Monday, October 28, 2024

पर्वतकै ठूलो खानेपानी योजनाको ४० प्रतिशत काम सम्पन्न

फलेवास – उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत वर्षदेखि शुरु भएको हो। आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालित उक्त आयोजनामार्फत कालीगण्डकी नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्यअनुरुप आयोजना शुरु गरिएको हो।

खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय पर्वतका इञ्जिनियर विधान अर्यालले विद्युत्को सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकी किनारबाट पानी तानेर बस्तीमाथि रहने ट्यांकीमा प्रशोधन गरी वितरण गरीने बताए। कालीगण्डकी नदीको दायाँ किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १५० मिटर माथि रहने ट्यांकीमा पुर्याइने पानी चार चरणमा प्रशोधन गरी वितरण गरिने भएको छ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करीब एक हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए।
प्रत्येक घरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना २०७६ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजना निर्माणका लागि रु १२ करोड ४३ लाख ७८ हजार ४८७ लागत अनुमान गरिएको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार