Friday, September 27, 2024

अबिरल वर्षा: भक्तपुरका केही क्षेत्र र बनेपा डुबानमा

काठमाडौं– बुधबारदेखि काठमाडौं उपत्यकासहित मुलुकका प्रायः स्थानमा परेको झरीले जनजीवन प्रभावित बनेको छ। यद्यपी तरार्इका कतिपय जिल्लामा पानी नपरेकाे खबर प्राप्त भएकाे छ।

डुवानमा परेकाे बनेपा। तस्वीर : विष्णु अाचार्यकाे फेसबुकबाट।

उपत्यकाको भक्तपुरका केही स्थानसँगै काभ्रेको बनेपा र पनौती डुवानमा परेका छन्, भने पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध बनेको छ।

भक्तपुरको हनुमन्ते खोलाको बाढी वस्तीमा पसेको हाे। हनुमन्तेकाे तटीय क्षेत्र डुवानमा परेपछि बिहीबार बिहानैदेखि सुरक्षाकर्मीको टोली उद्धारमा परिचालित भएको सरकारी अधिकारीले बताएका छन्।  बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ, भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ।

यसैगरी, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती डुबानमा परेका छन् । राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म डुबानमा छन् ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका अनुसार अहिल काठमाडौं उपत्यकाको विशेषत भक्तपुर क्षेत्रमा भारी वर्षा भएपछि मनेहरा खोला ज्यादै उच्च बहाब भैरहेको छ। तटीय ठूलो क्षेत्रमा बिहीबार बेलुकीसम्म डुवानको जोखिम रहने भएपनि विष्णुमती, नख्खु, बागमती लगायतमा भने बहाबले खतरा पार नगरेको शाखाले विज्ञप्तिमार्फत् जनाएको छ।

भक्तपुरमा बस्दै आएका विकास ठाकुरले फेसबुकमा लेखेका छन्, ‘राधे राधे, भक्तपुर डुबानमा छ हजुर । हामी घरमै थुनिएर बसेका छौं। उद्धारमा नेपाल प्रहरीलाई हार्दिक धन्यबाद।’

डुवानमा परेकाे राधेराधे क्षेत्र। तस्वीर : विकास ठाकुरकाे फेसबुकबाट।

यसैगरी, झरीका कारण काभ्रे जिल्लाको बनेपा र पनौती पनि जलमग्न बनेको छ। पुण्यमती खोला र खहरेमा पानीको बहाव उच्च भएपछि बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन्

राष्ट्रिय समाचार समितिको बिहीबार बिहानको बुुलेटिन अनुसार बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन्।

बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा पर्दा अरनिको राजमार्ग करिब तीन घन्टादेखि ठप्प रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले जानकारी दिए।

शाखाका अनुसार मुलुकका अधिकांश नदीहरूमा बहाब बढ्दो क्रममा रहेको छ। मौसम पूर्वानुमान गर्ने कम्प्युटर मोडेलले बाँके, दाङ, कपिलबस्तु, पाल्पा, अर्घाखाँची र आसपासको जिल्लाहरुमा ठूलो वर्षा हुने पूर्वानुमान गरेको छ।

डुवानमा परेकाे राधे राधे क्षेत्र। तस्वीर : विकास ठाकुरकाे फेसबुकबाट।

 

ताजा समाचार

सम्बन्धित समाचार