Tuesday, September 24, 2024

ललितपुरका अधिकांश खानेपानीमा कोलिफर्म

काठमाडौं –ललितपुर जिल्लाका महानगरपालिका र नगरपालिकामा वितरण हुँदै आएको करिब ७३ प्रतिशत पानीमा हानीकारक जीवाणु कोलिफर्म भेटिएकोे छ । आर्थिक वर्ष २०७४\७५ को करिब ११ महिनामा जिल्लाका गोदावरी नगरपालिका , महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न पानीका स्रोतमा कोलिफर्म भेटिएको हो । ललितपुरको बडिखेल , गोदावारी,चापागाँउ, लुभु, लामाटार, त्यागल , कृष्ण मन्दिर, भैंसेपाटी ,ठेचो लगायतका स्थानका विभिन्न धारा , ढुङ्गेधारा , इनार , बोरिङ , कुवा , पोखरी लगायतका स्रोतका पानीमा सबैभन्दा बढी कोलिफर्म पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको रिर्पोटले देखाएको छ ।
। पीउनका लागि वितरण हुँदै आएको अधिकांश पानीमा कोलिफर्म पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको हो । परिक्षण गरिएका खानेपानीमा ७२ दशमलब ४ प्रतिशत कोर्लिफर्म भेटिएको कार्यालयका ल्याब टेक्निसिया शंकर पौडेलले जानकारी दिए । उनका अनुसार जिल्ला खानेपानी डिभिजन कार्यालयको सहकार्यमा यो आर्थिक वर्षमा ८४ वटा नमुना संकलन गरिएको छ । नमुना संकलन सहित परिक्षण गरिएकोमा ६० स्थानका पानीका मुहान र धाराको पानीमा कोर्लिफर्म भेटिएको उनले जानकारी दिए । गएको आर्थिक वर्षको सुरुदेखि गत जेठसम्म यो अध्ययन गरिएको उनले बताए । बर्खा यामको तुलनामा सुख्खा याममा कोलिफमको मात्र धेरै कम देखीएको जनस्वास्थ्यले अध्ययन गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा २२ नमुना संकलन गरेकोमा १६ वटामा र दोस्रो चौमासिमकमा १७ वटा नमुनामा ५ वटामा भेटिएको छ । तेस्रो चौमासिकमा ४५ नमुनामा १९ वटामा कोलिफर्म भेटिएको छ । जस अनुसार दोस्रो चौमासिक सुख्खा यामको सिजन हो । वर्खा याममा पानीका मुहान तथा स्रोतमा विभिन्न स्थानबाट दिशा मिसीएको पानी जाने र त्यही कोर्लिफर्म भेटिने गरेको जिल्लाका जनस्वास्थ्य उपप्रशासक डा खगेश्वर गेलालले जानकारी दिए । पिउने लगायत घरायसी प्रयोजनमा प्रयोग गरिने धाराहरुको पानीमा ब्याक्टेरिया, अमोनिया, इकोली, कुल कोलिफर्म, आइरन, मेगानिज रासायनिक र सुक्ष्म जिवाणु देखिएको ल्याब टेक्निसियन पौडेलले जानकारी दिए । “प्राकृतिक स्रोतबाट आउने पानीमा कीटाणुहरू देखिनु स्वाभाविक हो, तर पानीमा देखिएको कीटाणुलाई नष्ट गरी शुद्धीकरण गरेर प्रयोग गरेर पीउनु नै पानीजन्य रोगहरुबाट बच्ने उत्तम उपाय हो ,” पौडेलले थपे , “थौरै भए पनि कोलिफर्म मिसिएको पानी लामो समयसम्म पिउँदा मृगौला फेल, लिभर फेल र पिसाबको इन्फेक्सन हुन्छ । पानी पिउँदा उमालेर , क्लोरिन हालेर या फिल्टर गरेर पिउनुपर्छ,” डा. गेलालले प्रदूषित कोलिफर्म मिसिएको पानीको प्रयोग गर्दा पानीजन्य रोगहरु झाडापखाला, टाईफाईड आउँ, हैजा, निमोनिया, जन्डिस, आँखा पाक्ने कान चिलाउने, पाक्ने र छालाको समस्या देखा पर्ने बताए ।
नास्टको एक रिपोर्ट अनुसार नेपालमा प्रयोग हुने ९९ प्रतिशत पानी प्रदूषित छ । ललितपुरको बडिखेल , गोदावारी,चापागाँउ, लुभु, लामाटार, त्यागल , कृष्ण मन्दिर, ठेचो लगायतका स्थानका विभिन्न स्रोतका पानीमा सबैभन्दा बढी कोलिफर्म पाइएको जनस्वास्थ्यको रिर्पोटले देखाएको छ । केही सचेतनाका कारण पछिल्ला आथिृक वर्षको तुलनामा पानीको प्रदुषण दर घटेको विज्ञहरु बताउँछन् । ३ वर्षको ट्रेन हेर्दा पानीको प्रदुषण ६५ देखि ७० प्रतिशत पानी त संक्रमित नै छ , पौडेलले भने , जिल्ला सरसफाई तथा खानेपानी डिभिजन कार्यालयसँग प्रभावित क्षेत्रमा जाने गरेका छौँ । जिल्ला जनस्वास्थ्य कार्यालय र खानेपानी डिभिजन ललितपुरले आर्थिक वर्ष २०७२÷२०७३ मा १८० वटा पानीको नमुना संकलन गर्दा ८६ प्रतिशत पानमा कोलिफर्म पाइएको थियो । यसैगरी आर्थिक वर्ष २०७३÷२०७४ मा ५३ नमुना संकलन गर्दा ५८ प्रतिशत पिउने पानीमा कोलिफर्म पाइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार