Friday, September 27, 2024

बाढीपछि भक्तपुरमा संक्रमणको खतरा

काठमाडौं–हनुमन्ते खोलामा आएको बाढीका कारण बिहीबार भक्तपुर नराम्ररी प्रभावित भयो।

हनुमन्ते खोलाको बाढी पसेपछि डुबानमा परेको भक्तपुर नगरपालिकाको शान्ति निकेतन मावि। विद्यालयमा बाढी पसेपछि लाखौँको क्षति भएको छ । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

चारवटा नगरपालिका रहेको भक्तपुरका कतिपय बस्ती बिहीबार दिनभर डुबानमा परे। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितले उद्धार गरे। चागुनारायण नगरपालिका–७ मजुवा गाँउमा घर पछाडिबाट आएको पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको मृत्यु नै भयो।

बाढीले नराम्ररी प्रताडि बनेको भक्तपुरबासी अर्काे पिरलो छ–शुद्ध खानेपानीको। एक त भक्तपुरमा रहेका ८८ प्रतिशत खानेपानीको मुहान दूषित रहेको तथ्यांक यसअघि सार्वजनिक भएको थियो। त्यसैमा बाढीका कारण पानीका मुहान पनि डुबानमा परेपछि शुृद्ध खानेपानीको समस्या रहेको स्थानीयले बताएका छन्।

स्थानीयबासिन्दा शान्ति थापा धारामा पनि आए पनि बाढीले कत्तिको दूषित बनाएकाले खान हुने÷नहुनेमा अन्यौल रहेको बताउँछिन्। बाढी पश्चात फैलन सक्ने आउ, झाडापखलाको संक्रमणतर्फ पनि ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे खानेपानी प्रदूषित हुँदा विभिन्न प्रकारका सरुवा रोगको सक्रमण हुनसक्नेतर्फ स्थानीय तहलाई सचेत गराइएको बताउँछन्। ‘खानेपानी शुद्धिकरणका उपाय अबलम्बन गर्नका लागि सचेतना जगाउन स्थानीय तहलाई भनेका छौं,’ उनले भने।

यसैगरी, खानेपानी डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिबेन्द्र झा खानेपानीका लागि सबैतिरबाट व्यवस्था भइसकेको बताउँछन्। ‘खानेपानीको पाइपलाइनमा समस्या आएको छैन। यद्यपी, ट्यांकरको पानी समेत उपलब्ध गराएका छौं,’ उनले भने, ‘हामीले नगरपालिकाहरूसँग समन्वय गरेर जहाँ जहाँबाट माग आउँछ त्यहाँ पानी पु¥याइरहेका छौँ।

मुहानको पानी प्रयोग गर्नेहरूलाई पानी शुद्धिकरण गरेर मात्र प्रयोग गर्न सूचीत गरिएको जानकारी दिँदै उनले भने, ‘एफएम रेडियोबाट पानी शुद्धिकरणको विषयमा जानकारीहरू प्रवाह गरिरहेका छौँ र पानी शुद्धिकरणका लागि आवश्यक पर्ने वस्तुहरू नगरपालिकाको संयोजनमा हामीले उपलब्ध गराइरहेका छौँ।’

त्यस्तै, जिल्ला जनस्वाथ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर चन्द बाढीपछि फैलन सक्ने संक्रमणबारे सचेत गराउने काम भइरहेको बताउँछन्। ‘जनचेतना अभिवृद्धिको कार्यक्रम भइरहेको छ, स्वास्थ्यकर्मीसँग समन्वय गरेर बसेका छौँ,’ उनले भने।

बाढीपछि भिजेको खाद्यान्न, लता कपडा, प्लास्टिक, हिलो जस्ता फोहोर मैलाहरूका कारण पनि संकमण बढ्नसक्ने खतरा हुने चिकित्सकहरुले बताएका छन्। यत्रतत्र फैलिएको फोहोर व्यवस्थापन गर्न सम्बन्धित नगरपालिकाहरुले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।

यसैगरी, विपद व्यवस्थापन समिति भक्तपुरको निर्णय अनुसार बिहीबार ज्यान गुमाएका तीनजनाको परिवारलाई राहत स्वरुप ३ लाख १० हजार उपलब्ध गराइसकेको प्रजिअ घिमिरेले बताए। बाढीबाट भएको क्षतिको एकीन विवरण संकलनको काम भइरहेको र त्यसपश्चात राहत उपलब्ध गराइने उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार