Monday, October 28, 2024

रतुवा खोलाले दुई परिवार विस्थापित

दमक – रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन्।

बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको घरपरिवार विस्थापित भएका हुन्। विस्थापित श्रेष्ठको चार कोठे पक्की घर र तिम्सिनाको दक्षिणतर्फको भाग खोलाले कटान गरेको छ। श्रेष्ठ घरमै किराना पसल सञ्चालन गर्दै आएका थिए।

उनले विसं २०४७ देखि बसोबास गरी आए पनि हालसम्म त्यस्तो जोखिम नआएको तर अहिले भने कटानले उठीबास गराएको दुखेसो पोखे। उनले भने, “दुई दिन भयो, बाढीले गर्दा रातभरि जाग्राम बस्नुपरेको छ ।” कटान झनै बढ्न थालेपछि विहीबारदेखि श्रेष्ठ परिवार विस्थापित भएका छन् ।”

केही दिनयता परेको अविरल वर्षाका कारण रतुवा खोलातर्फको बस्तीमा कटान तीव्र बनाएको छ। वर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाइटी उपशाखा डुबानमा परेको छ। उपशाखाको कार्यालय भवन जलमग्न हुँदा जेनेरेटरमा क्षति पुगेको उपशाखा सचिव रमेश गुरागाईंले बताए।

वडाध्यक्ष भीम पौडेलका अनुसार बाढीले बस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस बस्तीका बसोबास गरी आएका दुई दर्जन बढी घर परिवार प्रभावित भएका छन् । बढी कटान क्षेत्रमा परेको सो बस्तीको बिहीबार नै दमक नगरपालिकाले अवलोकनसमेत गरेको छ । अवलोकनमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायत थिए। रासस

ताजा समाचार

सम्बन्धित समाचार