२ पुस, धनगढी
कञ्चनपुरमा नयाँ प्रजातिको चरा भेटिएको छ । यहाँ पहिलो पटक कृष्णवक्ष रातोकण्ठ (चाइनिज रूबिथ्रोट) चरा भेटिएको हो ।
हिमाली क्षेत्रमा पाइने कृष्णवक्ष रातोकण्ठ बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रको खेतबारीमा देखा परेको छ । नेपालका लागि यो प्रजातिको चरा दुर्लभ मानिन्छ । केही दिनअगाडि चरा अवलोकनका क्रममा चराविद् हिरूलाल डगौरा, नेचरगाइड सुवन चौधरी, महानन्द जोशीलगायतको टोलीले सो चरालाई कञ्चनपुरमा पहिलो पटक अभिलेख गरेको हो ।
नेपालमा कम देखिने कृष्णवक्ष रातोकण्ठ चरा हिमाली क्षेत्रमा पाइने गरेको जनाइएको छ । जाडोयाममा भने यो चरा हिउँदे आगन्तुकका रूपमा तराईसम्म पुग्ने गरेको चराविद् डगौराले बताए । ‘कञ्चनपुरमा हामीले पहिलो पटक देख्यौँ’, उहाँले भने, ‘यो प्रजातिको चरा खास गरी हिमाली क्षेत्रमा पाइने तर कम रेकर्ड भएको चरा हो ।’
कृष्णवक्ष रातोकण्ठ पर्वतमालामा फेला पार्न सकिन्छ । यसको बसाइ क्षेत्र पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको जनाइएको छ । कृष्णवक्ष रातोकण्ठलाई मध्य एसिया र भारतीय उपमहाद्वीपको चरा पनि भनेर चिन्ने गरिन्छ ।
यो प्रजातिको चरा नेपालसहित भारत, भुटान, पाकिस्तान, बंगलादेश, म्यानमार, रूस र थाइल्यान्डमा पाइने गरेको डगौराको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेको नकैया सिमसारमा दुर्लभ सारससमेत पाइन्छ ।
गोरखापत्र दैनिक