Tuesday, September 24, 2024

बागमती किनाराका सुकुम्बासी वस्तीमा विपद्को पिरलो

काठमाडौं– परमेश्वरीदेवी मुखियाको झुपडी थापाथलीस्थित बागमती नदीको किनारामै छ। त्रिपालले छाएको उनको झुपडीभित्र बर्खामा झरी परेको दिन ओभानो हुँदैन।

स–साना काठ जोडजाम पारेर झुुपडी बनाइएको छ। छाना पुरानो त्रिपालको छ। झुपडीले वर्षौदेखि नयाँ त्रिपाल नपाएको तस्वीरबाट स्पष्ट हुन्छ।

घामपानीसँगै हुरीबतासले थिचेको झुपडीमा पानी पर्दा झनै समस्या हुने गरेको उनले सुनाइन्। परमेश्वरी र उनका श्रीमान् दुवै दृष्टिविहीन हुन्।

‘राति पानी परेपछि सबै ठाउँमा चुहिन्छ। पानी चुहिएको ठाउँमा भाँडा थाप्नुपर्छ,’ सोमबार काठमाडौंमा पानी परिरहँदा सुकुम्बासी वस्ती पुगेको हाकाहाकी टीमसँग उनले भनिन्, ‘आइतबार रातभर पानी परेपछि सुत्न नै पाएन।’

सोमबार परेको पानीले बागमती नदीमा पानी बहाव बढेको थियो। सधैं दुर्गन्धित फोहोरको डंगुरले भरिएको बागमतीले सोमबार भने वरपरको सबै फोहोर बगाएर लग्दै थियो।

बर्खाभर थापाथलीस्थित सुकुम्बासी वस्तीका बासिन्दालाई बागमतीको दुर्गन्धले सताउने छैन। उनीहरूलाई  सलल बगेको बागमतीले दुर्गन्धबाट त केही महिनामुक्त गर्ला।तर, पानी पर्दा घरको चुल्होमा आगो नबल्दा भोकभोकै बस्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।

‘खानका लागि विकल्प केही छैन, मागेरै खानु पर्छ,’ परमेश्वरीले भनिन्, ‘पानी पर्दा माग्न जान सकिन्न। चुल्होमा पनि आगो बल्दैन ।  पेटमा अन्नको दाना जान्छ ।’ आकाशमा बादल मडारिदा उनको मनमा चिन्ताको बास बस्छ ।

‘भान्सामा पानी चुहिरहन्छ। खाना पकाउने दाउरा छैन,’ उनले भनिन् ‘पानी परेको दिन भोकै बस्नु पर्छ।’ उनीहरुको बिहानबेलुकीको छाक मागेर नै टर्छ।

‘पानी परेको दिन नुन र भात खान्छौं। अरु बेला बरु मागेर खान त पाउँछौं। पानी पर्दा त्यो पनि पाइदैन,’ उनले भनिन् ।
परमेश्वरीको जस्तै समस्या विष्णुकुमार कापैरको पनि छ। उनको झुपडीमा पनि पानी नचुहिने ठाउँ छैन। सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीमा पुग्दा कापैर छानोबाट चुहेको पानी थाप्दै थिए।

‘रातभरको पानीले सुत्न दिएन हजुर। छानोबाट पानी चुहिरहेको छ,’ उनले भने ‘किसानहरुलाई पानी नपरी हुँदैन। हामीजस्ता झुपडीमा बस्नेलाई पानी नपरे हुन्थ्योे जस्तो लाग्छ ।’

सोही वस्तीमा रहेकी विन्दुराना मगर भन्छिन्, ‘नदी नजिकै छ। बस्तीमा नदी पस्छ की भन्ने डर लाग्छ । त्यसमाथि पानी चुहेर सुत्नै पाइँदैन।’

तीन दिनदेखि देशभर परेको वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा बाढीपहिरो गएको गृहमन्त्रालयले जनाएको छ।
प्राकृतिक प्रकोपका कारण मुलुकमा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ। बाढीपहिरोले खाद्यन्न बालीमा नोक्सान पुग्नुका साथै वन्यजन्तुसमेत मर्ने गरेका छन्।

मौसम पूर्वानुमान महाशाखालले मंगलबार मध्य र पूर्वी भुभागमा भारी वर्षा हुने जनाएको छ। त्यस्तै जल तथा मौसम विज्ञान विभाग, बाढी शाखाले देशभरका प्रमुख नदीको बहाव बढ्ने जनाएको छ । बाढी पूर्वानुमान शाखाले कन्काई, कमला, बागमतीमा उल्लेखनीय बहाव बढ्ने पूर्वानुमान गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार