काठमाडौँ – आजका पत्रपत्रिकाले वातावरणीय तथा विकास निर्माणका विभन्न मुद्दाका विषयलाई समाचार बनाएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा खेतीयोग्य जमिन मास्दै खहरे शिर्षकमा राजकुमार कार्कीको समाचार छापिएको छ । चुरे जंगलको विनाशले सिन्धुलीको कमलाखोंज र मरिन क्षेत्रमा हजारौं बिघा उर्वर भूमि बगरमा परिणत भएको छ । सुकुम्बासीका नाममा बर्सेनि बढ्दै गएको चुरे अतिक्रमण तथा काठ चोरी निकासीका कारण खहरे बढ्दै गएपछि समस्या आएको स्थानीय बासिन्दाको दाबी छ । धरान–चतरा– सिन्धुली–हेटौंडा सडक विस्तारका क्रममा चुरे क्षेत्रका हजारौं सालका रूख कटान गरिएपछि कृषकहरू थप त्रसित बनेका छन् ।
चुरे विनाशले कमलाखोंच क्षेत्रका साबिक रानीबास, निपाने, हर्षाही, टाँडी, हत्पते तथा मरिण क्षेत्रका कल्पवृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुराँसे, महादेवस्थान लगायतका एक दर्जनभन्दा बढी वडाका कृषक प्रभावित बनेका छन् । ‘वन अतिक्रमण र चोरी निकासीले वर्षातको समयमा पाखै बगेर आउने खहरेको भेलले उर्वर जमिन बगरमा परिणत भएको छ,’ निपानेका दिनेश कुँवरले भने, ‘खहरे नियन्त्रण हुन नसके उर्वरभूमि केही वर्षमै बगर बन्ने निश्चित छ ।’
जंगल विनाश गर्नुहुँदैन भन्ने स्थानीय उपभोक्तामा चेतनाको अभाव रहेको तथा समय–समयमा तस्करले अवैध रूपमा जंगल फँडानी गर्ने भएकाले समस्या झन् विकराल बन्दै गएको निपानेका कुँवरको धारणा छ । निर्माणाधीन, धरान–चतरा–सिन्धुली–हेटौंडा सडकले मेसिन प्रयोग गर्दा निस्किएको माटो तथा वाल निर्माणका लागि खनेको स्थान बग्ने खतरा उत्तिकै रहेकोसमेत कमलामाई नगरपालिका काउछेका रामहरि न्यौपाने बताउँछन् । ‘एकतर्फ माथिबाट नै बग्ने खतरा छ,’ उनले भने, ‘अर्कोतर्फ सडक निर्माण आयोजनाले समेत मेसिन प्रयोग चाहिनेभन्दा बढी गरेकाले धान खेत स्वाहा हुने सम्भावना छ ।’ ठूलो आयोजना भएकाले चुरे खहरेमा सतर्कता अपनाएर कृषकलाई राहत प्रदान गर्न न्यौपानेले माग गरेको समाचारमा उल्लेख छ ।
त्यस्तै मकवानपुरमा पुनर्निर्माण सुस्त शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ । भूकम्पले घर भत्काएको ३८ महिना बितिसक्दा पनि मकवानपुरका २८ प्रतिशत भूकम्पपीडिले मात्र घर निर्माण गरेका छन् । ४९ प्रतिशत लाभग्राहीेको भवन निर्माणाधीन अवस्था छन् । मकवानपुरका कुल लाभग्राहीमध्ये ७ हजार ८ सय ३५ भूकम्पीडितले निजी घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई हेटौंडाका इन्जिनियर रविन पाठकले बताए । ‘१६ हजार ५६ लाभग्राहीले दोस्रो किस्ता लगेर घर युद्धस्तरमा बनाइरहेका छन्,’ उनले भने । सरकारले दोस्रो किस्ता अनुदान माग गर्न असार मसान्तसम्मको समय तोकेको छ ।
