Monday, October 28, 2024

डुबान समस्या समाधान गर्न सभासदको आग्रह

काठमाडौं – प्रतिनिधिसभामा सोमबार विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठाएका छन् ।

सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि आवेदन दिने समय तोकिएपनि रोपाइँलाई ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिए।

सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गरे ।

सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा यही असार १३÷१४ गतेदेखि योङ कम्युनिष्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदैआएको धम्कीप्रति सरकारको ध्यान ध्यानाकर्षण गराए।

सांसद भरतकुमार शाहले चिसो छिँडीमा अनशन बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले माइतीघर मण्डलाजस्ता स्थानमा धर्ना गर्न निषेध लगाइएकामा आपत्ति जनाए।

सांसद प्रकाश रसाइलीले बर्खामा पानीले सडक जलमग्न भएकोप्रति सदनको ध्यानाकर्षण गराए । रासस

ताजा समाचार

सम्बन्धित समाचार