Monday, October 28, 2024

पुनर्निर्माणको नालीबेलीः लाभग्राहीको संख्या आठ लाख नाघ्यो, पाँच लाख घर बन्दै

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ।

प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरी भूकम्प अति प्रभावित ११ जिल्लाका ६२ वटा स्थानीय तहका थप १९ हजार ४ सय ७१ घरपरिवारलाई पुनर्निर्माण लाभग्राही र १५ हजार ७ सय ६६ घरपरिवारलाई प्रबलीकरण लाभग्राहीमा समावेश गरेको छ।

बैठकले ११ हजार ४ सय ७५ घरपरिवारलाई गैरलाभग्राहीमा समावेश गर्ने निर्णय गरेको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार छुट तथा पुनर्जाँच सर्वेक्षणबाट संकलित १ लाख २९ हजार ४ सय ८ मध्ये हालसम्म ९१ हजार ९ सय १८ वटा गुनासोको सुनुवाई भइसकेको छ।

जसअन्तर्गत ३९ हजार ७ सय ८१ पुनर्निर्माण लाभग्राही र २७ हजार ६३ घरपरिवार प्रबलीकरण लाभग्राहीमा सुचिकृत भएका छन्। २० हजार ६ सय ९० घरपरिवार गैरलाभग्राहीमा परेका छन्। प्राधिकरणले स्थाीनय सरकारले गरेको प्रमाणीकरणलाई थप बिश्लेषण गरी निश्चित मापदण्ड पूरा गरेकालाई लाभग्राही र नगरेकालाई गैरलाभग्राहीको रुपमा सुचिकृत गर्दै आएको छ।

पुनर्निर्माण लाभग्राहीमा परेका घरपरिवारले आवश्यक प्रक्रिया पूरा गरी निजी आवास पुनर्निर्माणका लागि ३ लाख र प्रबलीकरण लाभग्राहीले घर मर्मतका लागि १ लाख रुपैयाँ पाउने गरेका छन् ।प्राधिकरणले संकलित तथ्याङ्कबाट ७ हजार घरपरिवारको नामावली थप प्रमाणीकरण गर्न स्थानीय तहमा पठाएको सहप्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार गत मंसिरसम्म संकलन भएका थप १ लाख २२ हजार गुनासोको पनि सुनुवाई प्रक्रिया शुरु भइसकेकाले छिट्टै नतिजा सार्वजनिक गरिनेछ।

विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीहरुको छनौटमा केही ढिलाई भएको प्राधिकरणले जनाएको छ। लाभग्राही थपिएसँगै कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ७ हजार ४ सय ८६ र प्रवलीकरण लाभग्राहीको संख्या ५२ हजार ५४ पुगेको छ ।

यसैबिच २०७२ सालको भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या पाँच लाख पुगेको प्राधिकरणले जनाएको छ। निजी आवासका लागि अनुदान सम्झौता गरेका कूल ७ लाख २० हजार ७ सय ४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण सुरु गरेको प्राधिकरणले जानकारी दिएको छ। यसमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको पुनर्निर्माण भइसकेको छ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४ सय १९ घरको पुनर्निर्माण सुरु भएको छ। त्यसैगरी, नुवाकोटमा ६४ हजार १ सय ६१, धादिङमा ५९ हजार ३ सय ९८, गोरखामा ५२ हजार ४ सय ४८, दोलखामा ५२ हजार २ सय ३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८ सय २, रामेछापमा ३८ हजार ३ सय ४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।

अति प्रभावित जिल्लाहरुका अतिरिक्त कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको प्राधिकरणको दावी छ । कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरे ४ हजार ७ सय ४५ घरको पुनर्निर्माण सुरु भएको छ । यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि तीव्र बढोत्तरी भइरहेको छ। ४ लाख ५५ हजार ५ सय ८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८ सय ९२ लाभग्राही योग्य भइसकेका छन्।

निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणको दावी छ।

प्राधिकरणले जोखिममा परेका वर्गका लागि घर बनाउन सहयोग गर्ने भनी प्रस्ताव पेश गरेका विभिन्न चार गैरसरकारी संस्थालाई अनुमति दिएको छ। मर्सी कर्प्सलाई दोलखाको तामाकोशी गाउँपालिकाका ८१, सिन्धुलीको सुनकोशी गाउँपालिकाका ११९ र मकवानपुरको बकैया गाउँपालिकाका ४० लाभग्राहीका घर बनाउन सहयोग गर्नेछन्।

त्यस्तै, प्राधिकरणले नेपाल रेडक्रस सोसाइटीलाई रसुवा जिल्लाभरिका २ सय ७५ लाभग्राहीको घर निर्माणमा सहयोग गर्न अनुमति दिएको छ । सोसाइटीले लाभग्राहीलाई घर निर्माण गर्न सामाजिक प्राविधिक सहयोगका अतिरिक्त ५० हजार थप सहयोग गर्नेछ। सोसाइटीले रामेछापका सम्पूर्ण १ हजार २ सय ६३ लाभग्राहीको घर निर्माणमा सामाजिक प्राविधिक सहयोग पनि पु¥याउने छ।

त्यसैगरी, पिपल इन निड नामक गैरसरकारी संस्थालाई धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाका सबै १ सय ६५ लाभग्राही एवं इच्छामनकामना गाउँपालिकाका सबै ६४ जना लाभग्राहीलाई घर निर्माण गर्न सामाजिक प्राविधिक सहयोग र थप ५० हजार रुपैयाँ प्रदान गर्ने अनुमति दिइएको छ ।

प्राधिकरणले केयर नेपाललाई पनि जोखिम वर्गमा परेका लाभग्राहीलाई सहयोग गर्न अनुमति दिएको छ । केयर नेपाललाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ७८ र पाँचपोखरी थांगपाल गाउँपालिकाका ८७, गोरखाको सुलिकोट गाउँपालिकाका १८, धार्चे गाउँपालिकाका ७९, सिरानचोक गाउँपालिकाका २५, अजिरकोट गाउँपालिकाका २६, पालुङ्टार नगरपालिकाका ४२, धादिङको गंगाजमुना गाउँपालिकाका ७१ र त्रिपुरासुन्दरी गाउँपालिकाका ८१ लाभग्राहीलाई घर निर्माणमा सहयोग गर्नेछन् ।

अहिलेसम्मको अवस्थाः

पुनर्निर्माण भइरहेका घरको संख्याः ५,००,७४०

पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः १,९४,७३१

लाभग्राही सुचिमा परेका कुल संख्याः ८, ७ हजार ४ सय ८६

प्रबलीकरण सुचिमा परेका लाभग्राही संख्याः ३६,२८८

अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७,२०,७४३

पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७,१२,०१३

दोश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः ४,५७,५३६

तेश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः २,१२,७१९

ताजा समाचार

सम्बन्धित समाचार