दोस्रो किस्ताका लागि अनुदान माग गरेर आइतबार र सोमबार बढीमा ५० निवेदन पर्ने अनुमान गरिएको जिल्ला अनुदान व्यवस्थापन इकाई प्रमुख सोमनाथ तिमल्सिनाले बताए । उनका अनुसार गुनासो फस्र्योट भएर थपिएकासहित मकवानपुरमा ३३ हजार २ सय ६६ लाभग्राही छन् । तीमध्ये अनुदान सम्झौता २५ हजार २ सय ४३ सँग भइसकेको छ । अनुदान सम्झौता भएकामध्ये पहिलो किस्ता २४ हजार २ सय ४ लाभग्राहीले बुझेका छन् । घरको जग हालेर दोश्रो किस्ता १६ हजार ५६ लाभग्राहीले लगेका छन् । दोस्रो किस्ताका लागि निवेदनसहित माग गर्ने समय सोमबारसम्म मात्र छ । तेस्रो किस्ता ७ हजार ९ सय ४८ लाभग्राहीले बुझेका छन् । जिल्लाको थाहा नगरपालिकामा पर्ने टिस्टुङ र आग्रामा टियर फन्डको सहयोगमा राडो नेपालले ६ सय वटा घर निर्माण गरिसकेको छ । त्यसैगरी अमेरिकन रेडक्रसको सहयोगमा रेडक्रस मकवानपुरले कैलाश गाउँपालिकाको गोगनेमा ६ सय घर निर्माण गरिरहेको छ । ३ सयभन्दा बढी घर निर्माण गरेर लाभग्राही बसिसकेका समाचारमा उल्लेख छ ।
त्यसैगरी थुप्रियो फोहोर शिर्षकमा अर्को समाचार छापिएको छ । ललितपुर र काठमाडौं महानगरपालिकाका चोकचोकमा फोहोर थुप्रिन थालेको छ । नुवाकोटस्थित ल्यान्डफिल्ड साइट सिसडोल ओभरलोडले पर्खाल भत्किएपछि समस्या भएको हो । २ वर्षअघि पनि साइटमा भासिएर समस्या भएको थियो । ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले पनि साइट भरिसकेकाले सरकारले चाँडो व्यवस्थापनमा चासो दिनुपर्ने बताए ।
काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की भन्छन्, ‘महानगरपालिकाको काम फोहोर संकलन गर्नु हो । नुवाकोट महानगरपालिकाअन्तर्गत पर्दैन । ल्यान्डफिल्ड साइट बनाउने काम केन्द्रीय सरकारको हो ।’ उनले महानगरपालिकाले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गर्दै आइरहेको बताए ।
‘यस्तै स्थिति रहिरहे ५ महिनापछि उपत्यकामा फोहोरको दुर्गन्धले बस्नै नसक्ने अवस्था आउनेछ,’ उनले भने, ‘हामीले फोहोरका गाडी सकेसम्म पठाइरहेका छौं ।’ उनले बन्चरेडाँडाको पूर्वाधार तयार भइनसकेकाले फोहोर व्यवस्थापनमा केही समय लाग्ने बताए । ‘सिसडोलमा फेरि पनि फोहोर फालेमा दुर्घटना हुने खतरा रहेको प्राविधिक रिपोर्ट छ,’ उनले भने, ‘केही अनर्थ भएमा महानगरपालिकाले जिम्मा लिन सक्दैन ।’
महानगरपालिकाले सिसडोलमा २०६२ देखि फोहोर फाल्दै आएको छ । तीन वर्षका लागि भनिएको साइट १० वर्ष चलाइसकेको छ । ललितपुर र काठमाडौं महानगरपालिकाका अनुसार सरकारले साइट भरिएपछि सिसडोलभन्दा २ किमि पर नुवाकोट र धादिङको सिमानामा बन्चरेडाँडामा आधुनिक फोहोर फाल्ने ठाउँ बनाउने घोषणा गरेका थिए । तर, व्यवस्थापनमा चासो नदिँदा पटक–पटक समस्या आउने गरेको दुवै महानगरपालिकाको भनाइरहेको समाचारमा जनाइएको छ ।
नयाँ पत्रिका
– आजको नयाँ पत्रिकामा सप्तकोशीमा पानीको बहाव बढ्यो शिर्षकमा देबेन्द्र कार्कीको समाचार छापिएको छ । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । आइतबार पानीको बहाव २ लाख २२ हजार ६ सय २५ क्युसेक प्रतिसेकेण्ड रहेको कोशी व्यारेव कन्ट्रोल रुमले जनाएको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोशीमा वहाव बढेको हो । उक्त बहाव यो वर्षकै उच्च भएको कन्ट्रोल रुमले जनाएको छ । ३ दिनदेखि रातो बत्ति बालिएको छ ।
नदीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि एक साइडमा रातो बत्ति बाल्ने गरिन्छ । कोशीमा एउटा रातो बत्ति बालिनुलाई पानीको सतह बढेको प्रारम्भिक सूचक मान्ने गरिन्छ । नदीमा बालुवा थुप्रिएको हुनाले हाल ७ लाख क्युसेक बहाव धान्ने अवस्थामा रहेको कोशीमा ४ लाखको हाराहारीमा वहाव पुगेको अवस्थालाई खतरा मानिँदै आएको छ।
कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको प्रहरीले जनाएको छ । शनिबार २३ ढोका खुलाईएको थियो । कन्ट्रोल रुमका अनुसार शनिबार साँझ कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो ।
स्थानीयका अनुसार मौसम विभागले चतराको नयाँ पुल नजिक पानीको बहावबारे जानकारी दिने अत्याधुनिक राडार उपकरण जडान गरिएको छ । त्यो सूचना सिधै मौसम पूर्वानुमान शाखा काठमाडौंलाई जाने गरेको समाचारमा उल्लेख छ।
त्यस्तै पुरातत्व विभागले सुरु गर्यो मुसिकोट दरबार संरक्षण शिर्षकमा मनीष खड्काको समाचार छापिएको छ । पुरातत्व विभागले मुसिकोट–४ मा अवस्थित मुसिकोट दरबारको संरक्षण सुरु गरेको छ । विभागले चालू आर्थिक वर्षमा दरबार वरीपरि बाटो निर्माण गरेको छ । दरबारको चारैतिर अवलोकन गर्न सहज होस् भनेर यस वर्षका लागि विनियोजित रकमबाट दुई सय ५० फिट लामो बाटो निर्माण गरिएको विभागले जनाएको छ ।दरबारक्षेत्र अवलोकनका लागि चारैतिर दुई सय ५० फिट लामो बाटो निर्माण गरिएको छ।
पाँच फिट चौडा रहेको सडकको दुवै छेउमा नौ इन्च मोटो वाल निर्माण गरिएको छ । यस वर्ष १० लाख रुपैयाँबाट दरबार क्षेत्र संरक्षणको काम सुरु गरिएको पुरातत्व विभागका सबइन्जिनियर नवीन शर्माले जानकारी दिए । मुसिकोट डाँडाका नामले परिचित मुसिकोट दरबारको संरक्षण थालिएपछि दरबार क्षेत्रको मुहार फेरिएको छ । एक वर्षअघिसम्म एउटा मन्दिर मात्र रहेको दरबार क्षेत्रमा अहिले धेरै संरचना निर्माण भएका छन् ।
तत्कालीन जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, मुसिकोट दरबार संरक्षण समिति, पुरातत्व विभागलगायतका निकायबाट दरबार संरक्षणको प्रयास थालिएको हो । दरबार संरक्षणको काम सुरु भएपछि आन्तरिक पर्यटकको संख्यामा समेत वृद्धि भएको छ ।
गएको भदौ २० गतेदेखि हालसम्म ६ हजार दुई सय ३० जनाले मुसिकोट दरबारको अवलोकन गरेका छन् । यस अवधिमा मुसिकोट दरबारले सबा एक लाख रुपैयाँ आम्दानी गरेको छ । अवलोकनका लागि आएका पर्यटकबाट प्रवेश शुल्कबापत एक लाख २४ हजार ६ सय रुपैयाँ संकलन भएको दरबार क्षेत्र संरक्षण समितिले जनाएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा आवास निर्माण अनुदानमा २१ अर्ब शिर्षकमा ध्रुव दगालको समाचार छापिएको छ । बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा पीडितका आवास (घर) निर्माणमा हालसम्म २१ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।
सरकार र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उपलब्ध गराएको आवास निर्माण अनुदानमा उक्त रकम खर्च भएको हो।
सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला आयोजना कार्यान्वयन एकाइ (डिएलपिआइयु) प्रमुख टंक कार्कीले निर्मित संरचनाका आधारमा पहिलो, दोस्रो र तेस्रो गरी तीन किस्तामा पीडितलाई हालसम्म २१ अर्ब ११ करोड ७३ लाख ५० हजार अनुदान निकासा भएको बताए । उनका अनुसार पुनर्निर्माण अभियान सुरु भएपछिको दुई वर्षमा उक्त रकम खर्च भएको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अख्तियारीका आधारममा डिएलपिआइयुको प्राविधिक जाँचपछि जिल्ला समन्वय समितिले पीडितलाई दोस्रो र तेस्रो किस्ता अनुदान उपलब्ध गराउँदै आएको छ । अनुदान सम्झौता गर्ने सबै पीडितलाई प्राधिकरणले घरको जग खन्न समन्वय समितिमार्फत नै पहिलो किस्ता उपलब्ध गराएको थियो ।
भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते पुनर्निर्माण अभियान थालिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले भूकम्बाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकबाटै अभियान आरम्भ गरेका थिए । पीडितले घडेरी खार्न र जग खन्न पहिलो किस्तामा ५० हजार, त्यसपछि छानो तहसम्मको संरचना निर्माण गर्न दोस्रो किस्तामा डेढ लाख र छानो छाउन अन्तिम अर्थात तेस्रो किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँदै आएको समाचारमा छ ।
त्यस्तै फोहोरमय राजधानी शिर्षकमा खिलक बुढाथोकीको समाचार छापिएको छ । छि…कस्तो फोहोर ! दुर्गन्ध पनि खपिसक्नु छैन ।’ यतीबेला उपत्यकावासीको मुखबाट निस्किरहेको आवाज हो यो । सडकका पेटी, टोलका चोक मात्रै होइन्, घरमै पनि फोहोरको डंगुर छ।
नाक थुनेर हिड्डुल गर्नपर्ने बाध्यता छ । अर्कोतिर, फोहोरको कारण रोग उब्जिएर फैलिएला भन्ने चिन्ता उपत्यकावासीमा परेको छ। वर्षा याममा फोहोर किटाणुका कारण हैजा झाडापखाला, आउँ लगायतका संक्रमण हुने स्वास्थ्यकर्मी बताउँछन्। विडम्बना! सहर सरसफाइको जिम्मा पाएका स्थानीय तह फोहोर फ्याँक्ने ठाउँ नभएको भन्दै चुपचाप छन् । घरमा फोहोर दुर्गन्धित भएपछि सडकमै फोहोर फ्याँक्दा सवारी आवतजावतमा समेत असर पर्न थालेको छ ।
जोरपाटी, चावहिल, बागबजार, प्रदशनीमार्ग, मंगलबजार, ग्वार्को लगायतका मुल सडकमा फोहोर थुपारिएर राखिएको छ। तर, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित उपत्यकाका स्थानीय तह प्रभावकारी रुपमा फोहोर उठाउन सकेका छैनन् । नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल्ड साइट जाने सडक विग्रिएको भन्दै पन्छिरहेका छन्।
असार १८ देखि २३ गतेसम्म ६ दिन पहिरोका कारण फोहोर उठेको थिएन् । त्यसपछि स्थानीयबीच विवाद भएर फोहोर रोकियो । अहिले सडकको अवस्था राम्रो नभएको भन्दै नियमित रुपमा उठ्नुपर्ने जसरी फोहोर उठेको छैन् । ‘सिसडोलको सडक विग्रिएपछि नियमित जसरी हप्ता दिनदेखि फोहोर उठाउन सकेका छैनौं,’ ललितपुर महानगरपालिकाका प्रवक्ता राजुमान महर्जनले भने, ‘सडक बनाएपछि भने नियमित रुपमा फोहोर उठ्ने छ ।’
