Saturday, December 13, 2025

हिन्दूकुश क्षेत्रमा हिउँ पग्लिने अवस्था भयावह

११ वैशाख, काठमाडौं ।
हिन्दूकुश–हिमालय पर्वत श्रृंखलामा हिउँको मात्रा २ दशकयताकै सबैभन्दा कम भएको छ ।

मौसम परिवर्तनका घटनामा उतार चढाव हुँदा २३ वर्षयताकै कम हिउँ यो क्षेत्रमा पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार विगत २३ वर्षको अवधिमा हिउँको मात्रा न्यून विन्दुमा पुगेको छ ।

हिन्दूकुश क्षेत्रमा यस्तो परिवर्तन हुँदा करिब २ अर्ब मानिसहरूका लागि स्वच्छ पानीको महत्वपूर्ण स्रोतको सुरक्षामा असर पुग्ने इसिमोडको प्रक्षेपण छ । अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको हिन्दूकुश–हिमालय शृंखलामा आर्कटिक र अन्टार्कटिका बाहिर सबैभन्दा ठूलो बरफ र हिउँको भण्डार छ ।

यो भण्डारमा असर पुगिरहेको बताउँदै इसिमोडले भनेको छ, ‘हिउँको निरन्तरता (जमिनमा हिउँ रहने समय) सामान्य भन्दा २३.६ प्रतिशत कम पाइएको छ ।’ यस्तो प्रवृत्ति लगातार तेस्रो वर्ष दोहोरिँदा करिब २ अर्ब मानिसहरूको पानी सुरक्षालाई खतरामा पार्ने सो संस्थाको हिउँबारेको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

इसिमोडमा अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान सदस्य छन् ।

नदीको बहाव कम हुने, जमिनमुनीको पानीको निर्भरता बढ्ने र खडेरीको जोखिम बढ्ने अध्ययन टोलीका विज्ञहरूको चेतावनी छ । हिन्दूकुश क्षेत्रका प्रायः सबै देशहरूले आफ्ना क्षेत्रमा गर्मी हुने दिन बढ्दा खडेरीको समस्या बढ्ने पूर्व सूचना जारी गर्दै आएका छन् ।

आगामी दिनमा मौसमजन्य घटनाको उतारचढाव दोहोरिने भएकाले पानीका स्रोतको व्यवस्थापन, खडेरी सामना गर्ने पूर्व तयारी, मौसमसँग जोडिएका प्रारम्भिक चेतावनी प्रणाली र क्षेत्रीय सहयोगको खाँचो विज्ञहरूले औल्याएका छन् ।

चीन र म्यानमारलाई पानी आपूर्ति गर्ने दक्षिणपूर्वी एसियाका २ वटा सबैभन्दा लामा नदीहरू मेकोङ र साल्विन बेसिनले आफ्नो हिउँ आवरणको लगभग आधा हिस्सा गुमाएको प्रतिवेदनमा उल्लेख छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सो दीर्घकालीन रूपमा कम हिउँको स्तरलाई सम्बोधन गर्न नीतिमा परिवर्तन गर्नुपर्ने खाँचो औल्याउँछन् । उनी भन्छन्, ‘हिउँ संकट र यसले दीर्घकालीन रूपमा खाद्य, पानी र ऊर्जा लागि सिर्जना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्न, हामीले तुरून्तै विज्ञानमा आधारित अग्रगामी नीतिहरू अंगाल्दै यस्तो समस्या न्यूनीकरणका लागि क्षेत्रीय सहयोग बढाउनुपर्छ ।’

संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार एसिया जलवायु सम्बन्धि प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यो निकायले गत महिना सार्वजनिक गरेको प्रतिवेदन अनुसार विगत ६ वर्षमध्ये ५ वर्षको अवधिमा यो क्षेत्रमा सबैभन्दा छिटो हिमनदी पग्लिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार