Wednesday, April 23, 2025

विश्वका कूल हिउँ चितुवामध्ये १० प्रतिशत नेपालमा

१० वैशाख, काठमाडौं ।

विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँ चितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का अनुसार नेपालमा हिउँ चितुवाको संख्या ३ सय ९७ भएको पाइएको छ ।

विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँ चितुवा भेटिएका अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसिएन)को भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५ सय वर्गकिमि क्षेत्रफलमा यसको बासस्थान छ ।

अमेरिकाको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा ३ हजार २० देखि ५ हजार ३ सय ९० को संख्यामा हिउँ चितुवा रहेको अनुमान छ । यो जन्तु बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मंगोलिया, रूस, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् ।

पछिल्लो समयमा नेपालसँगै भारत, मंगोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्यांक विश्लेषण गरी हिउँ चितुवाको नयाँ र आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएका छन् । तथ्यांकअनुसार चीनमा कम्तीमा २ हजारदेखि २ हजार ५ सय, मंगोलियामा ९ सय ५३, भारतमा ७ सय १८ वटा हिउँ चितुवा छन् ।

त्यसैगरी, नेपालमा यसको संख्या ३ सय ९७ र भुटानमा १ सय ३४ रहेका डब्लुडब्लुएफ नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा संरक्षण साझेदार संघसंस्थाको सहयोगमा विभिन्न तथ्यांक र अनुसन्धानको विश्लेषण र मूल्यांकन गरी सो तथ्यांक निकालिएको उनले बताए ।

यस मूल्यांकनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्यांक निकालिएको हिउँ चितुवा विज्ञ शशांक पौडेलले जानकारी दिए । यो तथ्यांक क्यामेरा ट्रयाप र दिसाको नमूनाको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँ चितुवाको वितरण र जनसंख्या घनत्वको तथ्यांक प्रयोग गरिएको उनले बताए ।

यस मूल्यांकन उपलब्धिले हिउँ चितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिवद्धतालाई जोड दिन्छ । यो मूल्यांकन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीयविद्को नेतृत्वको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वल्र्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो ।जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ता र संरक्षण संस्थाहरू सहभागी थिए ।

बासस्थान अतिक्रमणको चुनौती

विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यसको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ ।

साथै द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट ५ सय ४० देखि ५ हजार मिटर उचाइमा पाइन्छन् । यो जन्तुलाई आइयुसिएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीकृत गरेको छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।तथ्यांकअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी संख्यामा हिउँ चितुवा छन् । त्यसमध्ये डोल्पा क्षेत्रमा मात्रै यसको संख्या ९० पुगेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरूङले हिउँ चितुवाको पछिल्लो तथ्यांक नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यस तथ्यांकले यसको संख्याको स्पष्ट चित्र मात्र नभई भविष्यका संरक्षण रणनीतिलाई सूचित गर्ने बताए । साथै उनले यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्ने बताउँदै मूल्यांकनका निष्कर्षहरूले हिउँचितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेको अवगत गराए ।

संरक्षणका लागि ६ वर्षे कार्ययोजना

वन मन्त्रालयले हिउँ चितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ ।

कार्ययोजनामा हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँचितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

६ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न एक अर्ब ७७ करोड ९७ लाख रूपैयाँ खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँचितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि, सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ । 

हिउँ चितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । डब्लुडब्लुएफको सन् २०२१ प्रकाशनअनुसार उक्त समयसम्म हिउँ चितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । ३ प्रतिशतभन्दा कममा मात्र संख्यासम्बन्धी अनुभवजन्य तथ्यांक उपलब्ध छन् ।


भीष्मराज ओझा/रासस

ताजा समाचार

सम्बन्धित समाचार