Friday, September 27, 2024

जापानमा बाढीपहिरोको समस्या किन भयावह बनिरहेको छ ?

टोकियो–गत हप्ता निरन्तर वर्षाका कारण जापानको पश्चिम भेगमा भीषण बाढी पहिरो आयो ।  अहिलेसम्म २ सयभन्दा बढीको मृत्यु भइसकेकाे छ, लाखौं परिवार विस्थापित भएका छन्। यतिबेला तापक्रममा आएको वृद्धि र खानेपानीको संकट र प्रदूषणका कारण सरुवा रोग संक्रमणको खतरा बढेको छ।

गत तीन दशक यताकै सबैभन्दा खराब मौसमका कारण उत्पन्न सो प्रकोपमा परेर अहिले पनि दर्जनौ हराइरहेका छन्। जापानजस्तो विकसित देशमा बाढी र पहिरोका कारण यति धेरै मानवीय क्षति किन भयो ?

photo source : GETTY IMAGES

केही कारणहरु यस प्रकार छन्ः

भारी वर्षाः पछिल्लो समयमा जापानमा भारी वर्षा भइरहेको छ। यस वर्ष अगाडि दक्षिण पश्चिम भेगमा परेको भारी वर्षाका कारण दर्जनौ मानिसहरुको मृत्यु भएको थियो। यसपटकको पानी अघिल्लो वर्षको भन्दै निकै पृथक र भारी थियो।

विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण कुनै एक निश्चित स्थानमा भारी वर्षा हुन थालेको छ, जसले गर्दा बाढीपहिरोको प्रकोप बढिरहेको छ। जापान सरकारले पछिल्लो समययता जलवायु परिवर्तनको असर कम गर्न केही न केही कदम चाल्नुपर्ने आवश्यकता महसुस गर्न थालेको छ। जापानमा मात्र होइन अन्य मुलुकमा समेत यसखाले समस्याहरु देखिएका छन्।

प्रकोपबारे जनचेतनाः जापानका नगरपालिकाहरुले सन् २००१ देखि नै बाढीपहिरोको बारेमा जानकारी दिने उद्देश्यले नक्सा नै बनाउन शुरु गरेका थिए। सन् २०१३ सम्म ९५ प्रतिशतभन्दा बढी नगरपालिकाले प्रकोपको बारेमा नक्सा तथा अन्य जानकारीहरु प्रकाशित गरेका थिए।

तर, विज्ञहरुका अनुसार धेरै घरहरु अझै प्रकोपको दृष्टिले एकदमै संवेदनशील स्थानमा निर्माण गरिएको छ। यीमध्ये धेरै घर सन् २००१ अगाडि नै निर्माण भएका हुन्। यति मात्र होइन, बाढी र पहिरोको आंकलन गरेर सरकारी अधिकारीहरुले घर खाली गर्न आग्रह गर्दा पनि अटेर गरेकाले पनि मानविय क्षति बढी भएको हो।

उसो त कहाँ जाँदा सुरक्षित भइन्छ भन्ने जानकारी नभएका कारण पनि धेरैले समस्या भोगेको पाइएको छ। कतिपयमा चाहिँ अझै पनि पर्याप्त जानकारी समेत छैन।

भूकम्प प्रतिरोधक घर बने, बाढीपहिरोमा ध्यान दिइएनः भूकम्पीय हिसाबले जापान एकदमै संवदेनशील अवस्थामा रहेको छ। विशेषगरी भूकम्प प्रतिरोधक घर बनाएका छन् तर, बाढीपहिरोलाई भने ख्याल गरिएको छैन।

पछिल्लो वर्षमा धेरै बाढीपहिरोको समस्या देखिन थालेपछि सरकारी निकायले बाढीपहिरो नियन्त्रण र उद्धारको लागि नयाँ योजना बनाएका छन्। त्यसले पछिल्लो समयमा भुकम्प प्रतिरोधक मात्र होइन, प्राकृतिक प्रकोपको हिसाबले पनि सोच्नुपर्ने आवाज तीव्र भएको छ।

भूमिको प्रयोगः सरकारले मौसको अवस्थाको बारेमा बारम्बार अनुगमन गर्ने गर्दछ र त्यस बारेमा जनतलाई सचेत बनाउने काम गर्दछ। तर, प्राकृति प्रकोपको सम्भावना भने रहिरहन्छ किनभने मुख्य शहरभन्दा बहिर पहाडी भुभाग धेरै रहेको छ।  र, खेतीयोग्य जमिनमा विभिन्न पूर्वाधारहरुको निर्माण गरिएको छ।

विशेषत दोस्रो विश्वयुद्धपछि रोपिएका धेरै रुखहरु पानीलाई सोस्ने खालका छैनन्। यसले गर्दा पहिरोको जोखिम बढेको छ। पछिल्लो समय पहिरोको प्रकोप बढेको छ।

(अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित खबरका आधारमा तयार पारिएको)

ताजा समाचार

सम्बन्धित समाचार