पत्रपत्रिकामा आज : बिचौलियाका कारण बालुवा महँगो, सामान्य बाढी पनि थेग्न सक्दैनन् बाँध

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
–आजको कान्तिपुरमा बिचौलियाका कारण बालुवा महँगो शिर्षकमा हरिहरसिंह राठौरको समाचार छापिएको छ । काठमाडौँको मनमैँजुमा घर बनाउँदै गरेका धादिङ रायोटारका बालकृष्ण अधिकारीले यसै साता ३ टिपर बालुवा मगाए । नियमित बालुवा बोक्ने टिपर चालकमार्फत मगाएको बालुवा उसै दिन निर्माणस्थलमै पुग्यो । ‘बालुवा कहाँबाट ल्याए त थाहा भएन, तर एक टिपर बालुवाको मैले ३५ हजार तिरे ।’ अधिकारीले भने, ‘घर बनाउन थालेको ३ महिनाको अवधिमा ३० हजार रुपैयाँदेखि ३५ हजारको दरले एक टिपर बालुवा खरिद गर्ने गरेको छु ।’

काठमाडाैँका उपभोक्ताले ३५ हजार रुपैयाँसम्म तिर्ने चिसो बालुवा पृथ्वीराजमार्ग छेउको त्रिशूली किनारमा मजदुरले भने ७ हजारका दरले बिचौलियालाई बेच्छन् । मजदुरदेखि उपभोक्तासम्म पुग्दा विभिन्न तहका बिचौलियाका कारण बालुवाको भाउले उपभोक्ताको ढाड सेक्ने गरेको छ । तर उर्लंदो भेलमा ज्यान जोखिममा राखेर दिनभर बालुवा झिक्ने मजदुरको श्रमले भने उचित मूल्य पाएका छैनन् । मापदण्डविपरीत सञ्चालित बालुवा प्रशोधन केन्द्र ९फिरफिरे० बन्द हुने र खुल्ने क्रमसँगै बिचौलियाहरू नदीको बालुवामा बेच्नमा सक्रिय भएका हुन् ।

बालुवाको भाउ आकासिएपछि गल्छी गाउँपालिकाले जिल्ला प्रशासन तथा जिल्ला समन्वय समितिको समन्वयमा मजदुरले निकालेको बालुवाको प्रतिटिपर १२ हजार रुपैयाँभन्दा बढीमा उपभोक्तालाई बेच्न नपाइने नियम बनाएको गल्छी गाउँपालिकाप प्रमुख कृष्णहरि श्रेष्ठले बताए । धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले प्रहरी प्रशासन बिचौलिया नियन्त्रणमा क्रियाशील रहेका जनाए । उनले भने, ‘मजदुरहरू मर्कामा परेको गुनासो आएपछि प्रहरी परिचालन गरी बिचौलिया नियन्त्रण गर्न लागि परेका छौं ।’ गतसाता स्थानीय बालुवा ठेकेदार टंक भण्डारीसहित ५ जनालाई बालुवाको कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । तर पनि बिचौलियाको बिगबिगी भने कायमै रहेको समाचारमा उल्लेख छ ।

त्यस्तै पहिरोले घेरियो बस्ती शिर्षकमा अर्को समाचार छापिएको छ । अविरल वर्षाका कारण जिल्लाको नौकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोले २ घरमा क्षति पुगेको छ भने करिब १ सय ७० घर जोखिममा छन् ।

वडा नम्बर ४ भन्ज्याङडाँडामा वीरबहादुर विकको घर पूरै र पोडे गुम्बु तामाङको घर आधा पुरिएको स्थानीय नेमादोर्जे तामाङले बताए । ‘१० थप घर जोखिममा छन्,’ उनले भने, ‘५ परिवार सुरक्षित स्थानमा गइसके ।’ खाना खाने समयमा पहिरो आएकाले भागेर ज्यान जोगाएको विकले बताए । ‘पूरै घरमा क्षति पुगेको छ,’ उनले भने, ‘अन्नपात र लताकपडा पनि निकाल्न सकिएन ।’ वडा नम्बर २ का १ सय २० घरधुरी पहिरोको उच्च जोखिममा छन् । शुक्रबार राति अविरल वर्षासँगै पहिरो गएपछि स्थानीय बासिन्दा त्रासमा रहेको गणेश तामाङले बताए । ‘गाउँको दायाँ–बायाँ र बीच भागबाट पहिरो गएको छ,’ उनले भने, ‘करिब २ सय रोपनी जग्गामा लगाएको मकै, कोदो र आलु बगाएको छ ।’ स्थानीय विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार शुक्रबार राति गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको छ । भन्ज्याङडाँडा, युब्रा र देउरालीडाँडा र साँगाचौरमा पहिरो गएको गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताइन् । ‘देउरालीडाँडा र साँगाचौरमा करिब ४० घर जोखिममा छन्,’ उनले भनिन् ।

नुवाकोटमा पनि पहिरोले विदुर नगरपालिका–२ धरमपानीका १४ घर जोखिममा परेका छन् । अविरल वर्षापछि बस्तीमुनिबाट गएको पहिरोले मकैसहितको बारी बगाएको छ । घरसम्म पहिरो आइनपुगोस् भनेर स्थानीयले प्लास्टिकका पालले जमिन छोपेका छन् । उनीहरू राति भैरवी माविको कोठामा बस्ने गरेका छन् । ‘राति घर बस्न सकिँदैन, कतिखेर पहिरो आउने हो थाहा हुन्न,’ बद्री कसाईले भने, ‘पर विद्यालयको कोठामा बसेका छौँ ।’ पानी पर्न थालेपछि पहिरोले बगाउने चिन्तामा घरमा सुत्न नसकेको रामहरि खड्गीले बताए । ‘अन्त जग्गा छैन,’ उनले भने, ‘भएको जग्गामा पहिरो आएको छ ।’ उनीहरू दिउँसो पहिरो गएका ठाउँ वरिपरि काममा खटिए पनि सुत्नचाहिँ छिटोछिटो खाना खाएर स्कुल जाने गरेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा रुख कटान नहँदा महाविद्यालय प्रभावित शिर्षकमा कृष्ण सारु मगरले समाचार लेखेका छन् । नेपाल–भारत सरकारको दुई दशकको प्रयासपछि हेटौंडा–७ मा बन्न लागेको बहुप्राविधिक महाविद्यालय निर्माण रूख कटना नहुँदा प्रभावित भएको छ । भारत सरकारले एक वर्षअघि महाविद्यालय निर्माणको टेन्डर निकालेको थियो । ३८ करोड ५० लाख भारतीय रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी भारत सरकारले ६ महिनाअघि टेण्डरमार्फत निर्माण कम्पनी पनि छनोट गरिसकेको छ ।

तर, एक दशकअघि तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआए) अनुसार गरिएको सम्झौतामा भन्दा बढी रूख काट्नुपर्ने भएपछि महाविद्यालयको काम अघि बढ्न नसकेको हो । चित्रपानी सामुदायिक वनअन्तर्गत साढे २६ बिघा जमिनमा ६ सय ५० वटा रूख काट्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, अहिले रूखको संख्या बढेर उक्त क्षेत्रमा दुई हजार तीन सय ५१ वटा रूख कटान गर्नुपर्ने भएको जिल्ला वन अधिकृत प्रल्हाद धितालले बताए । ‘सम्झौतामा उल्लेख भएभन्दा धेरै रूख कटान गर्नुपर्ने भएपछि थप प्रक्रिया अघि बढाइरहेका छौं’, उनले भने । ती रूख पनि कात्तिक १ गतेपछि मात्र काट्न पाइने कानुनी प्रावधान छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल तथा मुख्यमन्त्री कार्यालयको पहलमा शनिबार हेटौंडामा भएको दुईपक्षीय छलफलमा कात्तिकबाट रूख कटानसँगै निर्माण अघि बढाउने सहमति भएको छ । छलफलमा नेपालस्थित भारतीय दूतावासका अधिकारीसँग नेपाली पक्षले कात्तिकअघि नै वातावरणीय व्यवस्थापन योजना बनाएर रूख कटानको सबै प्रक्रिया पूरा गरिसक्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि सीटीईभीटीले वातावरणीय व्यवस्थापन योजना वन मन्त्रालयबाट स्वीकृति गराई जिल्ला वनसँगको सहकार्यमा रूख कटानको काम गर्ने सीटीईभीटीका पोलिटेक्निक महाशाखा प्रमुख विनय मि श्रले बताए।

