Tuesday, September 24, 2024

धान दिवसमा दही, चिउरा

काठमाडौं– असार १५ गते धान दिवसका दिन दही, चिउरा खाएर रमाइलो गरिँदैछ।  कृषि प्रधान देश नेपालमा हरेक वर्षको असार १५ गते धान दिवसकाे अवसरमा दही, चिउरा खाने चलन छ। किसानहरु दिनभर हिलोमा रोपाइँ गरी आफ्ना दु:ख, पीडा भुलेर रमाइलो गर्दै दही चिउरा खाने गर्छन्।

वर्षका विभिन्न महिनामा एक विशेष परिकार खाने चलन रहँदै आएको छ। साउन १५ मा खीर खाने, मंसिर १५ मा न्वागी खाने तथा पुस १५ मा घ्यूखट्टे खाने चलन छ।  रोपाइँ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने भएकाले यसको बेग्लै महत्व रहेको बताइन्छ।

‘वर्षायाम भएकाले पानीमा काम गर्दा शरीर भिजेर ढाडिन्छ, जसले गर्दा पखाला समेत लाग्न सक्छ,’ स्वास्थ्य क्षेत्रमा समेत काम गरिसकेका कृषक नमराज उपाध्यायले भने, ‘जसका लागि दही फाइदाजनक हुन्छ ।’ ‘आलुको अचार च्वास्स लगाउदै घर परिवारका सदस्य भेला भएर दही चिउरा खाँदाको मजा बेग्लै छ,’ भक्तपुरका रमेश हाडा बाल्यकाल सम्झदै  भन्छन्,’हामी स्कुल जानै छाडेर दहीचिउरा खान घर बस्ने गर्थ्याैं, साथीभाइबीच पनि यो विषयमा छलफल हुन्थ्यो।’

असारलार्इ मानो रोपेर मुरी फलाउने  महिनाका रूपमा  लिने गरिन्छ। असार १५ विशेषगरी कृषिसँग जोडिएपनि अहिले शहरी परिवेशमा पनि असार १५ मा दही, चिउरा खाने प्रचलन बढ्दै गएकाे छ।
केही वर्षयता धान दिवसमा रुपमा मनाउँदै आएको असार १५ को संस्कृति नेपालीहरूको मौलिक दिवसमा रुपमा विकसित हुँदै गएकाे संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । ‘१५ असारको संस्कृति नेपालमा प्राचीन समयदेखि मनाउँदै आएको हो,’ उनले भने, ‘धान रोपाइँकाे बेला असारे गीत गाएर मनोरञ्जनका साथ रोपाइँ जात्रा गर्ने, दही,चिउरा खाने यहाँको छुट्टै विशिष्टता हो। ’

ताजा समाचार

सम्बन्धित समाचार