Tuesday, September 24, 2024

चीनलाई गैंडा हस्तान्तरण गर्न डेढ करोड खर्च

काठमाडौं– नेपाल सरकारले उपहारस्वरूप चीनलाई एकसिंगे गैंडा हस्तान्तरण गर्न डेढ करोड खर्च लाग्ने भएकाे छ। नेपालले भद्र र रूपसी गैंडालाई असार २८ गते र अर्काे जोडी गैंडा साउनमा हस्तान्तरणा गर्ने तयारी गरेकाे छ।

गैंडा उपहारस्वरुप भएपनि हस्तान्तरणका लागि ढेड करोड खर्च लाग्ने र सो रकम चीनले व्यहोर्ने समझदारी भएकाे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए। ‘त्यसका लागि चीनले पठाएको ५० प्रतिशत रकम राष्ट्रिय प्रकृति तथा संरक्षण कोषमार्फत् खर्च भइरहेको छ,’ सोमबार वन तथा वातावरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक खड्काले भने।

उनका अनुसार दुई जोडी गैंडालाई नियन्त्रणमा लिन मात्र तीन साता लागेको छ, जुन खर्च चीनले व्यहोरेको छ। यसैगरी, बुमा बनाउन, खाना खुवाउन, चार वटा क्रेट बनाउन, भेटनरी र उपचार गर्न लागेको खर्च त्यसमा जोडिएको छ। ती गैंडालाई अहिले चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा अर्थात् सानो खोरमा राखिएको छ।

चीनको पशु क्वारेन्टाइनबाट आएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए। चीनको टोलीको भ्रमण खर्च र अान्तरिक व्यवस्थापन खर्च पनि डेढ कराेडमा समावेश गरिएको छ। अहिले दुई जोडी गैंडाको रेखदेखका लागि दैनिक आठजना व्यति खटिएका छन्।

यसैगरी, पहिलो चरणमा पठाउने एक जोडी गैंडालाई असार २८ गते चितवनबाट ट्रकमा राखेर काठमाडौं ल्याइने छ, भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हस्तान्तरण गर्नेछन्।

वन तथा वातारण मन्त्रालयका सचिव डा. विश्वनाथ अाेलीले नेपालको कानूनमा रहेर व्यापारिक प्रयोजनमा प्रयोग नहुने गरी गैंडा प्रदान गर्न लागिएको बताए।

गत वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ। अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो। सरकारले २६ असार २०७३ मा चीनलार्इ दुर्इ जाेडी गैंडा उपहार दिने निर्णय गरेकाे थियाे। असार पहिलाे साता भएकाे प्रधानमन्त्री केपी शर्मा अाेलीकाे चीन भ्रमणकाे संयुक्त वक्तव्यमा पनि गैंडा उपहारलार्इ समावेश गरिएकाे थियाे।

ताजा समाचार

सम्बन्धित समाचार