उनका अनुसार नगरपालिकाले उठाउने फोहोर भने सिसडोल नपठाएपनि नियमिति उठाइरहेको छ । काठमाडौं महानगर तथा ललितपुर महानगरले सबस्टेसनमा लगेर फोहोर स्टोर गरेको छ । तर, निजी क्षेत्रका केही कम्पनीले उठाउने फोहोर भने सिसडोल रोकिँदा उठाउँदैनन् । जसले गर्दा सडकमा फोहोर हुने गरेको उनले बताए । नीजि क्षेत्रले उठाउने ठाउँको फोहोर स्टोर गर्ने ठाउँ नहुँदा भने सहरका टोलटोलमा फोहोर नउठिरहेको छ । जसले गर्दा यतीबेला राजधानी फोहोरमय बनेको समाचारमा उल्लेख छ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा अझै फोहोर उठेन, राजधानीवासी सकसमा शिर्षकमा ईश्वरराज ढकालको समाचार छापिएको छ । उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ । वर्षात्का कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन ।
उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ ।
सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको कामपा वातावरण विभागले जनाएको छ । फाहोर उठिरहेको दाबी गरे तापनि दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन । कामपाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । चिकित्सकहरुले अहिलेको अवस्था केहीदिन रहे राजधानीमा हैजा फैलन सक्ने चेतावनी दिएका छन ।
अहिले उपत्यकाका १८ स्थानीयसहित बनेपा नगरपालिका र ककनी गाउँपालिका गरी २० स्थानीय निकायको फोहोर सिसडोलमै व्यवस्थापन हुने गरेको छ । सिसडोल ल्यान्डफिल साइटमा काठमाडौ र ललितपुर महानगरपालिका, चन्द्रागिरी, दक्षिणकाली, नगरकोट, सूर्यविनायक, बूढानीलकण्ठ, कीर्तिपुर, शंकरापुर, नागार्जुन, कागेश्वरी मनहरा, गोकर्णेश्वर, तारकेश्वर, चाँगुनारायण, मध्यपुर थिमी, महालक्ष्मी, टोखा, गोदावरी नगरपालिकाको फोहोर व्यवथापन हुने गरेको छ ।
कÞरिब ५० मिटर उचाइसम्म फोहोर माथि नै निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटको प्रवेश मार्ग वर्षात् र फोहोरको अत्यधिक भारले भासिएको छ ।
‘कहिले बोरा हाल्दै त कहिले ग्राबेल बिच्छ्याउँदै फोहोर व्यवस्थापन गर्ने गरेका छौं’ –कामपाका सहप्रवक्ता नमराज ढकालले भने । उनका अनुसार उपत्यकाको फोहोर व्यवस्थापन हुन अझै केही दिन लाग्नेछ । फोहोरको कारण टेकु ट्रान्सफर स्टेसन भरिभराउ छ भने टेकु क्षेत्र दुर्गन्धित भएपछि स्थानीयले विरोध जनाउन थालेका छन् ।
उपत्यकाको एक मात्र ल्यान्डफिल साइट भएको कारण फोहोर व्यवस्थापनमा गम्भीर समस्या पर्न थालेको कामपाले जनाएको छ । ल्यान्डफिल साइटको प्रवेशद्वारबाहेक सिसडोल जाने बाटोको करिब आधा दर्जन स्थानमा खाल्डो परेको छ । कामपाले आंशिक रुपमा केही मुख्य सडकको फोहोर व्यवस्थापन गरे पनि निजी क्षेत्रले फाहोर उठाउन सकेको नसकेको समाचारमा उल्लेख छ ।





