Wednesday, September 25, 2024

नदीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड (भिडियाे रिपोर्ट)

काठमाडाैं –नदीलाई हेर्ने दृष्टिकोण परिवर्तनसँगै फराकिलो गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

नदी बगेर एक ठाँउबाट अर्को ठाउँमा जाने मात्र नभई यो समाज, राजनीति, वातावरण र आर्थिक पक्षको संगम भएकोे औंल्याउँदै विज्ञहरूले नदीलाई बृहत दृष्टिकोणबाट हेर्न आग्रह गरे।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आइतबार ललितपुरमा आयोजना गरेको ‘सेती रिभर वेसिन क्षेत्रका वातावरणीय मुद्दा र संचारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले सो धारणा व्यक्त गरेका हुन्।

सेती रिभर वेसिनको महत्व र त्यसका वातावरणीय मुद्दा उजागर गर्ने र नीति निर्माताहरुको ध्यानकर्षण गराउने उद्देश्यले नेफेजले सो अन्तक्र्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा नेपाल वातावरण पत्रकार समूहका महासचिव रमेश भुसाल र काठमाडौँ विश्व विद्यालयका डीन डा. सुबोध शर्माले सेती रिभर बेसिन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। दुवै कार्यपत्र प्रस्तुत पश्चात सहभागिहरुको विचमा व्यापक छलफल भएको थियो।

कार्यक्रमलाई सम्वोधन गदै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नदीको बहुआयामिक पक्ष रहेको बताउँदै यसले विभिन्न पक्षलाई प्रभाव पार्ने बताए। नदीले विकास, समृृद्धिदेखि लिएर सभ्यता र इतिहासको पनि बिम्ब बोल्ने उनले बताए । मन्त्री बस्नेतले इतिहास पनि नदी प्रणालीमा केन्द्रित रहेको बताउँदै सप्तकोसी, कर्णाली, गण्डकी लगायतका नदी प्रणालीमा आधारित कार्यक्रमहरू सरकारले ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

मन्त्री बस्नेतले मन्त्रालयले सबै काम पारदर्शी रुपमा गरेको भन्दै विकासका नाममा वातावरण बिग्राने र वातावरणलाई प्रदूषित पार्ने काम कहि कतै भैरहेको छ भने समयमा नै जानकारी गराउन आग्रह गरे ।

‘सुशासन र समृद्ध हाम्रो प्राथमिकता हो । वातावरणमा असर गर्न काम कहीँ कतै भैरहेको छ भने तपाईहरुले समयमा नै हामीलाई सुसूचित गरिदिनुहोस्’ मन्त्री बस्नतेले भने, ‘हाम्रो जानकारीभन्दा बाहिर कति यस्ता काम भैरहेका छन् भने पनि हामीलाई सूचना दिएर हामीलाई सहयोग गर्न म सबैलाई आग्रह गर्न चाहान्छु।’

उनले नदी तथा वन्यजन्तुले मानिसहरुलाई वर्षाैदेखि दुःख दिँदै आएको भएता पनि मानिसले यिनीहरुको महत्व बुझेपछि संरक्षणतर्फ पनि लागेको बताए ।

‘प्रकृतिसँग मानिसले पुर्खादेखि परम्परागत ज्ञानको प्रयोग गरी सहकार्य र संघर्ष गर्दै आएको छ । जब मानिसले प्रकृतिलाई बुझ्छ तब संरक्षण तर्फ लाग्छ,’ मन्त्री बस्नेतले भने । मन्त्री बस्नेतले प्रकृतिका बारेमा अनुसन्धान गर्दा परम्परागत ज्ञानलाई पनि समावेश गर्न आग्रह गरेका छन् ।

कार्यपत्र प्रस्तुत गदै नेफेजका महासचिव भुसालले रिभर बेसिनका क्षेत्रमा कसरी कलम चलाउँदा हुन्छ भन्ने सुझाव दिए। ‘नेपाल नदी धेरै भएको देश हो,’ उनले भने, ‘गहिराइमा गएर सामाचार तथा सामग्री आउन सकेका छैन।’

डीन शर्माले पोखराको सेती नदीमा सीधंै ढल मिसाउदा प्रदूषित भएको बताए। उनले सीधंै फोहोर नमिसाउने हो भने नदीभित्रका ३१ प्रतिशत समस्या समाधान हुने दाबी गरे । सन् २००५ मा त्रिभुवन विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार काठमाडौं उपत्यकाका नदी अति प्रदूषित भएको पाइएको उनले बताए ।

