Monday, October 28, 2024

बैतडीका अस्पतालमा मौसमी बिरामीको चाप

बैतडी – वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् ।

दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताए । डा लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् ।

यस्तै, ज्वरो, रुघाखोकीका बिरामी पनि धेरैजसो यो समयमा अस्पतालमा उपचारका लागि पुग्ने गरेका डा लेखकले बताए। उनले भने “वर्षायाममा मौसम परिवर्तन भइरहने भएकाले अघिपछिको तुलनामा धेरै बिरामी हुने गरेका छन् ।”

खानपान, सरसफाइलगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डा लेखकको भनाइ छ । यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन् । गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव हुँदा र सरसफाइमा ध्यान नदिँदासमेत बिरामीको संख्या बढ्दै गएको बताइएको छ ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार