Friday, September 27, 2024

उपत्यकामा राति मात्र टिपर चलाउन पाइने नियममै अन्यौल

काठमाडौं–गृह मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य सडकमा दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाउन निर्देशन दिएपनि कार्यान्वयन फितलाे देखिएकाे छ, भने  नियममै अन्याैलता देखिएकाे छ।

गृहले २७ असारमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर चलाउन दिन निर्देशन दिएको थियो। तर,  टिपरले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो रोक लगाएर राति मात्रै चलाउने व्यवस्था गरेको बताए पनि काठमाडाैं, ललितपुर र भक्तपुरमा फरकफरक मापदण्ड लागू गरिएको छ।

भक्तपुरस्थित अरनिको राजमार्ग बाहेक अन्य स्थानमा टिपरको लागि कुनै समय नतोकिएको ट्राफिक महाशाखाले जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार साँगादेखि जडिबुटिसम्मको मुख्य सडकमा टिपरलाई राति ८ बजेदेखि ५ बजेसम्म चलाउन अनुमति दिइएको छ। ‘जिल्लाभरी नै टिपर सञ्चालनमा रोक नै लगाएको अवस्था होइन,’ उनले भने, ‘टिपर पनि आवश्यक छ तर मापदण्ड बनाएर चलाउनुपर्ने भएकाले हामी सोही अनुसार अगाडि बढ्न लागेका हौँ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र राति ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउन निर्देशन दिएपनि केही स्थानमा सो निर्णयको कार्यान्वयन हुन नसकेको सर्वसाधारणहरुले गुनासो गरेका छन्। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले चक्रपथ बाहिर भने सो नियम नलगाइएको बताए। ‘हामीले चक्रपभित्र मात्र समय तोकेका छौं,’ उनले भने, ‘कहिँ–कतै टिपरका बारेमा गुनासा या समस्या आए तुरुत नजिकको ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क  गर्नुहोला्।’

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि चक्रपथभित्र मात्र टिपर निषेध गरेको जनाएको छ। जिल्लास्थित चक्रपभित्रका सडकमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्र टिपर निषेध गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय बमोजिम टिपर चलाउने बारे निर्णय भएको हो। चक्रपथ निर्माणका लागि आवश्यक पर्ने टिपर सञ्चालन हुने उनले बताए।

चापागाँउ र भैसींपाटीमा कुद्ने टिपरलाई स्थानीयले मुल सडकमा रोक लगाइसकेका छन्। ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले जिल्लामा टिपर चलिरहेको बताए।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले टिपरको उचित व्यवस्थापन गर्ने तयारी गरिएको बताए। ‘टिपरलाई निस्तेज पारेर हटाउन खोजेका होइनौं। राति चल्दैमा सुरक्षा संवेदनशिलता बढ्ने भन्ने होइन,’ उनले भने, ‘ठाउँठाउँमा सिसि क्यामेरा छ, हामीले अनुगमन गरिरहेका हुन्छौं। ’

ट्राफिक प्रहरी महाशाखाले भने कोटेश्वरदेखि भक्तपुरको सांगासम्मको बाटोमा मात्र टिपरको समय र नियम ल्याइएको बताएको छ। महाशाखाले मंगलबारदेखि टिपर र मालबाहक गाडीका लागि गुड्ने समय छुट्याएको छ। कोटेश्वरदेखि भक्तपुरको सांगासम्मको सडकमा विहान ८ बजेदेख १२ बजेसम्म र बेलुका ३ देखि ८ बजेसम्म टिपर र मालबाहक गाडी चल्न निषेध गरिएको महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए।

महाशाखाको तथ्यांकका अनुसार पछिल्लो एक वर्षमा ४ सय २० भन्दा बढी दुर्घटना भएका छन्। काठमाडौं उपत्यकामा असार मसान्तसम्म ठूला सवारीसाधनले ५२ जनाको ज्यान लिइसकेको छ। टिपरको ठक्करबाट मात्र उपत्यकामा २२ जनाको ज्यान गएको छ।

ताजा समाचार

सम्बन्धित समाचार