यसैगरी, सन् २००९ मा सेती नदीमा गरेको अनुसन्धानले ८१ प्रतिशत जलचर जीवित नभेटिएको पनि उनले कार्यपत्रमार्फत् जानकारी गराए । ‘बाघ गैंडा हात्तीको संरक्षण कुरा गरिरहँदा सानासाना जीवजन्तुको बारेमा चाँसो दिन्नौं,’ उनले भने, ‘मानिसको स्वास्थ्यलाई सन्तुलनमा राख्न पानीको जस्तो भूमिका हुन्छ त्यस्तै वातावरणको स्वास्थ्य निर्धारण गर्ने पनि पानी नै हो ।’

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले पत्रकारले वातावरणीय मुद्दामा गहन अध्ययन अनुसन्धान गरेर मात्र समाचार लेख्नुपर्नेमा जोड दिए ।

नेफेजका अध्यक्ष अर्जुन ढकालले रिभर वेसिनहरुले इतिहासदेखि अहिलेसम्म महत्वपूर्ण भूमिका खेलेको बताए। उनले पछिल्लो समयमा डोजरको प्रयोगले वातावरणमा धेरै नकारात्मक असर गरेको र त्यसले भविस्यमा ठूलो विपत्ती ल्याउने वताए ।

कार्यक्रममा हरियो वन कार्यक्रमका कार्यक्रम निर्देशक शान्तराज ज्ञवालीले विकास निर्माण र जलविद्युतलाई प्राथमिकता दिँदा नदीको अस्तित्व नै संकटमा पर्न जानेतर्फ ध्यानाकर्षण गराए । विभिन्न जलाधार क्षेत्रमा जैविक विविधता तल्लो र माथिल्लो क्षेत्रमा फरक–फरक हुने बताउँदै उनले संरक्षणको उपाय अवलम्वन गर्न आग्रह गरे ।

सामुदायिक वन उपभाेक्ता महासंघ (फेकोफन)को हरियो वन कार्यक्रमका टीम लिडर सुवास देवकोटाले नदी, वन्यजन्तुको संरक्षणसँगै मानवीय पक्षमा पर्ने असरबारे पनि छलफल गर्नुपर्नेमा जोड दिए । ‘नदीले जनावर र वातावरणलाई मात्र नभइ मान्छेलाई पनि प्रभाव पार्छ भन्ने भुल्न हुँदैन,’ उनले भने, ‘विकास गर्दा वातावरणलाई ध्यान दिऔँ ।’

रेडियो सगरमाथाका स्टेशन म्यानेजर सहजमान श्रेष्ठले नदी प्रणालीमा आधारित कार्यक्रम गर्दा स्थानीयको रहनसहन,परम्परागत ज्ञान तथा सीपलाई समेटेर लैजानुपर्ने बताए । रिभर बेसिनमा काम गर्दा वरपरका बासिन्दाको जीविकोपार्जनलाई र ज्ञानलाई विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतिय विकास केन्द्र (इसिमोड) का कार्यक्रम निर्देशक अरुणभक्त श्रेष्ठले नदी क्षेत्रमा काम गर्दा क्षति न्यूनीकरण गरी वरपरको बासिन्दाको आयआर्जनको बाटो पहिल्याउनतर्फ सोच्नुपर्ने बताए ।

वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुबोध गौतमले वनमन्त्री बस्नेतलाई वन र वातावरणका जल्दा बल्दा विषयमा ध्यानाकर्षण गराएका थिए। ‘काठमाडौं–तराई÷मधेस द्रुतमार्ग बन्दा चुरे लगायत विभिन्न वनजंगलमा हुने क्षतिको पूर्ति कसरी हुन्छ ? खानी–क्रसरको विषयमा सरकारको धारणा के हो,’ उनले वन मन्त्रीलाई प्रश्न गरे, ‘यि समस्याहरु कसरी हल हुन्छ ?’

नेफेजको श्रब्यदृश्य निर्देशक रवीन्द्र पाण्डेले वन तथा वातावरण मन्त्रालय र यसका मातहतका कार्यालयका कर्मचारीहरुले जैविक विविधताका बारेमा सेमिनार नै गर्नुपर्ने बताए।

कार्यक्रममा वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, डब्लूडब्लूएफ नेपालका सन्देश हमाल र आईयुसीएनका नरेन्द्रमान बाबु प्रधान लगायतको सहभागिता थियो ।

ताजा समाचार

सम्बन्धित समाचार