बैठकमा भारतीय पक्षले रूख कटान र निर्माण कार्यस्थलवरिपरि पर्खाल नहुँदा सुरक्षाका कारण काम गर्न समस्या भएको बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै कलंकी–सातदोबाटो–कोटेश्वर सडक : पुल निर्माण ढिलाइले सास्ती शिर्षकमा राजु बास्कोटाको समाचार छापिएको छ । धोवीघाटकी सरला भट्टराई चक्रपथको बाटो काट्ने चिन्ताले हैरान छिन् । छोरीको स्कुल धोवीघाट वारी आउन पारीबाट १५ मिनेटको बाटो पार गरेर फेरि त्यतिनै हिड्नुपर्ने बाध्यता छ । कलंकी–सातदोबाटो–कोटेश्वर सडक चीन सरकारले आकर्षक त बनायो तर आवश्यकताअनुसार आकाशे पुल नहुँदा धोवीघाटकी सरलालाई जावलाखेल आउन बाटो काट्न सानेपा वा एकान्तकुना पुग्नुपर्छ ।

यो समस्या उनको मात्रै नभएर यो बाटो पार गर्नुपर्ने हरेक पैदल यात्रुको हो । चिनियाँ सहयोगमा निर्माण भएर अन्तिम चरणको काम भइरहेको चक्रपथमा आकाशे पुल निर्माण ढिलाइले पैदल यात्रुलाई बाटो पार गर्न डेढ किलोमिटरसम्मको यात्रा तय गर्नुपर्छ ।

चीन सरकारले अनुदानमा बनाइदिएको आठ लेनको यो सडकमा पर्याप्त मात्रा आकाशे पुल र जेब्रा क्रस नहुँदा सडक प्रयोगकर्तालाई नै समस्या छ । यो सडकको प्रति ३ किमिमा १/१ गरी १० किमिको सडक खण्डमा जम्मा तीनवटा मात्रै आकाशे पुल छन् । यो सडक निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि थप सातवटा आकाशे पुल बनाउने योजना पछाडि धकेलिँदै गएको छ ।

सडक विस्तारको जिम्मा पाएको सडक विभाग अन्तर्गतको चक्रपथ सुधार आयोजनाले भने चिनियाँ कम्पनीले सडक हस्तान्तरणसँगै नयाँ सातवटा आकाशे पुल पनि सञ्चालनको तयारी गरिरहेको छ । सडक निर्माण भएर प्रयोगमा आउन थालिसकेकाले पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती भइरहेको आयोजना प्रमुख प्रकाश भण्डारीले बताए । उनले भने,‘ चिनियाँ कम्पनीले आगामी पुसमा सडक हस्तान्तरण गर्ने भएको छ । यो समयसम्ममा हामीले थप सातवटा आकाशेपुल बनाएर सञ्चालन गरिसक्ने गरी काम गराइरहेका छौं ।’

भण्डारीका अनुसार आयोजनाले प्रतिएक किमिमा एकएक वटा पुल पर्ने गरी १० वटा पुल हुनेछन् । चिनियाँ पक्षले तीनवटा निर्माण गरेकाले अब हामी सातवटा बनाउने प्रक्रियामा छौं । ६ वटा आकाशे पुल बनाउन निर्णय भएको छ । अर्को एक पुलको पनि ठेक्का अन्तिम तयारीमा रहेकाले ६ महिनाभित्रमा निर्माण सकिने गरी काम अगाडि बढिरहेको जानकारी भण्डारीले दिएको समाचारमा उल्लेख छ।

नागरिक
–आजको नागरिकमा सामान्य बाढी पनि थेग्न सक्दैनन् बाँध शिर्षकमा मिथिलेस यादवको समाचार छापिएको छ । पछिल्लो साता बाढीले सप्तरीस्थित खड्ग खोलामा बन्दै गरेको बाँध बगायो। करिब अढाई किलोमिटर बाँधमध्ये ५० मिटर बाँध बाढीले बगाएको छ। यो बाँध अर्थिक वर्ष ०७२–०७३ देखि ठेक्का प्रणालीमार्फत तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ । बाढीको धक्का थेग्न नसकेर बाँध भत्केको जल उत्पन्न नियन्त्रण डिभिजन कार्यालय लहानका प्रमुख महेशकुमार साहले बताए। बाँध भत्किँदा गत वर्ष गोविन्दपुर–४ आसपासका गाउँबस्ती डुबानमा परेको थियो।

पोर्ताहास्थित महुली खोलाको बाँध पनि प्रत्येक वर्ष निर्माण हुने र भत्किने क्रम चल्दै आएको छ। यस वर्ष पनि पहिलो वर्षामै यो बाँध ठाउँठाउँमा कटान भएको छ। गत वर्ष यो बाँध भत्किएर बाढी पस्दा करिब आधा दर्जन बस्ती डुबानमा परेको थियो। महुली, खड्ग र खाँडो खोलाका बाँध प्रत्येक वर्ष बन्ने र भत्किने गरेका छन्। गत वर्ष यी खोलालगायत विभिन्न ठाउँमा बाँध निर्माणका लागि करिब ३० करोड रुपैयाँ खर्च भएको थियो। यस वर्ष पनि बाँध निर्माण, मर्मत, स्पर निर्माण जारी छ।

बाढीबाट हुने विनाश रोक्न नदीमा होइन, मूल (चुरे) मै उपचार खोज्नुपर्छ। चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायतका काम नरोकेसम्म तल (नदीमा) जति बाँध बाँधे पनि टिकाउ हुँदैन। चुरेलाई हरियाली नबनाएसम्म नदीमा बाँध बाँधेर मात्र हुँदैन।
गत वर्ष यी खोलामा करिब २५ किलोमिटर बाँध निर्माण गरेको जल उत्पन्न नियन्त्रण कार्यालय लहानले जनाएको छ। यसका लागि कार्यालयले करिब १६ करोड रुपैयाँ खर्च गरेको थियो। करोडौं रकम खर्चेर गरिएका नदी नियन्त्रणका काम किन प्रभावकारी भएनरु गाउँबस्तीलाई बाढीबाट बचाउन बनाइएका बाँधले किन सामान्य बाढी पनि थेग्न सक्दैन? जल उत्पन्न नियन्त्रण कार्यालय लहानका प्रमुख महेशकुमार साह भन्छन्, ‘हामीले बाँध त मजबुत नै बनाउन लगाउँछौं तर, बाँध भत्किनुमा मजबुती मात्र मापक होइन। बाँधको सम्बन्ध खोला र नदीसँग पनि हुन्छ। खोला, नदीको सम्बन्ध चुरेसँग छ।’

त्यस्तै बाढीको त्रासमा बाग्मती किनारका बासिन्दा शिर्षकमा टंक क्षेत्रीको समाचार प्रकाशित भएको छ । आकाशमा कालो बादल मडारिनेबित्तिकै जिल्लाको धनकौल गाउँपालिका ढापटोल निवासी दिनेश महतो डरले थर्कमान हुन्छन्। ठूलो पानी पर्यो भने गाउँ नै डुब्ने हो की भन्ने त्रासले उनी भयभित भएका हुन्।

गत वर्ष साउन अन्तिम साता अविरल वर्षाका कारण उनको गाउँ डुबानमा परेको थियो। पश्चिम वाग्मती नदी तथा पूर्वतर्फ गाउँ छेउमै बग्ने मनुष्मारा खोलाका कारण ढापटोलसहित महिनाथपुर, हरकठवालगायत आधा दर्जन गाउँ डुबान एवं कटानको चपेटामा परेका थिए। गाउँदेखि पश्चिमको बाँध फुटाएर मानपुर, धनकौल, महिनाथपुमा वाग्मतीको बाढी पसेको थियो। पूर्वपट्टी रहेको मनुष्मारा खोलामा समेत ठूलो बाढी आउँदा गाउँ जलमग्न भएको थियो।

गत वर्ष चार ठाउँमा बाँध भत्काएर वाग्मतीको बाढी पसेको ठाउँमा केही दिनअघि मात्र माटो हुरिएकाले अब आउने बाढीले सजिलै भत्काउने अवस्था छ।
गत वर्षको जस्तै आपत् आइलाग्ने हो कि भनेर ढापटोलका महतोसहित वाग्मती किनारका बासिन्दा यतिबेला त्रसित छन्। अझ रातको समयमा बाढी पस्यो भने त बर्बादै हुन्छ भनेर नदी किनारका बासिन्दा भयभित छन्। ‘दिउँसो बाढी आए त थाहा हुन्छ, भाग्न पनि सकिन्छ,’ महतोले भने, ‘राति सुतेको बेला बाढी पस्यो भने त चौपट नै हुन्छ।’

