागत ५ करोड डलर रहेकोमा २० वर्षको व्यावसायिक सञ्चालनपछि यो परियोजना सरकारलाई हस्तान्तरण हुने बताइएको छ ।

सम्झौता कार्यान्वयनमा आएमा अब फोहोर व्यवस्थापनबापत उपत्यकाका हरेक घरले महिनाको २ सय १९ रुपैयाँ तिर्नुपर्ने सम्झौतामा उल्लेख छ। यो शुल्क हरेक वर्ष ५ प्रतिशतका दरले बृद्धि हुँदै जानेछ। व्यवसाय तथा उद्योगको हकमा उद्योगबाट उत्पादित फोहोरको परीमाणको आधारमा शुल्क निर्धारण गरिने र हरेक वर्ष ५ प्रतिशतका दरले बढाउँदै लग्ने जनाइएको छ।

सन् २०१० देखि निरन्तर बहसमा आएको उपत्यकाको फोहोर व्यवस्थापनको कामले अहिले आएर गति लिएको हो। यो परियोजना सार्वजनिक, निजी साझेदारीमा निर्माण हुनेछ।

नेपवेस्टका प्रमुख कार्यकारी अधिकृत संगीता श्रेष्ठका अनुसार आयोजनाले उपत्यकाको फोहोर नुवाकोटको बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ मा लगेर व्यवस्थापन गर्नेछ। यद्यपी, बन्चरेडाँडा ‘ल्याण्डफिल साइट’ निर्माणको अझै टुंगो छैन। हाल काठमाडौंको फोहोर सिसडोल ‘ल्याण्डफिल साइट’ मा व्यवस्थापन गरिँदै आएको छ।

प्याकेज १ अन्तर्गत नेपवेस्टसँगको पीडीए स्वीकृत गरेको बोर्डले प्याकेज २ र ३ को लागि पनि सम्झौता गर्ने तयारी गरिरहेको छ। प्याकेज २ र ३ को लागि क्लिन भ्याली प्रालीसँग सम्झौता हुने जनाइएको छ।

प्याकेज १ अन्तरगत काठमाडौं महानगरपालिका, दक्षिणकाली, चन्द्रागिरि, नागर्जुन, तार्केश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ। प्याकेज २ मा ललितपुर महानगरपालिकासहित ललितपुरमा रहेका अन्य नगरपालिका र कीर्तिपुर नगरपालिका तथा प्याकेज ३ अन्तर्गत भक्तपुर नगरपालिकासहित भक्तपुरमा रहेका अन्य नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार