Friday, September 27, 2024

बाँके: बर्खासँगै सर्पदंशबाट ११ जनाको मृत्यु

नेपालगञ्ज–वर्षातसँगै बाँकेमा सर्पदंशका घटना बढ्न थालेका छन्।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका डा. कृष्ण आचार्यका अनुसार यो बर्खामा सर्पदंशबाट ११ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको र बाँकी १० जनाको उपचारका लागि अस्पताल लैजाने क्रममै बाटोमै ज्यान गएको उनले बताए।

भेरी अञ्चल अस्पतालको आईसीयू कक्षमा सर्पदंशका बिरामीको जाँच गर्दै डा. कृष्ण आर्चाय।

बाँकेको नरैनापुर गाउँपालिकाको कालाफाटाका ३० वर्षीय नसुरिद्दिन खाको असार १२ र सोही गाउँका १७ वर्षीय महेशकुमार यादवको असार १३ गते सर्पदंशका कारण मृत्यु भएको थियो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहका अनुसार गाउँमा बाढी पसेर बाटो हिलाम्य हुनुका साथै गाडी चल्न सक्ने अवस्था नरहेका बेला उक्त घटना भएको हो। ‘बिरामीलाई बोकेर अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भयो। गाउँकै स्वास्थ्य चौकीमा उपचारको व्यवस्था भएको भए बचाउन सकिन्थ्यो होला,’ उनले भने।

जनस्वास्थ्य कार्यालय बाँकेसँग समन्वय गरेर गाउँकै स्वास्थ्य चौकीमा सर्पदशको उपचारका व्यवस्था मिलाउन प्रयास भइरहेको उनले बताए। पछिल्ला दिनका नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा दैनिक २ देखि ३ जना सर्पदंशका बिरामी उपचारका लागि आउन गरेका छन्।

पश्चिम नेपालको महेन्द्रनगर, धनगढी, सुर्खेत र दाङबाट समेत सर्पदंशका बिरामी रिफर भएर भेरी अञ्चल अस्पतालमा आउने गरेका छन्।

सर्पदंशका विरामीको चापलाई मध्येनजर गरी असार २७ गतेदेखि ६ बेडको छुट्टै वार्ड नै बनाइएको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापाले जानकारी दिए। सर्पदंश वार्डलाई व्यवस्थित गरेर थप प्रभावकारी बनाउन मन्त्रालयसँग २ जना मेडिकल अफिसर र ६ जना स्टाफ नर्स माग गरिएको उनले बताए।

भेरी अञ्चल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा रहेका ६ वटामध्ये धेरैजसो शैयामा हाल सर्पदशका बिरामीहरुले भरिने गरेका छन्। असारको तेस्रो सातादेखि आईसीयूका प्रायः जसो ३ देखि ४ वटा शैयामा सर्पदंशका बिरामी रहने गरेको अस्पतालले जनाएको छ।

यो वर्ष १ वैशाखदेखि हालसम्म उपचारका लागि अस्पतालमा आएका १ सय १७ जना सर्पदशका बिरामीमध्ये ४२ जनालाई बिषालु सर्पले डसेको थियो। गत वर्ष भेरी अञ्चल अस्पतालमा सर्पदंशका ४ सय ७५ जना बिरामी भर्ना भएकोमा ३ जनाको मृत्यु भएको थियो। तीमध्ये १ सय ३५ जनालाई बिषालु सर्पले डसेको थियो।

उपचार खर्च धान्नै धौ–धौ
२६ असारमा सर्पले डसेपछि कञ्चनपुरको पुर्नवासकी ४५ वर्षीया मञ्जु बोहरा भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनलाई शुरुमा महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याइ पनि अवस्था गम्भीर भएको जनाउदै धनगढीस्थित सेती अञ्चल अस्पतालमा रिफर गरिएको थियो।

तर, सेतीले पनि २७ असार राति २ बजे भेरीमा रिफर गरिदिएपछि उनलाई २२ घन्टासम्म आईसीयु कक्षको भेन्टिलेटरमा राखियो । अहिले मञ्जुको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. आचार्यले बताए। गम्भीर अवस्थामा रहेका बिरामीलाई भेन्टिलेटरमा लगातार ७ दिनसम्म पनि राखेर उपचार गर्ने गरिएको उनले बताए ।

मञ्जुलाई एम्बुलेन्सबाट अस्पताल पुर्याउन र औषधि किन्नेमै ४० हजार खर्च भैसकेको उनका छिमेकी बुद्धिप्रसाद खनालले बताए। ‘अझै कति खर्च लाग्ने हो थाहा छैन,’ उनले भने।

सरकारले सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने मुख्य औषधि एन्टि स्नेक भेनम मात्रै निःशुल्क उपलब्ध गराउने गरेको छ। सर्पदशंका सिकिस्त बिरामीहरुलाई अस्पताल पुराउदा लाग्ने एम्बुलेन्सको भाडादेखि अन्य औषधि तथा आईसीयू वार्डको शुल्क बिरामी आफंैले व्यहोर्नु पर्ने भएकाले समस्या हुने गरेको बिरामीका आफन्तहरू बताउँछन्।

सर्पदंशको जोखिम
नेपालमा कमन करेत र कमन कोब्रा सर्पले बढी मात्रामा मान्छेलाई डस्ने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। रातिको समयमा टर्च नबाली हिँड्डुल गर्दा, घरमा भुइँमा सुतिरहेको अवस्थामा सर्पले डस्ने सम्भावना रहन्छ।

सर्पले डुसेमा बिरामीमा छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पुर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुदैं जाने, रक्तचाप घट्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार