काठमाडौँ– नेपालको कुल भुभागमध्ये १२ हजार हेक्टर जमिनमा व्यवसायिक चिया खेती हुने गरेको पाइएको छ। केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको संयुक्त सर्वेक्षणले उक्त तथ्यांक देखाएको हो।
देशका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यावसायिकरुपले चिया खेती गरेको पाइएको छ । इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग, संखुवासभा, भोजपुर, मोरङ्ग, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा गरी १२ हजार ७२ दशमलव ९ हेक्टर जमिनमा चिया खेती हुने गरेको छ । जसबाट वार्षिक १० करोड ८१ हजार केजी हरियो पत्ती उत्पादन हुँदै आएको तथ्यांकले देखाएको छ ।

२०७४ वैशाख १ गतेदेखि २०७४ चैत मसान्त सम्म गरिएको उक्त सर्वेक्षणका अनुसार तेह्रथुममा ११६.७ हेक्टर जमिनमा १ लाख ५१ हजार केजी चिया उत्पादन हुने गरेको छ । धनकुटामा १५९.७ हेक्टर जमिनमा ३ लाख ९ हजार, पाँचथरमा ६७४.५ हेक्टर जमिनमा ७ लाख ६५ हजार, इलाममा ३३९३.२ हेक्टर जमिनमा १ करोड ५९ लाख ७१ हजार र झापामा सबैभन्दा धेरै ७१९५.२ हेक्टर जमिनमा ८ करोड २५ लाख १७ हजार केजी चिया उत्पादन हुँदै आएको छ । साथै देशका अन्य विभिन्न जिल्लाहरूमा ५२७.३ हेक्टर जमिनमा ३ लाख ६८ हजार केजी चिया बर्सेनी उत्पादन हुने गरेको छ ।
न्यून मात्रामा प्रशोधन
देशभर ११ करोड केजी हरियो पत्ती चिया उत्पादन भएपनि न्यून मात्रामा प्रशोधन हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक शेषकान्त गौतमका अनुसार कूल उत्पादन हुने हरियो पत्तीमध्ये साढे २ करोड मात्र प्रशोधित हुने गरेको छ । २ करोड २२ लाख केजी मात्र प्रशोधित चिया उत्पादन हुने उनको भनाई छ ।
आधाभन्दा बढी निर्यात
बोर्डका अनुसार नेपालमा उत्पादन भएका प्रशोधित चिया मध्ये ५५ प्रतिशत बाहिरी मुलुकमा निर्यात हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक गौतम देशमा उत्पादन हुने कुल प्रशोधित चिया मध्ये ४५ प्रतिशत मात्र स्वदेशमै प्रयोग हुने र ५५ प्रतिशत अन्य मुलुकमा निर्यात हुने गरेको बताउँछन् । त्यस्तै देशमा ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको उनको भनाई छ । ‘नेपालमा ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुन्छ । यसको ९० प्रतिशत भारतलगायत तेश्रो मुलुकमा निर्यात हुने गरेको छ’ उनले भने ।
३ हजारलाई स्थायी र ३० लाखलाई अस्थायी रोजगारी
सर्वेक्षणका अनुसार देशभर चिया खेती र उद्योगमा १८ हजार १ सय ८० जना संलग्न रहेका छन् भने ३ हजार २ सय ४४ जनाले स्थायी रुपमा रोजगारी पाएका छन् । जसमा पुरुष १ हजार ९ सय १७ र महिला १ हजार ३ सय २७ जना रहेको देखिन्छ । त्यस्तै ३० लाख ९५ हजार २ सय ८४ व्यक्तिले अस्थायी रुपमा चिया खेती र उद्योगबाट आफ्नो जीवनयापन गरिरहेका छन् ।
नेपालमा चिया खेतीको इतिहास
नेपालमा चिया खेतीको शुरुवात जंगबहादुर राणाको पालाबाट भएको हो । वि.सं. १९२० मा तत्कालिन प्रधानमन्त्री राणा चीन भ्रमणमा जाँदा चिनियाँ सम्राटबाट उपहारस्वरुप चियाको बीउ पाएका थिए । चिनिया सम्राटबाट उपहार स्वरुप प्राप्त उक्त बीउ रोप्न प्रधानमन्त्री राणाले आफ्ना ज्वाइँ गजराज सिंहलाई आदेश दिएपछि वि.सं. १९२०मा इलाममा पहिलोपटक चिया रोपेर चिया खेतीको सुरु गरिएको थियो । त्यसको दुई वर्षपछि झापामा पनि चिया खेती गर्न थालियो ।
तर शुरुवाती अवस्थामा चिया उद्योग त्यति फस्टाउन नसकेको जानकारहरू बताउँछन् । सोही समयमा, ब्रिटिस सरकारको इष्ट इन्डिया कम्पनीमार्फत दार्जिलिङ्गको घेरै पहाडी भूभागहरूमा चिया खेती सुरु भै सकेको थियो । दार्जिलिङमा भने चिया खेती र उद्योगले विस्तारै सफलता प्राप्त गर्दै थियो ।
जहाँनिया राणशासनमा फस्टाउन नसकेको चिया खेती विं.सं २००७ सालमा प्रजातन्त्र आएपछि केही मौलाउन थाल्यो । प्रजातन्त्रपछि नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया खेती तथा उद्योगमा पर्यो ।
त्यसपश्चात २०१६ सालमा झापाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो भने सरकारी स्तरमा पनि २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।
विं.सं. २०३५ सालमा इलाममा पहिलो पटक चिया प्रशोधन कारखाना स्थापना भएसँगै दार्जिलिङलाई हरियो पत्ती बेच्नुपर्ने बाध्यता हट्यो ।
२०३५ साल पश्चात नेपालमा चिया उद्योगले गति लिँदै नाफामूलक व्यवसायको रुपमा परिणत हुँदै गएको पाइन्छ। यसलाई मध्येनजर गर्दै २०३९ सालमा तत्कालिन राजा विरेन्द्र विर विक्रम शाहले पूर्वाञ्चलका ५ जिल्लाहरू, झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्रको रुपमा घोषणा गरे।
त्यसपछि वि.संं. २०५० जेठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापन भयो र उक्त बोर्ड अहिलेसम्म पनि देशमा उत्पादन हुने चिया तथा कफीलाई अन्तराष्ट्रियकरण गर्न मद्दत पुर्याइरहेको छ ।