गत वर्ष चार ठाउँमा बाँध भत्काएर वाग्मतीको बाढी पसेको ठाउँमा केही दिनअघि मात्र माटो हुरिएको छ। माटो मात्र हुरिएको र नयाँ भएकाले अत्यन्त कमजोर उक्त भागलाई अब आउने बाढीले सजिलै भत्काउने भन्दै स्थानीय बासिन्दा चिन्तित छन्। ‘गत वर्ष नै भत्किएको बाँधमा भर्खर मात्र माटो हुरिएको छ,’ हरकठवाका सुखाराम रायले भने, ‘ठूलो वर्षा भयो भने वाग्मती फेरि पस्न बेर छैन।’ गत वर्ष वाग्मती नदी गाउँ पस्दा ढापटोलका ५५ घर पूरै डुबेका थिए। त्यस्तै महिनाथपुरका सयौं घर डुबानमा परेका थिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले वर्षायाममा हुन सक्ने डुबान एवं कटानलाई लक्ष्य गरेर बाँध निर्माण गर्नुका साथै उद्धारका लागि तयारी गरिएको जानकारी दिए। ‘वाग्मती पस्न सक्ने ठाउँहरूमा बाँध भर्न लगाइसकिएको छ,’ उनले भने, ‘अन्य स्थानमा समेत बाढीबाट हुन सक्ने क्षति कम गर्न धेरै कामहरू भएका छन् ।’ त्यस्तै उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकायलाई हाइअलर्ट अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएको समाचारमा उल्लेख छ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा बाढी पहिरोको पीडा : भोटेकोसीको दैनिकी अस्तव्यस्ता शिर्षकमा रामकृष्ण थापाको समाचार प्रकाशित भएको छ । केही दिनदेखि उर्लेको भोटेकोसी नदीले कोदारी राजमार्गका अधिकांश तटीय क्षेत्र बगाएको छ । बाढीको कटानले क्षतविक्षत पारेको राजमार्ग तत्काल खुल्ने अवस्था छैन ।

भोटेकोसी गाउँपालिकाअन्तर्गत पर्ने तातोपानी, फुल्पिङकट्टी, लिस्ती र मार्मिङका स्थानीय बाढीपहिरोको जोखिम मोलेरै भए पनि गाउँमा बस्न बाध्य छन् । दैनिक जीवनलाई जोड्ने सडक बाढी र पहिरोले बगाएपछि स्थानीय निराश छन् । राजमार्गको झ्याले भिर, दशकिलो र कोदारी बस्तीनजिक सडक सम्पर्क टुटेको छ । तीनै ठाउँमा तत्काल सडक जोडिन सक्दैन । शुक्रबारको ठूलो बाढीले सडक बगाएको हो । ठूला मेसिन प्रयोग गर्दा पनि सडक सञ्चालनमा आउन महिना दिन लाग्न सक्छ ।

पोहोर सालको बाढीले क्षतिग्रस्त मोटेकोसी पावर कम्पनीको बाँध स्थलमा पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणलाई सहज बनाउन नदीको धार सडकछेउ लगिएको थियो । शुक्रबारै आएको ठूलो बाढीले दशकिलो भन्ने ठाउँको सडक पनि पूरै बगाएको छ । सडक बगाउँदा निर्माणाधीन बाँधमा पनि क्षति पुगेको छ । सडक बगाएपछि तातोपानीकै बासिन्दा वल्लो गाउँबाट पल्लोगाउँसम्म जान रोकिएका छन् ।

कोदारी बस्तीनजिकको इको रिसोर्टस्थल बगाएको छ । सडक किनार बगाएकाले तत्काल वारिपारि आउजाउ गर्न नसकिने भएको छ । लिपिङ खोलामा निर्माणाधीन हिमरीभर हाईड्रोपावरबाट ल्याइएको एक्साभेटरले कोदारीछेउको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले दिएको नकारीअनुसार भोटेकोसीवासी बाढीपहिरोको मारमा परेका छन् । एक गाउँबाट अर्को गाउँमा जानबाटसमेत स्थानीय रोकिएका छन् । दुगुनागढी, रुङ्सिङ, कोदारी र हिन्दीका सयौँ मानिस विस्थापित भएका हुन् । भूकम्प गएको दुई वर्षपछि घर फर्केका स्थानीय पुनः गाउँ छोडेर अन्यत्र हिँडेका समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार