Thursday, December 26, 2024

दस करोडको धुलो दूध आयात

विराटनगर – प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ।

प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो।
चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्छ। एककिलो ग्राम धुलो दूधबाट १२ लिटर दूध उत्पादन गर्न सकिन्छ। निजी डेरीले धुलो दूध प्रयोग गर्दा किसान समस्यामा परेका मन्त्रालयका उपसचिव डा अशोक सिंहले बताए।

धुलो दूधबाट दूध बनाउँदा स्वास्थ्यमा असर नपर्ने र धुलो दूध तथा गाईभैँसीको दूध छुट्याउन नसकिने पूर्वाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइराला बताउँछन्। अहिले सिरहा, सप्तरीलगायत पूर्वाञ्चलका जिल्लामा निजी डेरीले बिक्री गर्ने गरेको दूधको जाँच र अनुगमन शुरु गरिएको छ।

गुणस्तरहीन दूध उत्पादन गर्ने ६ वटा व्यावसायिक फर्ममाथि मुद्दा दायर गर्ने तयारी भइरहेको कोइरालाले बताए। प्रदेशका किसानले उत्पादन गरेको दैनिक रु एक करोड मूल्य बराबरको दूध बिक्री हुन नसकेको डा सिंहले बताए। किसानले उत्पादन गरेको दुई लाख ८५ हजार लिटरभन्दा बढी दूधले बजार पाउन सकेको छैन।

आर्थिक वर्ष २०७२/७३ मा भन्दा आव २०७३/७४ मा प्रदेशको दूध उत्पादन चार प्रतिशतले वृद्धि भएको उक्त मन्त्रालयको पशुपक्षी विकास महाशाखाले जनाएको छ। आव २०७३/७४ मा ५४ करोड ९७ हजार लिटर दूध उत्पादन भएको थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार