Friday, September 27, 2024

चक्रपथमा त्रुटि : वृक्षरोपण पनि गर्न नमिल्ने !

काठमाडौं–चिनियाँ सहयोगमा निर्माणधीन  चक्रपथ अन्तर्गतकाे कोटेश्वर–कलंकी सडकखण्डमा वृक्षरोपण गर्न नमिल्ने भएको छ।

वन अनुसन्धान तथा सर्वेक्षण विभागको एक टोलीले असार २० गते गरेकाे अनुगमनले कोटेश्वर–कलंकी सडकको बीच भागमा रहेका दुई डिभाइडरमा वृक्षरोपण गर्न नमिल्ने निस्कर्ष निकालेकाे हाे। ‘स्वच्छ वातावरण महाभियान, २०७५’ अन्तर्गत साउन १८ गतेभित्रै कोटेश्वर-कलंकी सडकखण्डमा वृक्षरोपण गर्ने भनिएकाे थियाे।

तर, वृक्षरोपण गर्नुपर्ने डिभाडरमा ब्लकहरू राखेर चिटिक्क पारिएकाले वृक्षराेपण गर्न नमिलेकाे विभागका उपमहानिर्देशक डा.यज्ञनाथ दाहालले जानकारी दिए। उपमहानिर्देशक दाहालले कोटेश्वर–कलंकी सडकको डिभाइडरमा ब्लक राख्ने काम भैसकेको र कतै भैरहेकोले वृक्षरोपण गर्न नमिल्ने निस्कर्ष विभागले निकालेको बताए।

चक्रपथमा वृक्षराेपण गर्न हाल बनाइएका ब्लक भत्काउनु पर्ने भएपनि त्यसका लागि विभागसँग बजेट नरहेकाे उनले बताए। विभागले सो सडकमा रहेका दुई डिभाइडरमा ठूला गमलामा बाह्रै महिना हरियाली हुने विरुवा, फूल तथा जमिनमा चाइँनिज दुबो रोप्ने योजना बनाएको थियो।

‘चक्रपथ निर्माण हुँदा समन्वय भएन जसले गर्दा ग्रीन बेल्ट मासिएको हो,’ उनले भने, ‘विभागको अनुगमनले निकोलेको निष्कर्षबारे मन्त्रालयमा पनि जानकारी गराएका छौं।’ उनले मुख्य सडक र सर्भिस लेनको बीचमा रहेका दुई डिभाइडरमा राखिएको ब्लक हटाए मात्र वृक्षरोपणको अगाडि बढाउन सकिने बताए।

सन् २०१३ मा सुरु भएको काठमाडौं उपत्यकाको चक्रपथ सुधार परियोजनाकाे बल्खु–काेटेश्वरखण्ड मात्र सम्पन्न भएकाे छ। बल्खुदेखि कलंकी जाेड्ने अन्डरपासकाे निर्माण अन्तिम चरणमा छ।

चक्रपथकाे दुरी करीब साढे २७ किलोमिटर हाे।  जसमध्य स्तराेन्नति भएकाे कोटेश्वर–कलंकी सडकको ‘ड्रइङ एन्ड डिजाइन’ मै त्रुटि हुँदा वृक्षराेपण गर्न नमिल्ने बनेकाे छ। पहिलाको चक्रपथमा दायाँबायाँ २० मिटरको ग्रीन बेल्ट थियो, चक्रपथ विस्तार गर्ने क्रममा १२ सयभन्दा बढी रूख काटिएका थिए।

वातावरणविद भुषण तुलाधर निर्माणधीन चक्रपथमा रोपेर हरियाली बनाउने ठाउँ नै नभएको बताउँछन्। ‘बाटोको किनाराको वा सडकको डिभाइडरमा रूखविरुवा नरोप्दा शहरको सौन्दर्यमा त कमी आउने नै भयो, वायु प्रदूषण पनि बढ्छ,’ उनले भने।

बाटोको किनारामा हुने रूखले २५ प्रतिशतसम्म वायु प्रदूषण कम गर्न विभिन्न अध्ययनहरुले देखाएको उनी बताउँछन्। ‘चौडा बाटोमा वृक्षरोपण गरी वायु प्रदूषण कम गर्न हामीसँग मौका थियो तर त्यो हामीले गुमायौं,’ तुलाधरले भने।

सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ चिनियाँ कम्पनीले सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि मात्र वृक्षरोपण गर्न सकिने बताउँछन्। सडक हस्तान्तरणपछि त्रुटि सच्चाइने भएकाले अहिले बोटविरुवा रोप्न नसकिने उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार